बालयौन दुराचारमा परेका पोखराका अभियान, उनीमाथि भारतीय नागरिकले यौन दुराचार गरेका थिए ।
बालयौन दुराचार : मनोसामाजिक समस्यामा पीडितहरू

‘नाइँ भन्नू ल’

नगरकोटको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उज्ज्वल तामाङले (परिवर्तित नाम) गत साल पढाइ छाडे। कारण थियो– लाज र ग्लानि।

हाल १६ वर्ष पुगेका उज्ज्वलले कुनै अपराध गरेका थिएनन्। उनी त बरू अपराधको सिकार भएका थिए। तर, आफूले भोगेको अपराध उदांगिएपछि उनी घरबाहिर निस्किन सकेनन्। साथीभाइका सामुन्ने मुख देखाउने पनि हिम्मत भएन। उनी विद्यालय जान छाडे। पढाइ बिग्रियो। जसोतसो परीक्षा त दिए तर उत्तीर्ण हुन सकेनन्।

दोहोर्‍याएर त्यही कक्षा पढ्दा साथीभाइले दिनदिनै जिस्क्याउने त्रासले उनले गाउँ नै छाडे। काभ्रेको मण्डन देउपुर नगरपालिका–१ घर भएका उनी अहिले पोखरामा छन्। उज्ज्वलका बुबा भन्छन्, ‘छोरा अहिले होटलमा ड्राइभरी गर्छन्।’

होटलमा ड्राइभरी अर्थात् जुठा थाल, बटुका र भाँडा माझ्ने काम!

उज्ज्वल तिनै दुई बालकमध्ये एक हुन्, जसलाई क्यानडेली नागरिक पिटर जोन डगलिसले लामो समयदेखि बालयौन दुराचार गर्दै आएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७४ चैत २४ गते बिहान करिब ९ बजे डगलिसलाई मण्डन देउपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

डगलिस बालयौन दुराचारको अभियोगमा नेपालमा पक्राउ परेका हालसम्मकै सबैभन्दा “हाई प्रोफाइल” विदेशी नागरिक हुन्। नेपाल, भारत र अफ्रिकाका विभिन्न देशमा युद्ध, महामारी र गरिबीले आक्रान्त समुदायलाई मद्दत गर्ने मानवीय सहायताकर्मीको परिचय बनाएका डगलिसलाई क्यानडा सरकारले “अर्डर अफ क्यानडा” पदवीले सम्मानित गरेको थियो। यो क्यानडा सरकारले प्रदान गर्ने दोस्रो सर्वोच्च सम्मान हो।

लामो समय संयुक्त राष्ट्रसंघमा काम गरेका डगलिस दुई दशकदेखि नेपाल आउँदै–जाँदै गर्थे। राष्ट्रसंघको जागिर छाडेपछि भने उनले स्ट्रिट चिल्ड्रेन इन्टरनेसनल नामक संस्था खोलेर सडक बालबालिकाको शिक्षा र पुनस्र्थापनामा सक्रियता देखाउँदै आएका थिए।

विसं २०७२ सालको भूकम्पपछि भने डगलिस भूकम्पपीडितको पुनर्बासमा सहयोग गर्ने भन्दै काभ्रेको मण्डन, देउपुरस्थित कार्तिकेमा रहेको एउटा घरमा बस्दै आएका थिए । उज्ज्वलको घर उनको निवासनजिकै छ । पढाइमा राम्रो रहेका उज्ज्वललाई डगलिसले उच्च शिक्षा दिने र विदेश लैजाने भन्दै आफूसँग राख्दै आएका थिए।

डगलिसको शंकास्पद गतिविधि नियाल्दै आएको सीआईबीले उनको निवासमा छापा मार्दा त्यहाँ उज्ज्वलसँगै अर्का १२ वर्षे बालक पनि अर्धनग्न अवस्थामा थिए। उनी उज्ज्वलकै फुपूका छोरा हुन्। उनीहरूले प्रहरी र अदालतसमक्ष दिएका बयानअनुसार, प्रहरीले छापा मार्नुभन्दा अघिल्लो रात पनि डगलिसले दुवै बालकलाई बाथरुममा लगेर नुहाइदिई उनीहरूको यौनांग खेलाउने, चुस्ने र गुदद्वारमा औँला हाल्नेजस्ता क्रियाकलाप गरेका थिए।

डगलिस पक्राउ पर्दा १४ वर्षका मात्रै रहेका उज्ज्वलले १० वर्षकै उमेरदेखि आफूमाथि यस्तो यौन दुराचार हुँदै आएको बयान प्रहरीलाई दिएका छन्।

डगलिसविरुद्ध २०७५ वैशाख १९ गते काभ्रे जिल्ला अदालतमा बालयौन दुराचारको मुद्दा दर्ता भयो। २०७६ जेठ २७ गते उनलाई काभ्रेका तत्कालीन जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले दोषी ठहर गर्‍यो। ९ वर्ष कैद सजाय पाएका उनी अहिले जिल्ला कारागार काभ्रेमा छन्।

डगलिसविरुद्धको मुद्दामा सुनवाइ हुँदै गर्दा मण्डन, देउपुरका कतिले उज्ज्वललाई गिल्ला गरे। त्यसले उज्ज्वलको कलिलो दिमागमा यति गहिरो मानसिक असर गर्‍यो कि उनले पढाइ मात्रै छाडेनन्, आफू जन्मे–हुर्केको समाज नै छाडे।

