चरीकोट कारागारका कैदीलाई सारियो पक्की भवनमा

दोलखा-भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याइ कष्टकर दैनिकी बिताइरहेका दोलखा, चरीकोटमा रहेको कारागारका कैदीबन्दीलाई पुनःनिर्माणपश्चात् पक्की भवनमा सारिएको छ।

सदरमुकाम चरीकोटमा रहेको देशकै चौथो कारागार भूकम्पका कारण क्षति पुगेको र कारागारको पुनःनिर्माण गरी कैदीबन्दीलाई नयाँ पक्की भवनमा सारिएको हो।

दोलखाको पुरानो कारागारमा १७ जना कैदीबन्दी राख्नसक्ने क्षमता भएको कारागारमा हाल १०९ जना बस्न बाध्य भएका थिए। नयाँ बनेको भवनमा पनि ३४ जनाको क्षमता रहेको र सवै कैदी नअटाउने भएका कारण सबैलाई व्यवस्थापन गरी नयाँ भवनमा कैदी स्थानान्तरण गरिएको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले कैदीबन्दी स्थान्तरण कार्यक्रमालाई सम्बोधन गर्नुहुँदै मासिक रु दुई हजारका दरले कैदी थपिने गरेको तर राख्ने ठाउँ नभएको गुनासो गरे।

कार्यक्रममा महानिर्देशक श्रेष्ठले बन्दीलाई कारगारमा राख्ने मात्र नभई श्रम गर्न लगाउने कानून ल्याउन आवश्यक रहेको र बन्दीलाई उद्यमशीलतातर्फ उन्मुख गराई सुधारगृहका रुपमा स्थापित गराउनुपर्ने बताए।

कारागारमा रहेका बन्दीले नाइके र सहनाइकेबाट आफूहरु ठगिएको तथा नयाँ भवन बनेर पनि स्थान्तरण नगरेको भन्दै केही महिनाअघि आन्दोलन गरेका थिए।

माघ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्