विराटनगरमा डिस्पोजेबल मास्कको अभाव

चीनमा देखिएको कोरोना भाइरसको प्रभावसँगै प्रदेश एकको राजधानी विराटनगरमा डिस्पोजेवल फेस मास्कको अभाव उत्पन्न भएको छ।

औषधोउपचार, रुघाखोकी तथा धुलोबाट जोगिन मास्कको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिने गरेका छन्।

सोही डिस्पोजेवल मास्क केही दिनयता विराटनगरका औषधी पसलमा शून्य अवस्थामा छ। नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले औषधीका ठूला विक्रेताहरुले चीनबाट आयात गर्ने मास्क हाल विराटनगरमा अभाव भएको बताए।

ढकालका अनुसार केही दिन अघिसम्म बजारमा सहज उपलब्ध मास्कको कृतिम अभाव भएको छ। चीनबाट नै नेपाल भित्रिने मास्क हाल काठमाडौंबाट चीनतर्फ नै लैजाने गरेको र कोरोना भाइरस संक्रमणका कारण चीनमै खपत हुने गरेको छ।

अर्कोतर्फ वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलले भने, ‘अहिले यता आत्तिने अवस्था छैन, तर पनि हामीले सफा र साबुन पानीले नै हातगोडा धुनुपर्नेमा ध्यान दिन आवश्यक छ।’

बजारमा देखिएको मास्कको कृतिम अभावबारे डा. सिग्देलले भने,  ‘भाइरस छेक्ने मास्कका रुपमा त्यसलाई लिन सकिँदैन। त्यसले सामान्य रुखाखोकी तथा धुलोबाट जोगिन सहयोग मात्र गर्छ।’

कुनै पनि संक्रमणबाट जोगिन सकभर भीडभाडमा उपस्थित नहुनेमा जोड दिएका डा. सिग्देल भन्छन्,  ‘यसमा अस्पतालका कर्मचारीहरुले ध्यान दिने हो। तर बजारमा उपलब्ध मास्कले नै संक्रमण रोक्छ भन्ने होइन।’

विराटनगर ट्राफिक चोकस्थित तुलसी मेडिकोका सञ्चालक रजक दासले मास्कको सन्दर्भमा थाहै नपाई अभाव भएको बताए।

महिनामा ५ प्याकेट मास्क बिक्री हुँदै आएको बताएका रजकले केही दिनयता एकैपटक २० देखि ४० प्याकेट बिक्री भएको जानकारी दिए। हाल उनले पसलमा मास्क खरिद गर्नेलाई सीमित रुपमा ५/६ वटा बिक्री गर्दै आएको बताए।

चीनबाटै नेपाल भित्रिने डिस्पोजेवल मास्कको एउटा प्याकेटमा २ सय वटा हुन्छन् भने खुद्रामा प्रति गोटा पाँच रुपैयामा बिक्री हुँदै आइरहेको थियो।

माघ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्