द ब्रिटिस साइकोलोजिकल सोसाइटीको एक अध्ययनले भन्छ– यौनहिंसा भोगेका प्रायः बालबालिकामा विभिन्न मनोवैज्ञानिक समस्याहरू देखा पर्छन्। यौन दुव्र्यवहारमा परेकाहरूमा मनोसामाजिक समस्या देखिने निष्कर्ष अन्य विभिन्न अनुसन्धानहरूको पनि छ। ती अध्ययनअनुसार, यौनहिंसा भोगेका अधिकांश बालबालिका आफैंलाई दोष दिन्छन्; लाजले खुम्चिँदै बस्छन् र क्रमशः समाजबाट एक्लिँदै जान्छन्।

मनोपरामर्श, स्नेह र सहयोग नपाए यौनहिंसा भोगेका बालबालिकाको मनोसामाजिक समस्याले विकराल रूप लिन सक्छ। यसैका उदाहरण हुन्, उज्ज्वल।

उज्ज्वलले पनि पर्याप्त मनोसामाजिक परामर्श, स्नेह एवं साथ–सहयोग पाउन सकेनन्। डगलिस पक्राउ परेपछि उनलाई “साथी” नामक गैरसरकारी संस्थाकी मनोविमर्शकर्ता रुविना केसीले तीन साता मनोसामाजिक परामर्श त दिइन् तर त्यो पर्याप्त थिएन। बालयौन दुराचार भोगेका बालबालिकालाई कम्तीमा ७ देखि १० सातासम्म यस्तो परामर्श दिनुपर्ने हुन्छ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उज्ज्वलले बुबा–आमाबाट समेत स्नेह र साथ पाउन सकेनन्। विद्यालयले पनि उनको नाजुक मनोसामाजिक स्थितिप्रति खासै ख्याल गरेन। उज्ज्वलका एक शिक्षक भन्छन्, “उनकै आमाबुबाले चासो दिएनन्, हामीलाई पनि उनकै मात्रै विशेष ख्याल गर्ने समय पुगेन।”

पेडोफाइलहरू यसरी जाल बिछ्याउँछन्

पिटर डगलिसको घरको बैठक कोठा, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एक बालकलाई यही कोठाको सोफामा अर्थनग्न अवस्थामा भेट्टाएको थियो ।

डगलिसले उज्ज्वलमाथि गरेको बालयौन दुराचारलाई अंग्रेजीमा पेडोफेलिया भनिन्छ, र यस्ता दुराचारीलाई चाहिँ पेडोफाइल। पेडोफाइलले बालबालिकालाई माया गरेजस्तो गरी शारीरिक र मानसिक रूपले यौनजन्य शोषण गर्छन्।

सन् २००३ देखि यौन हिंसापीडित बालबालिकालाई मनोसामाजिक परामर्श दिँदै आएकी सनम पौडेल भन्छिन्, “बालबालिकालाई मायाको खोलमा यौन दुर्व्यवहार गर्ने वा त्यस्ता क्रियाकलापमा संलग्न गराउने वयस्क बालयौन दुराचारीलाई बुझाउन पेडोफाइल शब्दको प्रयोग हुन्छ।”

उनी थप्छिन्, “बालबालिकासँग यौन क्रियाकलापको इच्छा वा कल्पना गर्ने व्यक्ति पनि पेडोफाइल हुन्। पेडोफाइलहरू बालबालिकाबाट मात्र यौनआनन्द प्राप्त हुन्छ भन्ठान्छन्।”

पेडोफाइलहरूसँग बालबालिकाको प्रिय हुने क्षमता हुन्छ। यही क्षमता प्रयोग गर्दै उनीहरू बालबालिकानिकट पुग्छन् र आफ्नो यौन स्वार्थ पूरा गर्छन्।

सन् १९९३ देखि बालअधिकारका लागि क्रियाशील गैरसरकारी संस्था “भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक कृष्णकुमार थापाको अनुभवमा पेडोफाइलहरूले बालबालिकानिकट पुग्न निकै मिहिनेत गर्छन्। उनी भन्छन्, “जसरी कुनै युवकले युवतीलाई आकर्षित गर्न विभिन्न उपहारहरू दिन्छ, घुमाउन लैजान्छ र सबै चाहना एवं आवश्यकताको ख्याल राख्छ, पेडोफाइलहरूले पनि आफ्नो निसानामा रहेका बालबालिकाहरूलाई त्यसरी नै माया देखाउँछन्। उनीहरूका आवश्यकता पूरा गरिदिन्छन्, घुमाउन लैजान्छन्, खेलाउने कुरा दिन्छन् र विभिन्न लोभहरू देखाउँछन्।”

विशेषगरी बालकमाथि हुने यौनहिंसाका घटनाको अनुसन्धान तथा यौनहिंसा प्रभावित बालकको पुनर्स्थापनाका लागि सक्रिय थापा थप्छन्, “बालबालिकाको नजरमा भगवान्‌को जस्तो छवि बनाइसकेपछि मात्रै पेडोफाइलहरूले बिस्तारै उनीहरूसँग यौनजन्य क्रियाकलाप गर्न सुरु गर्छन्। बालकहरूलाई यौनको अनुभव लिनुपर्छ र त्यसका लागि म सिकाउँछु भन्दै पेडोफाइलहरूले यौनसुख लिन्छन्। अबोध बालकहरूले आफू शोषणमा परेको थाहै पाउँदैनन्।”

छोरीमाथि हुन सक्ने यौनहिंसाबारे त अभिभावकहरू प्रायः जानकार हुन्छन्। उनीहरू आफ्ना छोरीलाई यस्ता हिंसाबाट जोगाउन विभिन्न पूर्वसतर्कतासमेत अपनाउँछन्। तर, छोरामाथि पनि यौनहिंसा हुन सक्छ भन्नेचाहिँ धेरैलाई अझै थाहा छैन।

