मीनु गुरुङको सफलता कथा

बहादुरकी छोरी, दक्षिण एसियामै ‘बहादुर’ ठहरिइन्

बहादुरकी छोरी, दक्षिण एसियामै ‘बहादुर’ ठहरिइन्

‘बहादुरकी छोरी हो, बहादुरजस्तै छे।’

मिनु गुरुङले आमाबारे थुप्रैपटक उनकै मुखबाट सुनेकी थिइन्।

हक्की खेल्थिन्। फुटबल पनि उत्तिकै राम्रो थियो। ज्यान बलियो र ज्यांगो भएकाले केटाहरु डराउँथे। स्कुलमा उनको चर्चा निकै हुन्थ्यो।  उनलाई पनि दुई चार जना भिड्न आए, लडाउँन सक्ने हिम्मत आउँथ्यो। भारतीय भूमीमा उसै पनि नेपाली भनेपछि बहादुर भन्थे। बहादुरकी छोरी बहादुर छे भन्दा उनी दंग हुन्थिन्।

तर स्कुलको पढाई नसकिँदै विवाह भयो। परिवारको निर्णय उनको बहसको विषय पनि थिएन।  नेपाल आएर घर व्यवहार सम्हाल्न थालिन्। श्रीमान भारतमा काम गर्ने, आफु नेपालमा छोराछोरी सम्हाल्ने। श्रीमान कहिले आउलान् र घर खर्च जोहो हुन्थ्यो भन्ने तनाव। ६ महिना/१ वर्षमा आउँदा आमालाई व्यवहार सम्हाल्न कति गाह्रो हुन्थ्यो, मिनुले देखेकी थिइन्। कुनै कुरा किनिदिनु भन्योभने आमाले ‘तिमीहरुको बाबा आएपछि मात्र’ भन्ने जवाफ नयाँ हुन्न थियो।

नारायणी तरेर पानी चुहिने घरका छाना टाल्न खर ल्याएको, आगोको जोहो गर्न मुडाहरु ल्याएको मिनु स्वयंले देखेकी थिइन्।

आमा छोरीहरुलाई भन्थिन्- तिमीहरुको अवस्था मेरोजस्तो नहोस्। केही बन, आफ्नै खुट्टामा उभ।

मिनु आमाका कुराहरु सम्झिन्छिन्।

‘म त बहादुर बन्न सकिन। खेल्न सकिन। आफ्नो नाम राख्न सकिन। तर म तिमीहरुलाई दुख गरेर भएपनि  पढाउँछु। तिमीहरुले आफ्नो नाम राख्नुपर्छ।’

परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफुले चाहेजसरी गर्न कहाँ सकिन्थ्यो र ! स्कुल पढ्दापढ्दै ठुलो दिदीको विवाह भयो। माइली दिदीलाई पुलिसमा जागिर खाएको देख्ने आमाको रहर थियो। नाम पनि निकालिन् तर ट्रेनिङ गर्नुअघि साथीहरुले तर्साएछन्- त्यस्तो पनि जागिर खाने हो, गोली लागेर तँ मर्छेस्।

माइली दिदी पनि घरायसी काममै रमाइन्।

तनावमा भएका बेला बुबाले आमालाई फोनमा भन्ने गर्थे- तहिँले धेरै छोरी जन्माइस्।

आमा मन दह्रो बनाउँथिन्।

‘छोरी भएर के भयो त म उनीहरुलाई छोराजस्तै बनाउँछु।’

आमाले सबैभन्दा आशा गरेकी छोरी थिइन् मिनु। आँटी, हक्की र बलियो। कोहीसँग पनि डराउँदिन थिइन्। ठ्याक्कै स्कुल पढ्दाताकी आमाजस्तै। मिनुभन्दा मुनी एक छोरी भएपनि शारिरिकरुपमा कमजोर थिइन्। समय वित्दै जाँदा आमाले देखेको सपना पुरा गर्ने अभिभारा मिनुको काँधमा आयो।

