‘मलाई दर्शकले अझै भुलेका रहेनछन्’

बिराज भट्टलाई १० प्रश्न

बिराज भट्टलाई १० प्रश्न

तस्बिरहरुः बर्षा शाह/देशसञ्चार

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम हो, बिराज भट्ट। नायकको रुपमा होस् अथवा खलनायकको रुपमा, बिराजको उपस्थितिले चलचित्र हेर्नको लागि हलसम्म दर्शक तान्ने गरेको छ। ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भइसकेपछि युट्युबमा बिराजको कम व्याकलाई लिएर दर्शक उत्साहित भएको देखाएको छ।

नेपाली चलचित्र क्षेत्रमा राज गरिरहेका बिराज एकाएक भोजपुरी चलचित्रमा व्यस्त भए। यति व्यस्त भए कि नेपाली चलचित्र क्षेत्रबाट ‘गायब’ नै भए। जुन क्षेत्रले उनलाई चिनायो त्यो क्षेत्रलाई चटक्क छोडेर पलायन भएका बिराज माघ २४ मा फेरि नेपाली दर्शकमाँझ ‘चलचित्र’ साङ्लो लिएर आउँदैछन्। एक्सन ड्रामा चलचित्र ‘साङ्लो’ मा उनीसँग मिस नेपाल २०१७ निकिता चण्डक देखिँदैछिन्।

चलचित्रको दुईओटा गीत र ट्रेलर सार्वजनिक भइसकेको छ। यो चलचित्रमा उनी नायक मात्र छैनन्, आफैले निर्माण र निर्देशन पनि गरेका छन्। बिचबिचमा एक दुई चलचित्र बाहेक विराजले नेपाली चलचित्रमा काम नै गरेका थिएनन्। उनले अहिलेसम्म ७० ओटा नेपाली चलचित्र र लगभग ५० ओटा भोजपुरी चलचित्रमा काम गरिसकेका छन्। धेरै वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमव्याक गरेका बिराजले देश सञ्चारसँग कुराकानी गरेका छन्।

१) साङ्लो निर्माणको वातावरण कसरी मिल्यो ?

नेपाली सिनेमा क्षेत्रमा निरन्तरता दिन खोजिरहेको थिए मैले। भोजपुरी क्षेत्रमा व्यस्त भएपछि मेरा नेपाली चलचित्रहरु बनेका थिएनन्। साइन हुन्थे तर छायांकन हुन्थेन। त्यसले लामो ग्याप गरायो।

पर्शुराम भन्ने चलचित्रमा काम गरेपछि अरु दुई तीनओटा चलचित्र साइन गरे । संगीतको काम भयो तर अगाडि काम भएनन्। मैले आफैले महसुस गरे, आफै बनाउँ। आफैले बनाउँदा भनेको जस्तो चलचित्र दिन सकिन्छ भन्ने लाग्यो र बनाए।

२) भोजपुरी सिनेमामा व्यस्त भएको मान्छे नेपाली सिनेमा क्षेत्रमा आउँनु भएको छ। भोजपुरी चलचित्र क्षेत्रमा कामको कमि भएको हो?

हैन, मैले भोजपुरी चलचित्रमा पनि निरन्तर काम गरिरहेको छु। सुनेर र गर्ने फरक हुन्छन्। ‘साङ्लो’ बनाउने भएपछि भोजपुरी सिनेमाको काम नै रोके मैले। यही चलचित्रको लागि मैले डेढ वर्ष अन्त केही गरिनँ।

भोजपुरी चलचित्रमा काम गर्न खोजिएको हो, धेरैले मलाई अहिले भोजपुरी चलचित्रमा हुनुहुन्न हो ? भनेर सोधेका पनि छन्। तर मैले समय दिन सकिनँ। साङ्लोको पोस्ट प्रोडक्सनको काम सकिएपछि बिचमा मंसीर २०, २५ दिनमा दुईओटा चलचित्रको छायांकन भ्याएर आइसके।

अब मान्छेले के भन्छ भनेर सरोकार राखेर भएन, सबैलाई म काम गर्न जान्छु भनेर हिँड्ने कुरा भएन। केहीलाई थाहा थियो।
नेपाली सिनेमा मैले आफैले निर्माण गर्ने भएपछि कथामा बस्नुपर्‍यो, संगीतमा बस्नुपर्‍यो। अहिले सार्वजनिक भएको गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेका छन्।

३) नेपाली चलचित्र क्षेत्रबाट भोजपुरीमा जानुभयो, दुईओटा क्षेत्रमा केही भिन्नता पाउनुभयो ?