यसैले पेडोफाइलको शोषणमा परेका बालकले आफूले भोगेको यौनहिंसाबारे बताए पनि हत्तपत्त कसैले पत्याउँदैनन्। आफ्नो पीडा अभिभावक, साथी वा शिक्षकलाई सुनाउन नपाउँदा उनीहरूमा झन् बढी नकारात्मक मनोसामाजिक एवं मनोवैज्ञानिक असर देखा पर्छ।

मायाको खोलमा शोषण

पिटर डगलिसबाट यौनदुराचारमा परेका उज्ज्वलको घर।

उज्ज्वलका बुवालाई छोरामाथि चार वर्षदेखि यौनशोषण भइरहेको छ भन्ने थाहा थिएन, डगलिस पक्राउ नपर्दासम्म। उनी डगलिसकै घर–बगैंचामा माली थिए। छोरालाई मालिकले माया गरेको देख्दा उनी दङ्ग पर्थे। डगलिसले नै उज्ज्वलको स्कुल फी तिरिदिन्थे।

नयाँ–नयाँ लुगा किनिदिन्थे। उनले उज्ज्वललाई भविष्यमा राम्रो ठाउँमा काम लाइदिने वा विदेश लैजाने आश्वासनसमेत दिएका थिए। उज्ज्वलप्रति यति माया देखाउने डगलिसले लुकीलुकी उनलाई शोषण गरिरहेको विश्वास उनका बुबाले कसरी गर्न सकून्!

कतिपय बालबालिकालाई पेडोफाइलको चंगुलमा परिसक्दा पनि आफू यौन दुराचारको सिकार हुन पुगेको चेत हुँदैन। किनकि, यो अपराध मायाको आवरणमा लुकेको हुन्छ।

एक जर्मन पेडोफाइलको शोषणमा परेका पोखराका सूर्य विक (परिवर्तित नाम) को कुरा सुन्दा पनि यस्तै छनक मिल्छ।

सूर्यलाई हामीले पोखराको रामबजारस्थित एउटा साइकल मर्मत पसलमा भेटेका थियौँ, जहाँ उनी मेकानिक छन्। हाल १९ वर्षका उनी साइक्लिङमा रुचि राख्छन्। स्थानीय स्तरमा हुने साइकल दौडहरूमा पनि भाग लिन्छन्।

हामीले साइकलकै प्रसंगबाट सूर्यसँग कुरा सुरु गर्‍यौँ। साइकलको कुराले उनी हामीसँग कुरा गर्न सुरिए। बिस्तारै हामीले उनको विगत उप्काउन थाल्यौँ। आफ्नो नाम गोप्य रहनेमा विश्वस्त भएपछि मात्रै उनी हामीसँग आफ्ना अतीतका पानाहरूका बिस्कुन फिँजाउन तयार भए।

कास्कीको खे डाँडाबाट पोखरा झरेका सूर्यका बा–आमा छैनन्। काका–काकीसँग केही समय बसेपछि उनी १२–१३ वर्षको उमेरमा पोखरा झरेका थिए। पोखरामा उनको गाँस–बासको टुंगो थिएन। उनी लेकसाइडमा दिनभरि आफूजस्तै सडक बालकहरूसँग डुल्थे। राति नजिकै पाटीमा गई सुत्थे।

झन्डै दुई वर्ष यसरी नै सडकमा बिताएपछि सूर्यको जीवनमा एक पाका जर्मन नागरिक देउताझैं प्रकट भए। उनले पहिलो दिन सूर्य र उनका साथीहरूलाई खानेकुरा दिए। भोलिपल्ट उनी फर्केर आए र फेरि खानेकुरा दिए। यो क्रम चलिरह्यो। सूर्य बिस्तारै उनको माया र प्रभावमा परे।

ती विदेशी थिए– जर्मन नागरिक ह्यान्स क्रिस्टोफ। उनी सूर्यलाई कहिलेकाहीँ घुमाउन लैजान्थे, सूर्यले चाहेको–मागेको कुराहरू किनिदिन्थे र आफ्नो घर लगेर नुहाइदिन्थे। सूर्यलाई आफ्नो यति ख्याल गर्ने विदेशी आफ्नै बुबा हुन्‌झैँ लाग्यो।

जर्मन नागरिकबाट यौन दुराचारमा परेको पोखराका सूर्य। उनी हाल स्थानीय साइकल पसलमा काम गर्छन्।

अलि पछि क्रिस्टोफले सूर्यलाई सडकमा सुत्नुभन्दा आफ्नो घर गई बस्न भने। सूर्यले त्यस्तो प्रस्ताव लतार्ने गुन्जायसै थिएन। उनी भन्छन्, “म उनको घर गई बस्न थालेँ । उनले मेरो लिंग खेलाउने र चुस्ने गर्न थाले।”

सूर्यलाई आफू पेडोफाइलको शोषणमा परेको छु भन्ने चेत भएन। उनी भन्छन्, “मलाई पनि मज्जा आउन थालेको थियो।”

ती जर्मनलाई केही समयदेखि प्रहरीले निगरानीमा राखेको थियो। २०७२, वैशाखमा प्रहरीले उनलाई पक्राउ गर्‍यो। र, सूर्यलाई “साथी” संस्थाको काठमाडौंस्थित आश्रयमा पुर्‍यायो।

क्रिस्टोफविरुद्ध जिल्ला अदालत कास्कीमा २०७३ वैशाख १० गते बालयौन दुराचारको मुद्दा दर्ता भयो। त्यही वर्षको असार १ गते अदालतले उनलाई ८ वर्ष कैद र ५१ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गर्‍यो।

फैसलाविरुद्ध क्रिस्टोफले पुनरावेदन गरे तर पुनरावेदनले पनि जिल्लाकै फैसला सदर गर्‍यो। हाल उनी कारागारमा रहेको जानकारी सूर्यको पक्षमा वकालत गरेकी अधिवक्ता कृष्णाकुमारी गुरुङले दिइन्।