मिनु, दाईको पछि लागेर कराँते सिक्न थालिसकेकी थिइन्। १४ वर्षको उमेरमा भारत छाडेर नेपाल आएका दाई बिहान सबेरै उठ्थे। बिहान नियमित ‘एक्सरसाइज’ गर्न घरमै सामानहरु तयार गरेका थिए। ‘बडी’ बनाउन सिमेन्टी राखेका सामानहरु उचाल्थे।  बोरामा माटो राखेर बनाइएको ‘पन्चिङ ब्याग’मा आफ्ना दुई हात मुठ्ठी कसेर बराबर ठोक्थे। दौडन्थे पनि। कराँते सिक्न पनि जान्थे। मिनुले हरेक दिन दाईको नक्कल गर्न सुरु गरिसकेकी थिइन्। दाई पनि खुसी हुन्थे।

‘चार पाँच कक्षामा पढ्दा खेरी होला मैले कराँते सिक्न थालेको’, मिनु भन्छिन्। उनी आफ्नो गाउँबाट कराँते सिक्ने एक मात्र केटी थिइन्। गाउँलेले ‘रानीकी आमाले छोरीलाई घरको काम नलगाई के खेल्न पठाएको होला’ भनेर  कुरा नकाटेका होइनन् तर मिनुले कराँते सिकिरहिन्। उनलाई कराँते सिकाउने गुरु पनि मिनुलाई फुरुक्कै बनाउँथे। दाईजस्तै राम्रो कराँते खेलाडी बन्नुपर्छ भन्थे।

बिहान कराँते सिकेर आएर फेरी स्कुल जान समय मिलाउनु कम्ता गाह्रो थिएन। घरको बिहानी काम त छँदै थियो। कराँते सिक्न थालेको केही महिनामै  विधालयस्तरको प्रतियोगितामा तेस्रो भइन्। छोरीको मेडल देखेर आमा दंग परिन्।

एकपटक प्रतिद्धन्द्धीको किक लागेर मिनु केही दिन टाउको बांगो बनाएर हिँड्नु पर्‍यो। अर्को  एकपटक उनको नाक नै फुटेछ। सामान्य चोटपटक लागिरहन्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो- यो कराँते खेल्नै छाडिदिउँ। त्यतिबेला घचेट्ने आमा नै हुन्थिन् । हौसला बढाउँथिन्।

‘हात खुट्टा मर्किए म मालिस गरिदिइ हाल्छु नी। दुई दिन दुख्छ। दुई दिन आराम गर्नु, सबै ठिक भइहाल्छ नी।’

मिनुले चोट बोकेर आएका हरेक साँझ उनलाई आमाले मलमपट्टी गरिदिन्थिन्। बुबा भने आमालाई गाली गरि हाल्थे।

‘छोरीलाई घाइते बनाएर अपाङ्ग बनाएर राख अनि विहे पनि हुँदैन।’

आमा जवाफ फर्काउँदिन थिइन्। मिनुले जिल्ला हुँदै क्षेत्रीय प्रतियोगितासमेत खेल्न थालिसकेकी थिइन्। दाई स्कुलको पढाई नसकी भारतीय लाहुरे बनिसकेका थिए। मिनु खेलेर आउँदा रित्तो हात फर्कनु पर्थेन।

हरेक दुख र सुखमा आमा मिनुलाई भन्थिन्,’ तँ मेरो छोरा बन् है। सलाम खाने हुनुपर्छ।’ आमालाई बुढेसकालमा सहाराको चिन्ता लाग्दो हो ! मिनुका बुबाको पेन्सन आउने जागिर पनि त थिएन। छोराको जागिर त थियो तर मिनुबाट पनि उनलाई कम्ता आशा थिएन।

एसएलसीलाई ध्यान राखेर मिनुले केही समय खेल्न छाडिन्, पढाईमा केन्द्रित हुन। सम्झिन्छिन् ‘पढेर कि सरकारी जागिर खानुपर्छ भन्ने थियो की त बाहिर जानुपर्छ भन्ने।’ जब एसएलसी पास गरिन्, उनलाई लाहुरे बन्ने हुटहुटी चल्यो। ब्रिटिस आर्मीमा महिलालाई पहिलोपटक लिने भनिएको थियो।

