हक्कीमा वागमती, आर्मी र प्रदेश–५ विजयी

नेपाल आर्मी र सुदूरपश्चिम भिड्दै।

मोरङ– विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा नेपाल आर्मी, प्रदेश–५ र वागमती प्रदेश विजयी भएका छन्।

सहिद मैदानमा मंगलबारको पहिलो खेलमा प्रदेश–५ ले प्रदेश–२ लाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गरेको छ। प्रदेश –५ का लागि प्लेयर अफ द म्याच अमन कुमारले खेलको ८ औं र ५४ औं मिनेटमा गोल गरेका थिए।

त्यसैगरि, मैदानमा विपक्षीमाथि दबाव बनाउँदै खेलको २० र ४८ औं मिनेटमा प्रदेश–५ का लागि राजन कुमार गोल गरेका थिए। एकपछि अर्को गोल गर्दै हावी भएको प्रदेश–५ का लागि खेलको ३४ र ३९ औं मिनेटमा मनिष गुरुङले गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरेका थिए।

त्यसैगरी, दोस्रो खेलमा वागमती प्रदेशले प्रदेश–१ लाई २–० गोलले स्तब्ध बनाएको छ। वागमतीका समिर घिमिरेले खेलको ५३ औं मिनेटमा गोल गरे गरेका थिए। खेलको अन्तिम दुई मिनेट मैदानमा सम्हालिन नसक्दा प्रदेश–१ ले अर्को गोल आत्मसात गरेको थियो। मैदानमा दबाब बनाउँदै म्यान अप द म्याच सुरज घर्ती मगरले खेलको ५८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाएका थिए।

त्यस्तै तेस्रो खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई ४–० गोलले पराजित गरेको छ। आर्मीका दीपेन्द्र ऐरले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ४२ र ४६ औं मिनेटमा रोमन रानाले गोल गरे भने ५८ औं मिनेटमा नरेन्द्र कार्कीले गर्दै टोलीलाई जित दिलाए। खेलको म्यान अफ द म्याच रोमन राना भए।

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ। विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, वागमती प्रदेश, प्रदेश–१, गण्डकी प्रदेश, प्रदेश–५ र प्रदेश–२ ले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रो हुनेले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन्। त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउनेछन्।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल वागमती प्रदेश र नेपाल आर्मी, दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश–२ तथा तेस्रो खेल सुदूरपश्चिम प्रदेश र प्रदेश–१ बीच हुनेछ।

माघ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्