सूर्य भने अहिले पनि ती जर्मन पेडोफाइललाई बुबाझैं ठान्छन्। तर, आफूलाई गरेको व्यवहार भने राम्रो नभएको पनि उनले बुझेका छन्।

माया, लोभ र धम्की

पेडोफाइलहरूले बालबालिकालाई माया देखाएर मात्रै आफूतिर आकर्षित गर्दैनन्, लोभ पनि देखाउँछन्। आफ्नो कर्तुत सार्वजनिक नगर्न विभिन्न धम्कीहरू दिन्छन् ।

हामीले पोखराकै नयाँ बजार बस्ने १३ वर्षीय अभियान शर्मा (परिवर्तित नाम) सँग उनका अभिभावकको अनुमति लिएर कुरा गर्‍यौँ। हाल कक्षा ८ मा अध्ययनरत उनले ४ वर्षअघि आफूले भोगेको पीडा अझै राम्ररी भुल्न सकेका छैनन्।

अभियानका बुबाआमा स्याङ्जाबाट पोखरा आई एउटा घर भाडामा लिई होटल चलाउँथे। उनीहरू पनि त्यहीँ बस्थे। त्यही घरमा प्लम्बिङको काम गर्ने भारतीय नागरिक ३० वर्षीय अशोक रावको पनि डेरा थियो। उनी अभियान र उनका भाइलाई माया गरेझैं गर्थे । बेलुकाको खाना उनी त्यही होटलमा खान्थे।

तर, रावले अभियानलाई बुबाआमा नभएका बेला यौनशोषण गर्न थाले। सुरुमा मिठाईको लोभ देखाउँदै गुदद्वारमा बलात्कार गरे। त्यसबारे अरूलाई भने बुबाआमाको ज्यान लिने धम्की दिँदै अभियानलाई मौन बस्न बाध्य पारे।

दुई नेपाली बालकमाथि यौनदुराचार गरेको अभियोगमा जिल्ला अदालत काभ्रेबाट दोषी ठहर भएका क्यानेडियन नागरिक पिटर डगलिसको काभ्रे कात्तिकेस्थित घर । यही घरमा उनले दुई बालकमाथि यौनदुराचार गरेको अभियोग थियो ।

लगातार बलात्कृत भएपछि अभियानलाई हिँड्न गाह्रो भयो। उनले आफूले भोगेको पीडा भाइलाई बताए। अभियानले असजिलो गरेर हिँडेको देखेर आमाले उनलाई के भो भनी सोधेकी थिइन्। तर, उनले पीडकको धम्कीले डराएर आमालाई केही भनेनन्। तर, उनका भाइले सबै कुरा भनिदिए।

अभियानका बुबाआमाले प्रहरी बोलाए। प्रहरीले रावलाई २०७२, चैतमा पक्राउ गर्‍यो। २०७३, वैशाख २ गते कास्की जिल्ला अदालतमा उनीविरुद्ध बालयौन दुराचारको मुद्दा दर्ता भयो। जिल्ला अदालतले त्यसै साल भदौ ८ गते रावलाई दोषी ठहर गर्दै १० वर्ष एक महिना जेल सजाय तथा २५ हजार रुपैयाँ क्षतिपूर्ति फैसला गर्‍यो। राव हाल पोखरा कारागारमा छन् । उनले फैसलाविरुद्ध गरेको पुनरावेदनको टुंगो लागिसकेको छैन।

रावबाट पीडित अभियानलाई आमाबुबाले राम्रो ख्याल गरे। अहिले उनी राम्रो पढिरहेका छन्।

मनोसामाजिक प्रभाव

बालयौन दुराचारमा परेका पोखराका अभियान, उनीमाथि भारतीय नागरिकले यौनदुराचार गरेका थिए।

उज्ज्वल, सूर्य र अभियान तीनै जना बालयौन दुराचार पीडित हुन् तर उनीहरूमा फरक–फरक स्तरको मनोसामाजिक प्रभाव परेको देखिन्छ ।

उज्ज्वलमा आफू यौनहिंसामा पर्नुमा आफ्नो दोष रहेको ठान्ने समस्या देखियो ।

उज्ज्वललाई परामर्श प्रदान गरेकी मनोविमर्शकर्ता रुविना केसी भन्छिन्, “उज्ज्वल आफ्ना शोषकलाई कारबाही होस् भन्ने त चाहन्थे । तर, उनी आफूमाथि त्यस्तो हुनुमा आफ्नै दोष रहेको सोच्थे । लाज मान्थे । उनको “आईक्यू” स्तर पनि बिस्तारै घट्दै गएको थियो ।”

सूर्यलाई भने यौनको लतझैं बसेको थियो । त्यो छुटाउन उनलाई झन्डै पाँच महिना मनोसामाजिक परामर्श, प्ले थेरापी र आर्ट थेरापी दिनुपरेको केसीले बताइन् ।

अभियानले भने आमाबुबाको दरिलो साथ पाएका छन् । उनी त्यो घटना भुल्ने प्रयत्नमा छन् । अभियानलाई “प्लेटफर्म फर चिल्ड्रेन” की मनोविमर्शकर्ता तारा परियारले पनि मनोसामाजिक परामर्श दिइन् । अभियान अहिले पढाइमा प्रगति गर्दै छन् । तर, अझै पनि यौनजन्य अपराधका कुरा सुन्दा उनको अनुहार मलिन हुने गरेको उनकी आमा बताउँछिन् ।

कसरी थाहा पाउने मनोवैज्ञानिक असर ?

