पामेला एन्डरसनको पाँचौँ बिहे १२ दिनमै टुंगियो

हलिउड अभिनेत्री पामेला एन्डरसनले विवाह गरेको १२ दिनमै सम्बन्ध तोडिएको जानकारी दिएकी छन्।

अभिनेत्री एन्डर्सन र चलचित्र निर्माता जोन पिटर्सबीच गएको जनवरी २० मा विवाह भएको थियो। ५२ वर्षकी एन्डरसन र ७४ वर्षका पिटर्सबिच मालिबुमा विशेष समारोहकाबीच विवाह भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका थिए।

तर विवाहको १२ दिनपछि आइतबार एन्डरसनले सम्बन्ध टुंगिएको बताएको उनको नजिक रहेको स्रोतलाई उद्धृत गर्दै हलिउड रिपोर्टरले जनाएको छ।

एन्डरसन र पिटर्सले विवाह गरे पनि त्यसलाई कानुनी रुप भने दिएका थिएनन्, अर्थात उनीहरुले विवाह दर्ता गरेका थिएनन्। उनीहरुको विवाहमा एन्डर्सनका दुई छोरा तथा पिटर्सका तीन छोरी र पूर्वपत्नी उपस्थित थिए।

एन्डरसनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जोन र मेरो विवाहलाई लिएर प्राप्त भएका प्रतिक्रियाहरुले मलाई अभिभूत बनाएको छ। हामी तपाईँहरुको साथबाट कृतज्ञ हुनेछौँ, किनकी केही समय हामी अलग रहने निर्णयमा पुगेका छौँ। यो समयमा हामीले जीवन र एकअर्काबाट के चाहन्छौँ भन्ने पुनर्मूल्यांकन गर्ने छौँ। जीवन यात्रा हो र प्रेम त्यसको प्रक्रिया। यो सत्यलाई दृष्टिगत गर्दै हामीले हाम्रो विवाहलाई कानुनी रुप दिने प्रक्रिया रोक्ने निर्णय गरेका छौँ। हाम्रो विश्वास सदैव यो यात्रामा प्रेमको प्रक्रियामा हुनेछ। हाम्रो गोपनीयतालाई सम्मान गर्नु भएकोमा सबैलाई धन्यबाद।’

पामेलाको यो पाँचौँ बिहे थियो। उनले यसअघि टमी ली, किड रक तथा रिक सालोमनसँग विवाह गरेकी थिइन्। रिक र पामेलाले दुईपटक बिहे गरेका थिए।

पामेला र पिटर्सले ३० वर्ष भन्दा पहिले केही समय डेट गरेका थिए। उनीहरु पछिल्लो केही महिनादेखि पुनः एकअर्कासँग नजिकिएका थिए। तर विवाह गरेको १२ दिनपछि उनीहरु फेरि छुट्टिएका हुन्।

माघ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्