पुरुष केन्द्रीय सदस्यहरुसँग सवालजवाफ

नेकपामा महिला सहभागितालाई लिएर शिवमायाको दबाब

फाइल तस्बिर

काठमाडौँ – योग्य, अनुभवी र क्षमतावान भए पनि महिला भएकै कारण आफूलाई सभामुखमबाट बञ्चित गराइएको भन्दै आएकी निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेले जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा पार्टीभित्र महिलाको सहभागितालाई लिएर दबाब दिन थालेकी छन्।

त्यसका क्रममा उनको परुष सदस्यहरुसँग सवालजवाफ समेत हुन पुगेको छ। नेकपाको केन्द्रीय कमिटी बैठकको दोस्रो दिने बिहीबार धुमबाराहीस्थित पार्टी मुख्यालयमा समूह नम्बर १४ को गरमागरम भइरहेको थियो।

त्यसक्रममा केही सदस्यले आफ्नो धारणा राखिसकेपछि तुम्बाहाङफेले सुरुमै संविधानअनुसार पार्टीमा महिला सहभागिता लागू गर्नुपर्छ भन्ने धारणा राखेकी थिइन्।

उनले संविधानअनुसार संसदमा मात्रै ३३ महिलाको सहभागिता भएको तर देशकै ठूलो पार्टी नेकपामा त्यसलाई लागू गर्न नेतृत्व गम्भीर नभएको भन्दै त्यसमा सामूहिक दबाब दिनु पर्ने माग गरेकी थिइन्।

तर समूहका अर्का पुरुष सदस्य सारदा सुवेदीले ठूल्ठूला विषयहरुलाई छोडेर पार्टीमा महिला पुरुषका कुरा नगरौँ भन्ने जवाफ दिएपछि सुवेदीलाई तुम्बाहाङफेले जंगिदै महिला र पुरुषको कुरा नगर्ने भए संविधान, ऐन र पार्टी विधान खारेज गरिदिए भयो नी त भन्ने जवाफ फर्काएकी थिइन्।

यस्तै उनले कम्युनिष्ट पार्टीको सदस्य भएर यस्तो जवाफ दिनु उचित नभएको बताएकी थिइन्।
स्रोतका अनुसार तुम्बाहाङफे त्यतिमा सीमित भइनन् । संविधानले महिलालाई कुनै पनि संस्था वा निकायको प्रमुखको जिम्मेवारी लिन बाटो नछेकेको भएपनि पुरुषहरुले महिलालाई उपमा मात्रै सीमित राखेको र यस्तो प्रवृतिको अन्त्य कम्युनिष्ट पार्टीबाट हुनुपर्ने बताएकी थिइन्।

तर समूहका नेता राम कार्कीले पनि सदस्य सुवेदीको घुमाउरो समर्थन गर्दै तुम्बहाङफेलाई उपसभामुख हुँदा महिलाका सवालमा किन चुप लागेको भन्दै प्रश्न गरेका थिए।

कार्कीलाई पनि तुम्बाहाङफेले जवाफ फर्काउँदै भनेकी थिइन,‘ उपसभामुख पदका केही सीमा थिए । तर पनि मैले महिला नेतृहरुको विकासका लागि थर्पुै काम गर्न भ्याएको छु । फेहरिस्त चाहिएको खण्डमा दिउँला ।’

पितृसत्ता सोच राजतन्त्रभन्दा बलियो भएका कारण पार्टी नेतृत्वले आफूलाई सभामुख हुनबाट बञ्चित गराएकाले पितृसत्ता सोच भत्काउन पनि पार्टीमा सक्रिय हुने र कुनै न कुनै नेतृत्वको जिम्मेवारी लिने तुम्बाहाङफेले बताएकी थिइन्।

नेकपाका दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक प्रावधानका कारण तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएकी थिइन्।

तुम्बाहाङफेले आफू सभामुखका लागि समेत योग्य भएको तर उपसभामुखबाट समेत आफूलाई हटाउनु पर्ने कारण माग गर्दा अध्यक्ष ओली र दाहालले जवाफ दिन सकेका थिएनन्।

४० वर्षदेखि राजनीतिमा सक्रिय, महिला आन्दोलनकी अगुवा, कानुनकी विद्यार्थी र विधावारिधि गरेकी तुम्बाहाङफेलाई सुरुमा पनि पार्टीले जवर्जस्त उपसभामुख बनाएको थियो।

उनले भनेकी थिइन, ‘महिलालाई उपसभामुख, उपाध्यक्षमात्रै बनाउने भनेर संविधानले भनेको छैन । म उपसभामुख हुन्न ।’

तर उपसभामुखका लागि अरु योग्य पात्र नभेटेपछि पूर्व एमालेले तुम्बाहाङफेलाई उपसभामुख बनाइछोडेको थियो र उनले पनि पार्टीको निर्देशन मान्न तयार भएकी थिइन्।

संविधानले हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने व्यवस्था गरेपनि ४४३ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमा करिव १६ प्रतिशत मात्रै महिला छन्। ४५ सदस्यीय स्थायी कमिटीमा जम्मा २ जनामात्रै महिला छन्। केन्द्रीय सचिवालय त महिलाबिहिन छ।
केन्द्रीय सचिवालयमा महिलाको सहभागिता भएको भए आफू सभामुखबाट बञ्चित हुनु नपर्ने तुम्बाहाङफेको तर्क छ।

महिला सहभागितालाई केन्द्रीय कमिटी बैठकमा तुम्बाहाङफे जस्तै अष्टलक्ष्मी शाक्य, जयन्ती राई, ओनसरी घर्ति, शशिश्रेष्ठ, रामकुमारी झाँक्री, रचना खड्का लगायतले दबाब दिइरहेका छन्।

नेतृ शाक्य, राई र श्रेष्ठले त बैठकको सुरुकै दिन बुधबार महिला सहभागिताको विषयमा छुट्टै छलफल गर्न आवश्यक भएको भन्दै त्यसलाई छुटट्ै कार्यसूचीको रुप दिनु पर्ने माग अध्यक्ष दाहाल समक्ष राखेका थिए।

आन्दोलन र विभिन्न संघर्षहरुमा महिलालाई सँगैसँगै हिँडाएका नेकपाका पुरुष नेताहरुले प्रजातन्त्रको पुर्नस्थापना र खुल्ला व्यवस्थासँगै पार्टी र नेतृत्व तहमा उनीहरुलाई पुग्नबाट बञ्चित गर्दै आएका छन्।

महिला सहभागिताका मामिलामा झकझकाउन खोज्दा अध्यक्ष ओली र दाहालले त महिलालाई धेरै ट्याउट्याउ नगर्न र बाहिर गएर नबोल्न निर्देशन समेत दिएका छन्।

माघ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्