बालबालिकाले यौनहिंसाका क्रममा विभिन्न शारीरिक चोटहरू पनि पाउँछन् । बालकहरूको गुदद्वार च्यातिने, त्यहाँबाट रगत बग्ने र हिँड्न गाह्रो हुने समस्या देखा पर्ने कान्ति बाल अस्पतालका बालमनोचिकित्सक डा. अरुण कुँवर बताउँछन् ।

तर, मनोवैज्ञानिक असर भने सहजै थाहा हुँदैन । त्यसका लागि उनीहरूको बोलीचाली, हाउभाउ र भावनात्मक अवस्थाको अध्ययन गरिनुपर्ने कान्ति बाल अस्पतालकी क्लिनिकल साइकोलजिस्ट सिर्जना अधिकारी बताउँछिन् ।

उनी भन्छिन्, “यौन दुराचारका कारण मनोसामाजिक समस्या भोगिरहेका बालबालिकाहरू प्रायः अरू नै समस्याको निदान खोज्दै हामीकहाँ आइपुग्छन् तर बुझ्दै जाँदा उनीहरूले यौनहिंसाको कारण त्यस्तो समस्या भोगिरहेको पत्ता लाग्छ ।”

यौन दुराचार र त्यसको मनोसामाजिक प्रभाव बुझ्न हामीले मानसिक रोग अस्पताल पाटनका क्लिनिकल साइकोलजिस्ट भूपेन्द्र गुरुङ, सिविन नेपालका मनोविमर्शकर्ता हीरा खतिवडा र “प्लेटफर्म फर चिल्ड्रेन” की मनोविमर्शकर्ता तारा परियारसँग विस्तृत कुराकानी गरेका थियौँ ।

सबै विज्ञको अनुभव र निष्कर्ष उस्तै छ– यौनहिंसा भोगेका प्रायः सबै बालबालिकामा मनोसामाजिक प्रभाव पर्छ तर त्यसको गम्भीरता भने तिनको पारिवारिक पृष्ठभूमि र परिवेशअनुसार फरकफरक हुन सक्छ । सबैमा लामो समयसम्म मानसिक प्रभाव पर्छ भन्ने नभए पनि “पोस्ट ट्रम्याटिक स्टे«स डिस्अर्डर” (पीटीएसडी) सहितका समस्या देखिने जोखिम अधिक हुने उनीहरू बताउँछन् ।

डाक्टर र मनोविज्ञहरूका अनुसार, समग्रमा यौनहिंसाबाट गुज्रिएका बालकहरुमा निम्न लक्षणहरू देखा पर्छन् : 

चिन्ता वा व्याकुलता, नैराश्य, हिनताबोध हुने

सामाजिक सम्बन्ध स्थापना गर्न नसक्ने

एकान्त रूचाउने, खानामा रुचि कम हुने

बोल्न सकस मान्ने, निद्रा कम लाग्ने

कन्याउने, कोट्टाउने गरिरहने

उमेरअनुसारको यौन व्यवहार नहुने

ध्यान केन्द्रित गर्न नसक्ने

रिसाउने वा अत्यन्त डराउने

अपराधबोध हुने

बालबालिकासँगै परिवारका सदस्यलाई पनि घटनाको मनोसामाजिक असर पर्ने गरेको छ । चार वर्षअघि आफ्नो छोरामाथि भएको घटना सम्झेर आफू अहिले पनि झस्किने गरेको अभियानकी आमाले सुनाइन् ।

होटलमा आएका ग्राहकलाई चिया दिएर बाहिर कुनातिर आएर उनले भनिन्, “अहिले पनि छोरालाई कतै केही भइहाल्यो कि भन्ने लाग्छ । अरू साथीभाइले पुरानो कुरा थाहा पाएर केही भन्ने पो हुन् कि भन्ने डर लाग्छ । डरैडर हुँदो रहेछ मनमा ।”

केही पीडित आफै पीडक बन्ने जोखिम

बालयौन दुराचार भोगेका बालकहरू पछि गएर आफै पीडकमा परिणत हुने जोखिम हुन्छ । उज्ज्वलमाथि यौनहिंसा गरेका डगलिसको इतिहासले पनि यस्तो संकेत गर्छ । उनले जिल्ला अदालत काभ्रेमा दिएको बयानमा आफूमाथि सानो छँदा यौनहिंसा भएको खुलासा गरेका छन् ।

काभ्रे जिल्ला अदालतले तयार पारेको फैसलाको पूर्ण पाठमा डगलिसले ११ वर्षको हुँदादेखि एक शिक्षकले आफूमाथि यौन दुराचार गरेको बयान दिएको उल्लेख छ । उनले बयानमा भनेका छन्, “म स्कुल पढ्ने बेला ११ वर्षको हुँदा लगातार चार वर्षसम्म मेरो शिक्षकले मलाई कुट्नेसहित बालयौन दुराचार गरेका थिए ।”

त्यसपछिका केही वर्ष आफूले धेरै बच्चामाथि यौन दुराचार गरेको उनले बयानमा उल्लेख गरेका छन् । काभ्रे जिल्ला अदालतका तत्कालीन प्रमुख न्यायाधीश अर्जुन अधिकारीले तयार पारेको फैसलाको पूर्णपाठमा डगलिसको बयान उल्लेख छ । त्यसमा उनले भनेका छन्, “१६ देखि १८ वर्षको हुँदासम्म मैले धेरै बच्चालाई बालयौन दुराचार गरेको थिएँ ।”

