धनबहादुर तामाङ 'ड्यानी'को अविश्रान्त यात्रा

जो हात्तीलाई तालिम दिन्छ, बाघसँग आँखा जुधाउँछ

धनबहादुर तामाङ 'ड्यानी'।

राजनीतिमा बाहेक सामान्य जीवनमा मानिसले एउटै ठाउँमा कति बर्ष जागिरे जीवन बिताउला? सरकारी सेवामा निवृत्तिभरण आउने अवधिभर, निजी व्यवसायिक फर्ममा उपदान आउने बेलासम्म। ३०-३५ बर्षको सेवा अवधि नै अधिक लाग्ने अवस्थामा कुनै मानिस जङ्गलको जोखिमपूर्ण जागिर त्यो पनि क्रियाशील अवस्थामा ५० वर्षदेखि अनवरत गरिरहेको सुखद संयोग संसारमा कमै भेटिन्छ।

११ नोभेम्वर १९६९ देखि अविच्छिन्न रूपमा टाइगर टप्समा कार्यरत तिनै दुर्लभ व्यक्ति धनबहादुर तामाङ ‘ड्यानी’को लामो जागिरे जीवनको सन्दर्भमा उनी कार्यरत संस्थाले बुधवार ‘चियर्स टु ड्यानिज फिफ्टी इयर्स विद् टाइगर टप्स’ नामक सम्मान कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा संरक्षणविद् तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्व चिफ वार्डेन रामप्रीत यादव, प्रकृति संरक्षण कोषमा आवद्ध विष्णु लामा, चराविद् कालुराम तामाङ, संस्थापक एडवर्स परिवार सदस्यहरू र पूर्व कर्मचारी उपस्थित थिए।

धनबहादुर तामाङ ‘ड्यानी’

हात्तीलाई तालिम दिन बेलायत गए ड्यानी

ड्यानी असाधारण अनुभवका एक नेचरलिस्ट हुन्। उनले प्राथमिक तहभन्दा माथि औपचारिक शिक्षा लिए/ लिएनन्, त्यसले खासै अर्थ राख्दैन उनको जीवनमा तर वन्यजन्तु, प्रकृति र पर्यायवरणमा अनुसन्धान गर्ने संसारका प्रतिष्ठित व्यक्ति र संस्थाका लागि, नेपालको वन्यजन्तु पर्यटन अवलोकन गर्ने कैयन सेलिव्रेटी विदेशीहरूका लागि ड्यानीको उपस्थिति रअनुभवले धेरै अर्थ राख्छ। उनको जागिरको शुरूआत हात्तीसारबाट भयो, हात्ती स्याहार सुसार गर्दै हात्तीसँगै दैनिकी शुरू हुन्थ्यो।

हात्ती दुई प्रकारका हुन्छन्- एसियन र अफ्रिकन । तुलनात्मक हिसावले एसियन हात्ती साना हुन्छन् अफ्रिकीभन्दा। यी दुई हात्तीहरूको फरक छुट्याउन यिनीहरूको कानको आकार र कानको लोति र दाह्राको अवलोकनबाट सहज हुन्छ। एसियन हात्तीको कान भारतको नक्सासँग मिल्छ भने अफ्रिकन हात्तीको अफ्रिकी नक्सासँग मिल्छ। कानको लोती अगाडि घुमेको एसियनको तुलनामा पछाडि घुमेको अफ्रिकन हात्तीको कान पनि ठूलै हुन्छ। अघिल्लो प्रजातिको हात्तीको भालेको दाह्रामात्र बढ्छ भने अफ्रिकी हात्तीको भाले पोथी दुबैको ठूलै दाह्रा हुन्छ। हामीकहाँ पाइने हात्तीहरू एसियन हात्ती हुन्।

हात्तीलाई तालिम दिनु पक्कै पनि सजिलो काम होइन। बेलायतस्थित क्रिकेट सेन्ट थोमस सफारी पार्कमा रहेको एसियन हात्तीलाई तालिम दिन ड्यानी २ बर्ष बेलायत बसे। ड्यानीको संगत बेलायतीसँग मात्र भयो त्यहाँ रहँदा। सिक्ने र सिकाउने दुबै काम भयो। उनको अंग्रेजीमा यस्तो सुधार आयो कि झण्डै बेलायती लवजमै अंग्रेजी बोल्ने भएर दुई बर्षपछि टाइगर टप्स फर्किए ड्यानी।