एकपटक प्रतिद्वन्द्वीको किक लागेर मिनु केही दिन टाउको बांगो बनाएर हिँड्नुपर्‍यो। अर्को  एकपटक उनको नाक नै फुटेछ। सामान्य चोटपटक लागिरहन्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो- यो कराँते खेल्नै छाडिदिउँ। त्यतिबेला घचेट्ने आमा नै हुन्थिन् । हौसला बढाउँथिन्।

केही समय तालिम लिएपछि उनी चितवनबाट छनोट भएर पोखरा पुगिन्। तर पछि महिलालाई नलिने भनियो। अरु युवतीजस्तै मिनु पनि खिन्न भइन्। उनले भारतीय लाहुरे बन्ने पनि नसोचेकी होइनन्। तर दाइले भारतमा नेपाली केटीलाई गाह्रो हुन्छ भनेपछि उनको मन मरेर आयो। त्यति नै बेला मिनुलाई विवाहका प्रस्तावहरु पनि आए। बुबाले पनि अब उम‍ेर पुग्यो, विवाह गर्नुपर्छ भनेर कर नगरेका होइनन्। तर आमाले अडान राखिन्।

‘मेरो सपना पुरा भएको छैन। मिनुले अहिले विवाह गर्दिन।’

बरु मिनुकी कान्छी बहिनीको भने विवाह भयो। आमालाई देखेर मिनुलाई पनि लाग्यो, ‘हैन पहिला आफ्नो खुट्टामा उभिनुपर्छ। अनि मात्र विवाह।’

मिनुको गाउँका केही दाईहरु नेपाली सेनामा थिए। उनीहरुले मिनुलाई भनेका थिए- खेलाडीको मेडल र प्रमाणपत्र छ भने नेपाली सेनामा जागिर खान सजिलो हुन्छ। त्यतिबेला मिनु १२ कक्षा सकेर बसेकी थिइन्। नेपाली सेनामा जवानका लागि आवेदन मागिएको थियो।  मिनुहरुलाई मान्छेहरु भन्थे- १२ कक्षा पढेको मान्छे कहाँ जवानको जागिर खाएर हुन्छ ?

तर मिनु स्पष्ट थिइन्। ठुलो पदमा नाम निकाल्न सजिलो छैन। क्षमता भएर मात्र  पुग्दैन। त्यसो त मिनुलाई पहिला जागिर खानु थियो। आफ्नो खुट्टामा उभिनु थियो। आफुले कमाएको पैसामा आफ्ना योजनाहरु पुरा गर्नु थियो।

‘बरु अहिले जवानमा छिरेर पछि माथि ट्राइ गर्छु भन्ने निर्णय गरेँ।’

खेल्दा जितेका मेडलका प्रमाणपत्रहरु बोकेर उनी विरगन्ज गइन्, जवानमा लड्न। गाउँकै एक जना केटा साथी पनि थिए। फर्म भर्दा हेटौँडाका दुई जना साथी बने। दुई जना केटी र दुई जना केटाको ‘ग्रुप’ बन्यो। चार जनामध्ये दुई जनाको मात्र नाम निस्कियो। ती दुवै जना केटी थिए। अर्थात मिनुको नाम निस्कियो। हेटौँडाकी केटी साथी शिलु डंगोल पनि फुटबल खेलाडी रहिछन्। खेलाडी भएकाले दुवैलाई नाम निकाल्न सजिलो भयो। आर्मीका हवल्दार रहेका शिलुका बाले फर्कँदा भनेका थिए, ‘ सिपाहीँ भनेर मात्र के गर्नु, आफुलाई चिनाउनुपर्छ।’

मिनुको सफलताले आमा निकै खुसी भइन्। ‘छोरीले नेपालको सिन्दुर लगाएर आई’ भन्दै रमाउनु भयो। मिनुमा पनि खुसीको सिमा थिएन।