हिंसाबाट गुज्रिएकाहरूले भविष्यमा अरू बालकमाथि हिंसा गर्न सक्ने सम्भावना रहेको विभिन्न अध्ययनहरुको निष्कर्ष छ । तर, ती निष्कर्षहरू विवादरहित भने छैनन् । सबै यौनहिंसा प्रभावितहरू भविष्यमा गएर पीडक नै बन्छन् भन्ने होइन, तर केहीमा भने त्यस्तो समस्या देखिन सक्ने डगलिसजस्तै पीडकहरूको इतिहासबाट खुल्छ ।

मनोसामाजिक समस्याः आत्तिनु पर्दैन

मनोसामाजिक समस्या आत्तिइहाल्नुपर्ने अवस्था होइन । किनकि, यस्ता समस्याबाट बाहिर निस्केर व्यवस्थित जीवन बाँच्न सम्भव छ । तर, यस्ता समस्यामा रहेका बालबालिकालाई तिनको अवस्था र आवश्यकताअनुसार साथ–सहयोग दिनुपर्ने क्लिनिकल साइकोलजिस्ट सिर्जना अधिकारी बताउँछिन् ।

मनोविमर्शकर्ता रुविना केसी भने बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिनुअघि तिनका अभिभावकले कुरा बुझ्नु जरुरी रहेको बताउँछिन् । उनी भन्छिन्, “अभिभावकले कुरा बुझेर स्नेह एवं सहयोग दिएपछि मात्रै पीडित बालकलाई विज्ञले गरेको मनोसामाजिक सहयोगको नतिजा देखा पर्छ ।”

युनिसेफ नेपालका चाइल्ड प्रोटेक्सन अफिसर उपमा मल्ल आफ्ना बच्चालाई यौनजन्य हिंसाबाट जोगाउन उनीहरूलाई नराम्रो लागेको कुरामा नाइँ भन्न सिकाउनुपर्ने तथा “राम्रो छुवाइ र नराम्रो छुवाइ” बारे जानकारी दिनुपर्ने सुझाव दिन्छिन् ।

“भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक कृष्णकुमार थापाको सुझाव छ– “बालबालिकालाई सम्भावित यौनजन्य हिंसाबाट जोगाउन वा हिंसामा परिसकेकालाई सामान्य जीवनमा फर्काउन हरेक अभिभावकले सिकाउनैपर्ने तीनवटा कुरा छन्– “आफूलाई कसैले गरेको व्यवहार मन परेको छैन भने नाइँ भन्ने, आफूमाथि हिंसा वा दुर्व्यवहार भएको छ भने अभिभावक वा नजिकको मान्छेलाई भन्ने र खतराको अवस्थाजस्तो लाग्यो भने त्यहाँबाट भाग्ने ।”

बालकमाथि हुने यौनहिंसा

बालिकामाथि भएका यौनजन्य अपराधको तथ्यांक पाउन नै मुस्किल भएको अवस्थामा बालकमाथि भएका यस्ता अपराधको तथ्यांक पाउनु त झन् मुस्किल छ । तर, सीआईबीसँग पछिल्लो साढे ४ वर्षयता दर्ता भएका मुद्दाहरूको तथ्यांक भने छ ।

सीआईबीले विसं. २०७३ देखि हालसम्म पेडोफेलियामा संलग्न १८ जनालाई पक्राउ गरेको छ । १८ जना पीडकले ३५ बालकमाथि यौन दुराचार गरेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । पीडकमा विदेशीको संख्या १४ र नेपालीको संख्या ४ छ । ९ जना अहिले अदालतबाट फैसला भएर जेलमा छन् । ३ जना तारेखमा छुटेका छन् भने १ जना सजाय भुक्तान गरी रिहा भएका छन् । यस्तै ५ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।

दर्ता भएका मुद्दाका आधारमा बालकमाथि हुने यौन दुव्र्यवहारका घटनामा विदेशीहरूको संलग्नता बढी देखिएको छ । यसको कारण नेपाली बालबालिकाको “आर्थिक, सामाजिक वा मानसिक गरिबी” रहेको सीआईबीका प्रवक्ता पाण्डे बताउँछन् । विदेशीसँग अधिक विश्वास र आस गर्ने बानीका कारण बालकहरू असुरक्षित बन्ने गरेको उनको भनाइ छ ।

तर, “प्लेटफर्म फर चिल्ड्रेन” का निर्देशक प्रमेश प्रधान भने पेडोफाइलहरूका लागि नेपालको सामाजिक एवं भौगोलिक परिवेश उपयुक्त हुनुका साथै कानुनी व्यवस्था पनि खुकुलो रहेको बताउँछन् । प्रधानले नेपाली समाज विदेशीलाई स्वागत गर्ने खालको तथा सहरको नजिकै एकान्त ठाउँ रहेकाले पेडोफाइलहरुले फाइदा उठाउने बताए ।

पिटर डगलिसविरुद्धको मुद्दामा फैसला गरेका न्यायाधीश अर्जुनकुमार अधिकारी कानुनी अवस्था कमजोर रहेको प्रधानको तर्कमा सहमत छन् । हाल नवलपरासीका जिल्ला न्यायाधीश रहेका अधिकारीले डगलिसको मुद्दा आफ्नो इजलासमा आएपछि पेडोफाइलहरूलाई कारबाही गर्न मिल्ने कानुनी व्यवस्था खोतल्न थालेका थिए ।

तर, कानुनमा एक ठाउँमा पेडोफाइल शब्द उल्लेख गरिए पनि त्यसलाई थप स्पष्ट नपारिएकाले मुलुकी अपराध संहिता, जबर्जस्ती करणीको महलको ३ नम्बरको देहाय २ नम्बरबमोजिम कारबाही गर्नुपर्ने बाध्यता रहेको न्यायाधीश अधिकारीले जानकारी दिए ।