चकबाट सिके बाघको अध्ययन

चितवन राष्ट्रिय निकुञ्ज स्थापनाभन्दा अगाडि नै टाइगर टप्सले पर्यटन शुरू गरिसकेको थियो। बेलायती जिम एडवर्स रअमेरिकन एन्थ्रोपोलोजिस्ट चाल्स मक्डुगल (चक) ले चलाएका थिए टाइगर टप्स। चक अब बिस्तारै बाघ अध्ययनमा केन्द्रित हुन थाले। बाघको बासस्थान, बाघ छुट्याउने तरिका, बाघ गणनाका प्रारम्भिक चरणमा नवीन पद्धतिहरूको प्रयोगमा चकको उल्लेखनीय योगदान नेचरलिस्ट तथा संरक्षणविदहरू सम्झन्छन्। ‘बाघको पाइला (पगमार्क)कोअध्ययन, क्यामेरा ट्र्यापिङ विधिको ज्ञान अनि बाघको स्ट्राइप (पाटा) बाट एक अर्को बाघ छुट्याउने तरिका हामीलाई चकले नै सिकाउनु भयो,’ अब्राहम पुरस्कार विजेता चरा विज्ञ कालुराम तामाङ बताउँछन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका सिनियर टेक्नेसियन बिष्णु लामा भन्छन्, ‘चक र धनबहादुर जीबाट मैले वन्यजन्तु र बाघबारे धेरै सिकेको छु, धनबहादुरजीमा बाघको सुक्ष्म अध्ययन गर्नसक्ने विलक्षण प्रतिभा छ।’

कहाँ-कहाँ बन्यजन्तु अवलोकन गरे?

जङ्गली जनावर हेर्न भारतको जिम कोर्बेट र बान्धवगढ मात्र होइन, ड्यानीको जिम्वाब्बे भ्रमणबाट धेरै अफ्रिकी जनावर उनले नजिकबाट हेर्ने मौका पाए। देशसञ्चारसँगको कुराकानीमा ड्यानी भन्छन्, ‘मैले अफ्रिकादेखि अमेरिकाको यल्लोस्टोन नेशनल पार्कसम्मका जीवजन्तु र वनस्पति देखेको छु, यी सबैभन्दा चितवन नै राम्रो लाग्छ, यस्तो विशिस्ट पार्क अन्त छैन जैविक विविधता र लोपोन्मुख फ्लोरा (वनस्पति) र फौना ‍(जीवजन्तु) का लागि।’

‘मैले अफ्रिकादेखि अमेरिकाको यल्लोस्टोन नेशनल पार्कसम्मका जीवजन्तु र वनस्पति देखेको छु, यी सबैभन्दा चितवन नै राम्रो लाग्छ, यस्तो विशिस्ट पार्क अन्त छैन जैविक विविधता र लोपोन्मुख फ्लोरा (वनस्पति) र फौना ‍(जीवजन्तु) का लागि।’

नजिकबाट धेरैलाई देखेँ

‘धेरै भीआइपीहरूसँग जङ्गल घुम्न पाएँ, रोनाल्ड रेगन, प्रिन्सेस एन् (बेलायती महारानी एलिजाबेथ द्वितीयकी छोरी), अमेरिकी फस्ट लेडी हिलारी क्लिन्टन र अरू धेरै स्वदेशी तथा विदेशी राजपरिवारका सदस्य, हलिउडका कलाकार, वैज्ञानिकहरू, बीबीसी, नेशनल ज्योग्राफीलगायत धेरै मिडियाका मानिसहरूसँग नजिक रहेर काम गरेँ,’ अझ अगाडि थप्छन्,  ‘हिलारी र चेल्सीले त देखेनन् तर उनका सेक्युरिटी अफिसियल्सले त्यो बेला बाघ देखे।’

चर्चा १२२ नम्बर, नुनाहा भालेदेखि ध्रुवे,रोनाल्डो र रिऊ पोथीसम्म

बाघको संख्या हाल ९३ अनुमान गरिएको भएपनि केही महत्वपूर्ण बाघहरू बारे ड्यानीको छुट्टै अनुभव छ। पचास बर्षे नोकरीका दौरानमा धेरै पटक जनावरको आक्रमण हुनबाट बचेका छन्। बिस्तृतमा त बताएनन् तर यत्ति भने- बाघ, भालु र गैँडासँग धेरै पटक जम्काभेट भयो, त्यसमा पनि १२२ नम्बरको बाघले त धन्नै खाएन।’ त्यसो त कुनै समय चितवनमा चर्चित बाघहरू सेती पोथी, ढाक्रे भाले, माइला भाले, भिम्ले पोथी, ढाक्रे पोथी, नुनाहा भाले आदि हुन्। यी बाघहरूको न्वारन गर्ने पण्डित त उनै बाघ विशेषज्ञ डा. चक मक्डुगल नै हुन्।