काम त जुन क्षेत्रमा गएर गरेको भएपनि उस्तै नै हो, तौर तरिका, शैलीहरु टेक्लिकल क्षेत्र जहाँ पनि उस्तै हो। खाली भाषामात्र त फरक हो। कथावस्तु र त्यसलाई प्रस्तुत गर्ने तरिकामा भिन्नता हुन्छ ।

भोजपुरी सिनेमा र नेपाली सिनेमालाई ठ्याक्कै छुट्याउने कुरा भएको गीतको कुरा हो। भोजपुरीमा बढि हुन्छन्, ७, ८,९ ओटा हुन्छन्। नेपालीमा कम हुन्छन्।

४) नेपाली चलचित्र क्षेत्रमा चाँही के फरक पाउनुभयो ?

कुनै क्षेत्रमा लामो समय नहुँदा फरकता आइसकेको हुन्छ। हामीसँगै काम गरेका साथीभाइहरु को कहाँ हुन्छ, कसरी काम सुरु गर्ने त्यो सबै फरक भइसकेको छ। मैले प्रोडक्सन गर्ने बेलामा मलाई एउटा टीम चाहिएको थियो।

त्यो सजिलै भेटिनँ, त्यो बेलामा मसँग सिनमा काम गर्ने एक्सन मास्टर भइसकेका रहेछन्। असिस्टेन्ट क्यामराम्यान अहिले क्यामराम्यान भइसक्नुभएको रहेछ। सँगै यो क्षेत्रमा नयाँ अनुहार आएछन्। चलचित्रको जनरामा कमेडीले धेरै स्थान पाउन थालेको छ। लभ स्टोरी पनि राम्रो बन्न थालेका छन्। इन्डस्ट्री त उस्तै हो।

व्यवसायिकता भने यहाँ संघ संस्थाहरु छन्। नीति नियम बनेका छन्, कार्यन्वयन छैन। कति बन्न बाँकी छन्। यसले निर्माता अनि कलाकारलाई मार पर्दैन। अझै केही बाँकी छन्। मैले मुम्बईमा काम गर्छु, त्यो त्यहाँको नियममा चल्छ, मैले तुलना गर्दा व्यवसायिक अभ्यासको अझै खाँचो छ।

५) निर्देशन गर्दै हुनुहुन्छ, सिकाउनलाई कस्तो हुँदो रहेछ ?

मैले पहिलोपल्ट सिकाएको हैन, पहिला पहिला चलचित्रमा काम गर्दा पनि मैले मेरो को एक्टरलाई सिकाउने गर्थे। आफूले जानेको कुरा सिकाउने गरेको थिएँ। सिकाउनु नौलो हैन तर निर्देशक भइसकेपछि सम्पूर्ण जिम्मा म माथि आयो।

पहिला नसिकाए फरक पर्थेन तर अहिले गर्नै पर्छ। नयाँ कलाकारलाई त मैले आफै अभिनय गरेर सिकाए । सबै प्रकारको पात्रलाई सम्झाउँदा र उनीहरुले राम्रो काम गरिदिँदा धेरै रमाइलो लाग्छ। जसरी मैले सिकाउने योजना बनाए र काम गरे, राम्रै गरे जस्तो लाग्छ।

६) दर्शकले सम्झिरहेका होलान् त ?