पिटर डगलिसलाई बालयौन दुराचार मुद्दामा दोषी ठहर गरी २०७६ साल जेठमा फैसला गर्ने जिल्ला अदालत काभ्रेका तत्कालीन प्रमुख न्यायाधीश अर्जुन अधिकारी । उनी हाल जिल्ला अदालत नवलपरासीको प्रमुख न्यायाधीश छन् ।

मुद्दा दर्ता (विसं २०७५ वैशाख १९ गते) हुँदा कार्यान्वयमा रहेको तत्कालीन मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ (२) नम्बरमा जबरजस्ती करणीमा पर्ने बालिका १० वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिका भए करणी गर्नेलाई ८ देखि १२ वर्ष कैद साजय हुने र सोही महलको ३ (३) नम्बरमा करणीमा पर्ने बालिका १४ वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए करणी गर्नेलाई ६ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ । यस्तै सोही महलको ९ (क) नम्बरमा कसैले कुनै नाबालकसँग कुनै किसिमको बालयौन दुराचार (पेडोफाइल) गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नम्बरबमोजिम हुने सजायमा थप एक वर्ष कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पर्न गएको मर्कासमेत विचार गरी अदालतले बालयौन दुराचार (पेडोफाइल) गर्नेबाट मनासिव क्षतिपूर्ति भराउनुपर्ने उल्लेख छ ।

बालकमाथि हुने यौनजन्य अपराधका घटनामा प्रमाण जुटाउन पनि मुस्किल पर्छ । कानुनी अस्पष्टता र प्रमाण जुटाउँदाको सास्तीले पीडितलाई न्याय दिलाउन कठिन पर्ने गरेको अधिवक्ता शोभा पोख्रेल बताउँछिन् । विसं. २०६७ देखि यौनजन्य हिंसामा परेका बालकको पक्षमा वकालत गर्दै आएकी पोख्रेलले हालसम्म २५ बालकका मुद्दामा काम गरेकी छन् । हरेक मुद्दामा प्रमाणको अभाव र कानुनी अस्पष्टताका कारण समस्या हुने गरेको उनले बताइन् ।

अदालतमा बालकलाई मनोसामाजिक सुरक्षित दिने प्रबन्ध पनि हुँदैन । यसैले, पीडित बालक र तिनका अभिभावकरू मनोसामाजिक दबाबमा पर्ने गरेका छन् । यसको प्रभाव न्याय प्रक्रियामा पर्छ । कतिपय अवस्थामा प्रमाण जुट्दा पनि पीडित र अभिभावकले अदालती प्रक्रियाको झन्झटबाट आजित भएर मुद्दा छाड्ने गरेको पोख्रेल बताउँछिन् ।

नेपालमा पेडोफाइलको जगजगी बढ्दा पनि सम्बन्धित मन्त्रालयलाई भने बालकमाथि हुने यौनजन्य अपराध, त्यसका प्रभाव र कानुनी व्यवस्थाबारे खासै जानकारी रहेनछ ।

 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत बालसंरक्षण महाशाखाका प्रमुख वीरबहादुर राई बालकमाथि हुने यौनहिंसाबारे अलिअलि सुनेको तर आफूलाई त्यसबारे धेरै जानकारी नरहेको स्वीकार्छन् । सरकारले बालकमाथि हुने गरेका यौनजन्य अपराधलाई न्यूनीकरण गर्न के गरिरहेको छ र उनीहरूको सुरक्षाका लागि कस्ता योजना छन् भन्ने प्रश्नमा उनले भने, “यसबारे मन्त्रालय गम्भीर छ तर पहिले यो विषयमा नै बुझ्नुपर्ने अवस्था छ । हामीसँग कति बालकहरू यौनहिंसामा परेका छन् भन्ने तथ्यांक पनि छैन ।”

विशेषगरी, बालकमाथि हुने यौनहिंसाबारे मुलुकी अपराध संहिता स्पष्ट छैन । अपराध संहिताको जबरजस्ती करणी महलमा पेडोफेलियाका सम्बन्धमा पनि जबरजस्ती करणी जस्तै कानुनी व्यवस्था हुने उल्लेख भए पनि त्यसलाई स्पष्ट पारिएको छैन । पेडोफेलियालाई राम्रोसँग अथ्र्याउने र त्यस्तो अपराधमा कानुनी उपचारको व्यवस्था स्पष्ट पार्ने आवश्यकता आफूले पिटर डगलिसको मुद्दा हेर्ने क्रममा महसुस गरेको न्यायाधीश अधिकारी बताउँछन् ।

यस्तै, बालकमाथि हुने यौनहिंसाका सम्बन्धमा अदालतले स्वीकार गर्ने प्रमाणको दायरा बालिका, किशोरी वा महिलामाथि हुने यौनहिंसाको भन्दा फराकिलो हुनुपर्ने अधिवक्ता शोभा पोख्रेलको भनाइ छ । उनी भन्छिन्, “बालकमाथि हुने यौनहिंसामा बालिका या महिलामाथि हुने हिंसा या बलात्कारमा जस्तो प्रमाणहरू लामो समय रहँदैनन् । त्यसैले बालकको बयानलाई नै प्रमुख प्रमाणका रूपमा स्वीकार गर्ने व्यवस्था स्पष्ट रूपमा हुनुपर्छ ।’

“भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक थापाले बालयौन दुराचारविरुद्ध कडा कानुनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन नभएमा नेपाल बालयौन दुराचारीका लागि कम्बोडियापछिको गन्तव्य बन्न सक्ने बताए । उनले भने, “बालयौन दुराचारका घटना कम्बोडियामा अधिक देखिन्छ । हाल त्यहाँको बालयौन दुराचारविरुद्धको कडा कानुनी व्यवस्था गरेको छ । यसले गर्दा नेपाल बालयौन दुराचारीका लागि कम्बोडियापछिको अर्को गन्तव्य बन्ने सम्भावना छ । किनकि अझै पनि नेपालमा बालयौन दुराचार (पेडोफेलिया) का बारेमा कानुनी र सामाजिक बुझाइ कमजोर छ ।”