झण्डै बाईस बर्ष अघिको कुरा हो- पैदल यात्रामा नयाँ फिल्ड अफिसरहरूलाई जङ्गल घुमाउने क्रममा ड्यानीको साथमा यो पङ्तिकारले समेत नुनाहा भालेलाई एकदमै नजिकबाट देखेकै हो।मृत्युको नजिकबाट उम्केको महसुस गरेको थिएँ। पछि, उसका आँखामाआफ्ना आँखा जुधाउँदै होचो टाँटरीको रूखतर्फ चुपचाप बिस्तारै पछाडि पाइला घटाउँदै गर्दा नुनाहा भाले फरक्क फर्किएपछि लामो सास फेरेको घट्ना अझै ताजा छ। त्यसको केही बर्षपछि नुनाहा भाले नरभक्षी भयो र त्यसलाई डार्टिङ गरी ट्र्यङ्कुलाइज (बेहोस बनाउने) गरेर जङ्गलबाट निकालिएको थियो।

हात्तीका कुरा

चितवनमा बेलाबेलामा जङ्गली हात्तीले पनि तर्साउँदै आएको हामीलाई थाहा छँदैछ। यसै सन्दर्भमा सिनियर टेक्निसियन बिष्णु लामा भन्छन्- ‘चार वटा जङ्गली हात्तीको चर्चा बढी हुने गर्छ, तिनीहरू रोमियो, रोनाल्डो, ध्रुबे र गोविन्दा हुन्। सबैभन्दा पहिले रोमियो आयो त्यसपछि रोनाल्डो।अहिलेको सबैभन्दा शक्तिशाली यही हात्ती हो जुन पश्चिममा भिम्ले टाइगर टप्स क्षेत्रदेखि पूर्वमा अमृतेसम्म पुग्छ। खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा यही भाले हात्तीले गर्भाधान गराउँदैआएको छ। ध्रुबे अहिले भिम्ले पश्चिम टाइगर टप्स, खोरिया मोहन हुँदै अमलटारीसम्म जान्छ भने रोनाल्डो नभएको अवस्थामा मात्र सौराहातिर जान्छ। गोविन्दा भने सानो छ त्यो कहिले ध्रुबेसँग त कहिले रोनाल्डोसँग हिँड्ने गर्छ।

बागमारा पोथी

ड्यानी भन्छन्- बागमारा पोथी बाघ अहिले तीन बेत ब्याई, पहिलो बेतको यसको एउटा बच्चा मेघौलीतिर पाइयो। यसको दोश्रो बेतको छोरी खोरिया मोहन एरियामा छ, गत फरवरी २२ मा यसको मेटिङ् (गर्भधारण) धोर्सर खोलामा भयो, नोभेम्वरमा पाँच महिनाका चारवटा बच्चा र आमाको पाइला देवीतालमा देखेँ। अहिले एउटा बच्चा हराएजस्तो छ तर तीनटा बच्चा सँगै छन्।आमाको पाइला पनि अझै देखिन्छ। भाले चितुवाभन्दा ठूला बच्चा आठ महिनाका भए।अमलटारीको छेउमा हाम्रो साथीले बच्चा देखेछ।

र, जङ्गल नै घर भयो

छुट्टीमा पनि घर जान मन नगर्ने ड्यानीलाई जङ्गल नै घरजस्तो लाग्ने। ड्यानीको जागिर ५० बर्ष जबकि मालिकको उमेर ४८ बर्ष, क्रिस्टेनले त्यही भने, ‘मेरो उमेरभन्दा दुई बर्ष बढी उमेर जागिर गर्ने ड्यानीको बारे मैले के भन्ने सँधै यहीँ देख्न पाउँ। स्वर्गीय चककी पत्नी मार्जीले भनिन्, ‘मेरो भाइ धने ५० बर्ष काम गर्दैछ अझै ५० बर्ष अरू काम गरोस्।’ रामसिँह गुरूङ र डिबी चौधरीले पनि ड्यानीको मुक्तकण्ठले प्रशंसा गरे।

ड्यानी सम्मानित भएको भोलिपल्ट बिहान टाइगर ट्रस्टका संयोजक मित्र प्रकाश श्रेष्ठ, चराविज्ञ कालुराम र मलाई बिदाइ गर्दै भन्दै थिए, ‘आज ११ जना पाहुना आउदैछन्, जङ्गल घुमाउनु छ।’ चौसट्ठी बर्षीय यी युवकको जोश र जाँगर बीस बर्षपछि पनि मैले त केही फरक देखिनँ।

 

माघ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्