कविता

अन्तिम सास रहुञ्जेल लडिरहनेछु तिमीविरुद्ध

तिम्रा हेपाइको विपक्षमा
बोलिरहनेछु
तिम्रा कुत्सित विचारप्रति
प्रश्न सोध्न पाउने
अधिकारको पक्षमा
चिच्याइरहनेछु म
निरन्तर।

तिम्रा अहम् र मूर्खतामा
हाँसिरहनेछु
तिम्रा अत्याचारविरुद्ध
आवाज बुलन्द पार्ने
चाहनाको पक्षमा
बोलिरहनेछु म
निरन्तर।

हिम्मत छ भने आऊ
या पठाउ तिम्रा अरिँगाललाई
हत्कडी र नेल लगाई
थुन मलाई कालकोठरीमा
स्वतन्त्रताको पक्षमा
हुङ्कारिरहनेछु म
निरन्तर।

हरेक थिचाइमा जुर्मुराउनेछु
तिरस्कार तिम्रा हरेक
प्रतिकार गर्नेछु
तिम्रा हरेक बन्देज
अनि विभेदप्रति
आवाज बुलन्द पार्नेछु म
निरन्तर।

सुन तिमी, कान खोलेर सुन
म डराउने छैन
डगमगाउने छैन
तिम्रा हरेक असङ्गत
निर्णयका खिलाफ
आवाज उठाइरहनेछु म
निरन्तर।

जबसम्म सच्चिदैनन्
यी जालझेल र कपटहरु
इन्कलाब आउँदैन जबसम्म
अन्तिम सास रहुञ्जेल
लडिरहनेछु
तिमीविरुद्ध यो युद्ध म
निरन्तर।

माघ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्