लेसोथोमा प्रधानमन्त्री पत्नीमाथि सौताको हत्या गरेको अभियोग

दक्षिण अफ्रिकी देश लेसोथोकी प्रथम महिलामाथि हत्या अभियोग लागेको छ । लेसोथोका प्रधानमन्त्री थोमस थाबानेकी श्रीमती मेसाहिया थाबानेले प्रधानमन्त्री थोमसकी पूर्व पत्नीको हत्या गरेको अभियोग लागेको हो ।

प्रहरीले हत्या अभियोगका सम्बन्धमा प्रहरीले प्रथम महिला मेसाहियासँग सोधपुछ गरेको छ । प्रधानमन्त्री थोमससँग पनि हत्याका सम्बन्धमा प्रश्न सोधिएका छन् । प्रधानमन्त्री थोमसकी पूर्व पत्नी लिपोलेलो थाबानेको सन् २०१७ मा उनको घर बाहिर हत्या भएको थियो ।

प्रधानमन्त्री थोमसको शपथको दुई दिन पहिले लिपोलेलोको हत्या भएको हो । त्यसबेला उनीहरुको सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो र त्यो अति आरोपप्रत्यारोप युक्त बनेको थियो । सुरुमा अज्ञात व्यक्तिले लिपोलेलोमाथि गोली प्रहार गरेको बताइएको थियो ।

तर अदालतमा पछिल्लो समय पेश भएका कागजातले शंका प्रधानमन्त्री पत्नी तर्फ सोझिएको हो । ४२ वर्षकी प्रथम महिला मेसाहियाविरुद्ध जनवरी १० मा पक्राउ पूर्जी जारी भएको थियो । उनलाई मंगलबार दक्षिण अफ्रिकासँगको सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ ।

माघ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्