‘आमाले जुन सपना देख्नु भएको थियो त्यसको पहिलो चरण पुरा भएको थियो।’

अब तालिम सुरु भयो। त्रिशुलीमा थियो। २ सय जना युवती ट्रेनिङ गरिरहेका थिए। तर ट्रेनिङ यति गाह्रो थियो कि हरेक दिन रातमा उनिहरुमध्ये धेरै रुन्थे। ‘ ट्रेनिङ छोरा मान्छेहरुले गरेजसरी गर्नुपर्थ्यो। एकदमै गाह्रो। केहीले बीचैमा छाडेपनि’, मिनु सम्झिन्छिन्।

आर्मीमा जागिर खानुपर्ने सबैका आ-आफ्नै कथा थिए। कसैको आर्थिक समस्या अनि कसैको पारिवारिक दबाब। मिनुलाई लाग्थ्यो- नखानु खाइसकेपछि अब यसैमा रमाउनुपर्छ। साँच्ची, जागिर त खानभन्दा पनि खाएर छाड्न गाह्रो हुने रहेछ। ट्रेनिङ गर्न नसकेर भाग्यो भन्दा लाजै हुने !

हरेक शनिबार, उनिहरुलाई घरमा फोन गर्न दिइन्थ्यो। ट्रेनिङका गुरुहरु भन्थे- तालिम गर्दा दुख भएका कुराहरु घरमा भन्ने होइन। घरमा गाह्रो हुन्छ।

वर्ष दिनमा एकपटक मात्र मिनुले परिवारसँग भेट्ने अवसर पाइन् त्यो पनि ट्रेनिङ गरिरहेकै ठाउँमा। आमा आफै आएकी थिइन्। तार जालीले छेकेको पारीपट्टी आमालाई देखेपछि मिनुले आँसु रोक्न सकिनन्। करिब पाँच मिनेटको भेट निमेषभरमा वितेजस्तो भयो। आमाले ल्याइदिएको छुर्पी टोक्दै उनी फर्किन्।

ट्रेनिङको मध्यतिर उनिहरुलाई काठमाडौं ल्याइएको थियो। त्यतिबेला मिनुहरुले आर्मी क्लबका गुरुलाई भेटेर प्रशिक्षणपछि आफुहरु खेल्न चाहेको बताएका थिए। नेपाल आर्मीमा महिला बक्सर नभएकाले उनिहरुलाई बक्सिङ खेल्नुपर्छ भनिएको थियो।

नियमित ट्रेनिङमा फर्कनुअघि उनिहरुले गुरुलाई सम्पर्क नम्बर छाडे। मिनु र शिलु दुवैले बक्सिङ खेल्ने निधो गरिसकेका थिए।  मासिक तलब पनि आउने अनि खेल्न पनि पाइने, शिलु र मिनु दुवैलाई दुवै हातमा लड्डुजस्तै भएको थियो।

ट्रेनिङ सकिएको केही दिन मात्र भएको थियो, मिनुहरुलाई खबर आयो, राष्ट्रिय प्रतियोगिता आइरहेकाले खेल्ने भए आफ्नो नाम पठाउनु। काठमाडौं आएपछि उनिहरुको टेस्ट भयो अनि भनियो ल अब तिमीहरु नेपाल आर्मी क्लबको बक्सिङ खेलाडी।

(मिनु गुरुङ १३ औँ दक्षिण एसियाली खेलकुद-सागकी स्वर्ण विजेता हुन्। मिनुमार्फत नेपालले साग महिला बक्सिङमा पहिलोपटक स्वर्ण जितेको हो। उनले साग बक्सिङमा समग्रमा नेपाललाई २० वर्षपछि पहिलोपटक स्वर्ण पदक दिलाएकी थिइन्। सागमा स्वर्ण जितेपछि उनले आफ्नो पदक आमाप्रति समर्पित गरेकी थिइन्। कीर्तिमानी मिनुको स्वर्ण यात्राको दोस्रो तथा अन्तिम भाग अर्को ‘स्टोरी’मा प्रस्तुत गरिने छ। )

माघ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्