ट्रम्पको ‘द स्टेट अफ द युनियन’ सम्बोधन

न्यान्सी पेलोसीलाई बेवास्ता गरेका ट्रम्पको दाबी, ‘ग्रेट अमेरिकन कमब्याक’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘द स्टेट अफ द युनियन’ सम्बोधनको क्रममा अमेरिका बलियो अवस्थामा फर्किएको दाबी गरेका छन् ।

कंग्रेसमा वार्षिक रुपमा हुने सम्बोधनको क्रममा राष्ट्रपति ट्रम्पले ‘ग्रेट अमेरिकन कमब्याक’ आफ्नो नेतृत्वमा प्राप्त सफलता रहेको बताएका हुन्।

सम्बोधनको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिका र अमेरिकीका लागि अधिक सम्भावना तथा विकल्पहरु सिर्जना हुँदै गएको दाबी गरे ।

आउँदो चार वर्षका लागि अर्थात दोस्रो कार्यकालका लागि चुनावी अभियानमा रहेका ट्रम्पले नेपाली समय अनुसार बुधबार बिहानको सम्बोधनलाई मतदातालाई आफू तर्फ आकर्षित गर्ने प्रयास गरे । आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्प नै उम्मेदवार बन्दै छन् ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना छन् । उम्मेदवार छान्ने प्रक्रियाको सुरुवाति चरणमा सोमबार भएको आयोवा ककसमा पिट् बुटजज र बर्नी सान्डर्स अघि देखिएका छन् । त्यसपछि सिनेटर एलिजाबेथ वारेन तथा पूर्व उपराष्ट्रपति जो बाइडेन देखिए ।

शक्तिको दुरुपयोग तथा कंग्रेसको काममा अवरोध गरेको आरोपमा महाअभियोगका सामना गरिरहेका राष्ट्रपति ट्रम्पले वार्षिक सम्बोधनमा आफ्नो कार्यकालमा अमेरिकी अर्थ व्यवस्था बलियो बनेको बताए । यस्तै बेरोजगारी दर अति कम भएको र गरिबी घटेको तथ्यांक प्रस्तुत गरेर ट्रम्पले आफ्नो पक्ष बलियो रुपमा राखेका छन् ।

यस्तै अमेरिका विगतको तुलनामा अधिक सुरक्षित बनेको दाबी पनि गरेका छन् । ट्रम्पमाथिको महाअभियोगमा अमेरिकी सदनको माथिल्लो सदन सिनेटमा बिहीबार मतदान हुँदैछ । रिपब्लिकनको बहुमत रहेको सिनेटमा ट्रम्पमाथिको महाअभियोग विफल हुने लगभग निश्चित छ ।

महाअभियोग प्रक्रियामा प्रमुख भूमिका निर्वाह गरेकी शीर्ष डेमोक्र्याट नेत्री तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको उपस्थितिमा ट्रम्पले वार्षिक सम्बोधन गरेका हुन् । पेलोसी र ट्रम्पबिच पछिल्लो केही महिनायता बोलचाल भएको छैन ।

गएको डिसेम्बरमा आफूमाथि औपचारिक रुपमा महाअभियोग लगाउने निर्णय गरेको तल्लो सदनमै ट्रम्पले वार्षिक सम्बोधन गरेका हुन् ।

सम्बोधनको क्रममा ट्रम्पले आफ्नो कार्यकालमा भएका उपलब्धीहरुको हरेक ब्रिफिङ गर्दा रिपब्लिकनहरुले ताली बजाएका थिए । लगातार चुप बसेकी सभामुख पेलोसीले केही पटक भने उठेर ताली बजाइन् ।

वार्षिक सम्बोधनको क्रममा ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलश मदुरोको आलोचना गरेर र अमेरिकासहितका देशले राष्ट्रपतिको मान्यता प्रदान गरेका ख्वान गुएडोको प्रशंसा गरे । गुएडो अमेरिकी सदनमा उपस्थित थिए । गुएडोको प्रशंसा गर्दा पेलोसीले पनि उठेर ताली बजाएकी हुन् ।

ट्रम्पले स्वास्थ्य सेवामा समाजवादीको आक्रमण बढ्दै गएको र त्यसलाई कुनै पनि हालतमा आकार लिन नदिने दाबी गरे । राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेका डेमोक्र्याटिक नेता बर्नी सान्डर्स तथा एलिजाबेथ वारेनको स्वास्थ्य बिमा योजनालाई समाजवादी अवधारणाको रहेको छ ।

पेलोसीलाई बेवास्ता

राष्ट्रपति ट्रम्पले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई बेवास्ता गरेको देखियो । सम्बोधनका लागि पोडियममा जाने क्रममा अधिकांश नेतासँग हात मिलाएका ट्रम्पले पेलोसीसँग हात मिलाएनन् ।

पेलोसीले हात अघि बढाए पनि ट्रम्पले बेवास्ता गरेका हुन् । सदनकी सभामुख पेलोसी ट्रम्पले सम्बोधन गर्ने ड्यासको ठीक पछाडि बसेकी थिइन् ।

सम्बोधन सकिए लगत्तै पेलोसीले राष्ट्रपति ट्रम्पले गरेको सम्बोधनको कपी च्यातेकी थिइन्।

माघ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्