पत्रकारको आन्दोलनमा कांग्रेसको साथ: देउवा

बुटवल– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोसेर अधिनायकवादको बाटोमा अगाडि बढेको बताएका छन्।

शनिबार रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारले प्रेस स्वतन्त्रता तथा मानवअधिकारमाथि नै प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताएका हुन्।

दुई तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतन्त्रको मूल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विभिन्न विधेयकहरु ल्याएको भन्दै उनले कम्युनिष्ट सरकारको अधिनायकबादविरुद्ध प्रजातान्त्रिक शक्तिहरु एक भएर अगाडि बढनु पर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याइएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन रहेको बताए।

प्रेस स्वतन्त्रतामाथि आँच आउन नदिन सदनमार्फत का‌ंग्रेसले निरन्तर खबरदारी गरिरहेको भन्दै देउवाले पत्रकारहरुको जायज मागहरुको सम्बोधन गर्नु पर्नेमा जोड दिए।

नेपाली कांग्रेस प्रदेश ५ को संसदिय दलका नेता स्व.बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुन्य तिथिमा तिलोत्तमा १४ मा भएको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै देउवाले पोखरेल जस्ता निष्ठावान नेता कार्यकर्ताहरुलाइ पार्टीले कुनै न कुनै रुपमा स्थान तथा सम्मान दिँदै जानेपनि बताए।

नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित शोक सभामा पार्टीका महामन्त्री शशांक कोइरालाले स्वर्गीय नेता पोखरेलले देखाएको निष्ठा र त्यागको राजनीतिलाई सबैले अनुसरण गर्न सके सच्चा श्रद्धान्जली हुने बताए।

कांग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिष्ट सरकारले अहिलेसम्म अन्तरमनबाट लोकतान्त्रिक संविधानलाई नै स्वीकार गर्न नसकेको बताए।

दुई तिहाइको बलमा आफना नेता कार्यकतालाई बलियो बनाउने काममा मात्रै सरकार लागेको भन्दै नेता खाँणले जनताको हितमा कुनैपनि काम गर्न नसकेको बताए। जीवनको अन्तिम क्षणसम्म पनि देश र जनताकालागि लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउनु पर्छ भनेर लागिरहने स्व. नेता पाखेरेलको निधनले पार्टीलाई ठूलो क्षति पुगेको उनले बताए।

प्रतिनिधि सभाको लेखा समितिका सभापति भरत शाह, प्रतिनिधि सांसद प्रमोद यादव, कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पाल्पा सभापति तथा प्रदेश सभासद बीरबहादुर राना, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, प्रदेश सभाको संसदिय दलका उपनेता बीरेन्द्र कनौडिया, फणिन्द्र शर्मा, ईश्वरचन्द्र पोखरेल, रामकृष्ण खाँण लगायतका नेताहरुले बोल्दै स्व‍. नेता पोखरेलको निधले पार्टीले एउटा सच्चा र कर्तव्यनिष्ठ नेता गुमाएको बताए।

नेपाली कांग्रेसको प्रदेश नं. ५ को संसदिय दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा माघ ६ गते निधन भएको थियो।

माघ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्