कम्बोडियामा हाल १६ वर्ष भन्दामुनिको बालबालिकामाथि यौनजन्य मनसायले जिस्क्याउने या दुर्व्यवहार गरेको पाइएमा पीडकलाई १२ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । यस्तै करणी गरेको ठहरेमा अधिकतम मृत्युदण्डको सजाय हुने व्यवस्था सन् २०१८ मा कम्बोडियाले गरेको हो ।

चुकेको सामाजिक व्यवस्था

बालयौन दुराचारबाट पीडितहरूलाई सहज जीवनमा फर्काउन समाजको भूमिका महत्त्वपूर्ण हुने समाजशास्त्री नीति अर्याल बताउँछिन् । यौनजन्य हिंसा र त्यसको समाजशास्त्रीय पक्षमा विद्यावारिधि गरेकी अर्यालको भनाइमा पीडितलाई नै दोषी देख्ने समाजका कारण पीडितहरू झन् बढी मनोसामाजिक समस्यामा पर्छन् ।

“समाजलाई संस्थाका रूपमा लिइन्छ र त्यो संस्थाभित्र पनि परिवार र छरछिमेकजस्ता विविध संस्थाहरू हुन्छन्,” अर्याल अथ्र्याउँछिन्, “तर, यी सामाजिक संस्थाहरू पीडितलाई दोष दिने मनोवृत्तिले ग्रस्त छन् । पीडितलाई सहयोग गर्नुको सट्टा बन्देज लगाउने तथा नसियत दिने गरिन्छ । यसले पीडितले बोल्ने वातावरण बन्दैन र बोले पनि उनीहरूको आवाज सुनिँदैन ।”

महिला तथा बालिकामाथि हुने हिंसा र यौन दुर्व्यहारका सम्बन्धमा समाजका संस्था र त्यसका सदस्यहरू जानकार छन् तर बालकमाथि हुने यौनजन्य दुर्व्यवहारका सम्बन्धमा स्पष्ट जानकारी नै नरहेकाले बालकहरुलाई खुल्न समस्या हुने गरेको उनी बताउँछिन् ।

अर्याल थप्छिन्, “पारिवारिक व्यवस्था नै पुरुष वा केटा मान्छे हिंसामा पर्छन् भन्ने अवधारणाबाट बाहिर छ । यसले पनि बालकहरू खुल्न सक्दैनन् । खुले पनि त्यसलाई मजाकको विषय बनाइनु वा पीडितलाई सामाजिक सहयोग नगरिनुको कारण यही हो ।”

कान्ति बालअस्पतालका बाल मनोरोगविज्ञ डा. अरुण कुँवर पनि पीडित बालकहरूलाई पुनस्र्थापित गर्न परिवारसँगै छरछिमेक, स्कुल तथा साथीभाइको सकारात्मक साथ महत्त्वपूर्ण हुने बताउँछन् । भन्छन्, “पहिलो कुरा त बालबालिकालाई हुर्काउँदा आफ्नो कुरा भन्न सक्ने गरेर हुर्काउनुपर्छ । उनीहरूका कुरा सुन्नुपर्छ । त्यसपछि पनि मनोसामाजिक समस्या देखिन्छजस्तो लागेमा मनोविद् तथा मनोरोगविज्ञको सल्लाह लिनुपर्छ । र, यो कुरा पनि स्पष्ट हुनुपर्छ कि मनोविद् तथा मनोरोगविज्ञसँगको सहायता लिए समस्या समाधान हुन्छ तर त्यसका लागि परिवारसहितको साथ अत्यावश्यक हुन्छ ।”

समाजशास्त्री अर्याल र बाल मनोरोगविज्ञ कुँवरले भनेजस्तै यौनहिंसाको सामना गरेका उज्ज्वल आफैं मजाकको पात्र बन्नुको कारण पारिवारिक सहयोगको अभाव र गैरजिम्मेवार सामाजिक संस्थाका पात्रहरुको रबैया रहेको देखिन्छ ।

“उज्ज्वललाई परिवारले साथ दिएको भए वा साथीभाइ र छरछिमेकले उनले भोगेको पीडाको गम्भीरता बुझेर आड–भरोसा दिएको भए उनको पढाइ छुट्ने थिएन, आफूले भोगेको पीडाप्रति उनी लज्जित हुने थिएनन्,” उनलाई केही समय मनोसामाजिक परामर्श दिएकी मनोविद् रुविना केसी भन्छिन् ।

उज्ज्वलजस्ता समस्यामा रहेकाहरूलाई मनोसामाजिक सहयोग गर्ने स्पष्ट उद्देश्यसहितका संस्थाहरुको कमी छ । नेपालमा काम गरिरहेका सेभ द चिल्ड्रेन, युनिसेफ, सिविनसहितका केही अन्तर्राष्ट्रिय संस्था र साथी, भ्वाइस अफ चिल्ड्रेन, प्लेटफर्म फर चिल्ड्रेनसहितका केही नेपाली संस्थाले मनोविमर्शको सेवा प्रदान गरिरहेका छन् ।

बालबालिकाको क्षेत्रमा काम गर्ने अरू संस्थामा भने मनोसामाजिक सेवा लगभग शून्य छ ।

(ह्युमनिटी युनाइटेडको आर्थिक सहयोगमा मिडिया फाउन्डेसनले प्रदान गरेको खोजमूलक रिपोर्टिङ फेलोसिपअन्तर्गत यो स्टोरी तयार गरिएको हो ।)