विपिनको ‘सेल्फी किङ्ग’ को कथा के हो ?

काठमाडौँ-अभिनेता विपिन कार्की अभिनित चलचित्र ‘सेल्फि किङ्ग’ को पोस्टर सार्वजनिक हुँदा पोस्टरको आलोचना भएको थियो।

अमेरिकन साइकोलोजीकल थ्रिलर चलचित्र ‘जोकर’ सँग ठ्याक्कै मिल्ने, मेकअप लुक अनि आँखाबाट आँशु बगेको पोस्टर देखेपछि चलचित्रको धेरै आलोचना भयो।

तर चलचित्रका लेखक तथा निर्देशक विशाल सापकोटा भने चलचित्रको कथा अरु कुनै चलचित्रबाट साभार नभएको भन्दै अत्यन्तै मौलिकपना रहेको बताउँदै आएका थिए।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई कथा कसरी बन्यो भन्दा उनले उत्तर दिएका थिए, ‘मैले कतै पत्रिकामा पढेको कुनै व्यक्तिको जीवनसँग यो कथा केही प्रेरित छ। तर यो चलचित्र जोकरसँग मिल्दैन। चलचित्र माघ २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ। चलचित्र निर्माण टोलीले चलचित्रको कथा के हो भनेर थोरै खुलाएका छन्।

चलचित्र निर्माण टोलिका अनुसार, यो चलचित्र टेलिभिजनमा हिट भएर अस्ताउदै गरेको हाँस्य कलाकारको एक घटनालाई प्रस्तुत गरिएको छ । तिन दिनको कथामा तयार भएको भनिएको फिल्ममा सेल्फी किङ्ग अर्थात विपिन कार्की एक कार्यक्रममा पुगेर फर्किंदासम्मको कथा हो ।

कार्यक्रमकै लागि सोलुखुम्बु पुगेर त्यहाँ कार्यक्रममा सरिक भएर फर्किने कथाको क्रममा आउने उतारचढावमै फिल्म केन्द्रित छ ।

चलचित्रका दुई गीत सार्वजनिक भएका छन्, जसमा ‘जाली रुमाल’ गीतले कार्यक्रमको घटनालाई प्रष्ट्याउँछ । केकी अधिकारीसहित भीमफेदी गाइजले नृत्य गरिरहदा विपिन आफ्नो पालो कुरेर बसेका छन् ।

तर, उनको पालो आउँदा कार्यक्रम गर्न आनाकानी गरेको सार्वजनिक ट्रेलरमा प्रष्टिन्छ । त्यसपछि सार्वजनिक भएको दास्रो गीत, ‘जिन्दगीको के छ र भर’ले चलचित्रको कथालाई बोकेको निर्माण पक्षले बताएका छन्।

मन भित्र र बाहिरको दु:खसँग लडिरहेका ‘सेल्फी किङ्ग’ अर्थात विपीनले कमेडियनको भित्री पाटोलाई उजागर गरेका छन्।

एउटा कमेडियनले हसाउन स्टेज चढ्दा उसको बाहिर जिम्मेवारीसँगै मन भित्रको पीडालाई निर्देशक विशाल सापकोटाले प्रस्तुत गरेका छन्।

साथै यो चलचित्रले एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यतालाई देखाएको छ।

माघ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्