दर्शकले बिराज भट्टलाई बिर्सेका रहेनछन्। त्यो समयमा मैले गरेको अभिनयको प्रभाव यति पर्‍यो की दर्शकहरुले अहिलेसम्म चाहिरहेका छन्। मलाई आफू भाग्यमानी भएको अनुभूति भयो। साथै मैले नेपाली चलचित्र क्षेत्रलाई केही राम्रो चलचित्र अझै दिनुपर्छ भन्ने महसुस भएको छ र म आशावादी छु। मलाई ग्यापमा बिर्सेको रहेनछन् ।

म भोजपुरी चलचित्रमा काम गर्दा लगभग ३५ ओटा चलचित्र नेपालीमा डबिङ्ग गरेर चलाइयो। मलाई नेपाली माटोले, यहाँको इन्डस्ट्रिले जन्माएको हो। यसमा नेपाली दाजुभाई दिदीबहिनीको माया छ। म यसको सम्मान गर्छु। त्यसैले साङ्लो ल्याएको छु।

७) साङ्लोमय वातावरण छ त ?

अहिले त जहाँ जता पनि साङ्लो छ। मोबाइलको स्क्रिनमा साङ्लो छ। प्रदर्शनको दोसाधमा हामीले अझै यसलाई फैलाउन पर्ने हुन्छ। माघ २४ आइहाल्न लाग्यो। म सक्ने ठाउँमा आफै पुगेको छु, महोत्सवमा गएर दर्शकलाई सम्बोधन गरेको छु । मिडियाहरुमा सकेसम्म समय दिइरहेको छु।

८) तपाईँलाई चलचित्रमा एकदमै शक्तिशाली, कहिँकहिँ मान्छे तर्साउने खालको पात्रको रुपमा देखिन्छ वास्तविक जीवनमा तपाईँ कस्तो स्वाभावको मान्छे हो ?

हाहा‍.. म चलचित्रमा मात्र त्यस्तो हुँ। वास्तवमा म मनबाट एकदमै सफा मान्छे हुँ। सिनेमा लाइन भन्दा पहिलाको कुरा गर्दा म बलियो मान्छे चाहीँ हो, मनबाट तर म अरुलाई तर्साउने, डराउने खालको मान्छे हैन।

कसैले कसैलाई तर्साएको छ भने त्यसलाई नतर्स भनेर सहयोग गर्न जाने मान्छे हो। सामाजिक मान्छे हो म। किनभने मलाई पनि डर लाग्छ। अहिले म दर्शकले मलाई दिनुभएको सम्मानलाई यथावत कसरी राख्ने भन्ने डर छ।

९) साङ्लोको अवधारणा कसरी बन्यो ?

मलाई कस्तो काम, कस्तो कथा ल्याउने भनेर सोचियो, नेपालको परिस्थिति हेर्दा पहाडी भेगभित्रको समस्याहरु कस्ता छन् भनेर देखाउन मन लाग्यो। मैले पहाड प्राकृतिक रुपमा सुन्दर देखिने भूभागमा स्वास्थ्य, शिक्षा लगायत आधारभूत समस्यासँग मानिस कसरी जुधिरहेका छन्।

गाउँ शहरको कुरालाई हँस्याइलो पाराले अनि संवेदनशील भएर पनि देखाउन सक्छु जस्तो लाग्यो। सबैलाई मिल्ने चलचित्र बनाउँन मन थियो त्यसैले यो सबै समेटेको हु। राम्रो स्क्रिप्ट पाए र आफूलाई राम्ररी प्रस्तुत गर्न सकिन्छ जस्तो लागेर यो कथा बनाए।

१०) साङ्लो के हो त ?

साङ्लो जसरी कडीहरु जोडिएर बनेको हुन्छ नि चलचित्रमा त्यसको स्वरुप देख्न सकिन्छ, मायाको, अपराधको हो कि, राजनीतिक अथवा सामाजिक हो कि चलचित्र हेरेपछि मात्र थाहा हुन्छ। माघ २४ गते साङ्लो फुक्छ।

तस्बिरहरु : बर्षा शाह

माघ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू