बलात्कारपछि हत्यामा संलग्नलाई जन्मकैद

विराटनगर – विराटनगरमा एकवर्ष अघि भएको एक बालिकाको बलात्कारपछि हत्यामा संलग्न दुईजनालाई जिल्ला अदालत मोरंगले जन्मकैदको सजाय सुनाएको छ ।

विराटनगर महानगर ८ की एघार वर्षीया रुपमति दास गुडियालाई २०७५ साल माघ १२ गते २५ वर्षीय अब्बास अन्सारी र १९ वर्षीय चन्दु महतोले नशालु पदार्थ मिलाएको खानेकुरा आलुचप दिएर बलात्कार गरेका थिए। सोही मद्दामा बिहीबार अदालतमा न्यायाधीश तेजबहादुर खड्काको इजलासले घटनामा संलग्न दुवैजनालाई जन्मकैदको फैसला गरेको हो।

त्यसैगरि अदालतले मृतक बालिकाको परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश समेत दिएको छ। घटनामा संलग्न दुवै युवक मृतक दासको घरछिमेकी हुन्। माघ १२ गते साँझ घरनजिकै छिमेकीकोमा टेलिभिजन हेर्न जादैं गरेको अवस्थामा दुवैले बालिकालाई अपहरणशैलीमा नजिकैको सिंघिया खोला नजिक पुराएर बलात्कार गरेका थिए।

प्रहरी अनुसन्धानका अनुसार बलात्कारपछि बेहोस भएकी बालिकाको दुवैले हत्या गरेपछि विराटनगर महानगरपालिका र कटहरी गाँउपालिकाको सीमा सिंघिया खोलामा शव फालेका थिए। प्रहरीले घटना भोलिपल्ट नांगो अवस्थामा बालिकाको शव फेला पारेका थिए। त्यसैगरि, घटनामा संलग्न दुवैलाई प्रहरीले अनुसन्धानका क्रममा १७ दिनपछि पक्राउ गरेको थियो।

माघ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्