मन अत्तालिएला तर मसँग योबाहेक अरु जवाफ पनि छैन

सन् २०१७ की मिस नेपाल वर्ल्ड निकिता चण्डक। तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

म अहिले छिनछिनमा फरकफरक अनुभूति गरिरहेकी छु। कहिले एकदमै नर्भस छु, कहिले खुशी। चलचित्र ‘साङ्लो’को पहिलो गीत ‘चरीले काफल टिप्यो’ प्रदर्शन हुनुअगाडि म दुई दिन निदाउन सकिनँ। घरि टाउको दुख्छ, घरि पेट। घरि हाँस्न मन लाग्छ, घरि रुन।

म यस्तो पहिलोपटक अनुभूत गरिरहेकी थिएँ। मिस नेपाल २०१७ को बेलामा पनि मलाई यस्तो भएको थिएन। म बुझ्न सक्छु–म त्यो कुराको ख्याल राख्छु, धेरै लामो समयपछि मैले आफ्नो नायिका हुने सपना पूरा हुँदै थियो।

गीतमा नायिकाको भूमिकाको कुरा गर्ने हो नायकको भन्दा धेरै हुन्छ। त्यसमा पनि डेब्यू नायिका भएपछि हामीले धेरै कुराहरु ख्याल गर्नुपर्ने हुने रहेछ। कस्तो समीक्षा आउँछ भनेर म धेरै नै उत्साहित थिए।

धन्न राम्रो आयो,

गीतमा नाचेको, मेरो अनुहारको भावलाई दर्शकले स्वीकार गर्नुभयो।

मिस नेपाल अनि मिस वर्ल्ड प्रतियोगीतामा सहभागी हुँदाको समयमा पनि मलाई यस्ता अनुभूति भएन। त्यसपछि चलचित्रको ट्रेलर अनि दोस्रो गीत प्रदर्शनमा आउँदा म सामान्य छु।

म आफैँले तुलना गरेँ, किन यस्तो ?

मैले ७–८ वर्ष अगाडि देखेको सपना, रहर अभिलाषा पूरा हुँदै थियो। मलाई थाहा छ म यसप्रति जिम्मेवार थिएँ, प्रतिबद्ध थिएँ र छु।

करियर नै यही भनेर रोजेपछि म यो ठाउँमा कसरी उपस्थित छु भन्ने कुराले महत्व राख्छ। पहिलोपल्ट गीत प्रदर्शन हुनु मेरो लागि सबथोक थियो। किनकि यो यात्रा सजिलै तय भएको होइन।

अपेक्षा र वास्तविकताबीच धेरै अन्तर हुन्छ। त्यसमाथि एक किसिमको पहिचान भएपछि आफूलाई हेर्ने नजरिया धेरै प्रकारका हुन्छन्। सबैको वास्ता गरेर सकिँदैन तर केहीलाई बेवास्ता गर्न पनि सकिँदैन।

मिस नेपालको यात्रा मेरो लागि एउटा कक्षा थियो, जसले मलाई धेरै कुरा सिकाएको छ। सबैभन्दा महत्वपूर्ण भनेको मलाई दयालु बनायो। यसले हरेक कुराको सकारात्मक पाटो र सकारात्मक सोच बनाउन सिकायो।

तर, मैले अभिनेत्री हुने सपना सानैबाट पालेकी थिएँ, मिस नेपाल २०१८ भएपछि मैले मेरो लक्ष्य पूरा गर्ने बाटो खोज्न थालेँ। ‘रानीमहल’ चलचित्रमा साइन गरेपछि मेरो ९ कक्षामा हुँदा अंकुराएको लक्ष्य पूरा हुने झिनो आशा पलाएको थियो तर त्यो पूरा हुन सकेन।

यो समय अप्रत्याशित छ। मेरो जीवनमा जे भइरहेछन् मैले कहिले पनि योजना बनाएकी थिइन। मिस नेपाल मेरो लागि योजनाबद्ध लक्ष्य थिएन। अब यो अवसर आयो, मेरो साथी र परिवारको प्रेरणाले म त्यो ठाउँमा पुगेँ । कलेज ड्रपआउट भएपछि मैले गर्ने केही काम त्यो बेलामा थिएन। र मिस नेपाल नभएको भए म सायद यो अवसरको लागि संघर्ष गरिरहेको हुन्थे। त्यसपछि लगत्तै म नायिका हुन्छु भन्ने योजना थिएन। तर मेरो लागि यो आफूलाई प्रस्तुत गर्ने माध्यम बन्यो।

सानो हुँदा ‘भविष्यमा के बन्ने ?’ भनेर सोध्दा, मैले सामान्य जवाफ थियो, ‘डाक्टर।’

स्कुलमा सोध्दा धेरैले आफ्नो भविष्यको बारेमा बताउने यही हो। परिवार खुशी थिए, घरमा एक जना भए पनि मेडिकल क्षेत्रमा लाग्ने भए। मेरो पढाइ राम्रो थियो। तर जब म ‘९ औँ स्ट्यान्डर्ड’ मा पुगेँ, मेरो जीवनको लक्ष्य मोडियो।

एउटा गीति नाटक भएको थियो, म अन्तिम समयमा त्यो टोलीमा परेकी थिएँ। मलाई अगाडि के हुन्छ थाहा थिएन। तर त्यो अवसरले मैले आफूलाई अभिनय अनि यो कलात्मक क्षेत्रमा रुचि भएको थाहा पाएँ।

मैले जब चलचित्र साइन गरेँ, धेरैले मिस नेपाल भएपछि हिरोइन बन्न लागेको भनी प्रतिक्रिया दिएका छन्, तर जसले मलाई मिस नेपालको अडिसनको बेलादेखि पछ्याउनु भएको छ, उहाँलाई थाहा छ यो मिस नेपाल भइसकेपछिको निर्णय थिएन।

मिस नेपाल बनेपछि मैले म सामाजिक अधिकारकर्मी नै बनेर हिँड्छु भन्ने कहिलेपनि थिएन। धेरै पूर्व मिस नेपालको इतिहास हेर्ने हो भने पनि सबै एकै बाटोमा हिँड्नुभएको छैन। हामी जब शिरमा मिस नेपालको ताज लगाउँछाैँ, २० वर्षको उमेर भर्खर काटेका हुन्छौँ। यही बेला भविष्यमा के हुन्छ भनेर यकिनका साथ भन्न सकिन्न।

जीवनमा के बन्ने भनी जान्नु ठूलो कुरा हो, मिस नेपालको स्टेजले त्यो बाटो पहिल्याउन सहयोग गर्छ। हामीलाई कहिले पनि आफ्नो इच्छा मार्नुपर्छ भनिएको छैन।

मिस नेपालले सिकाएको अर्को महत्वपूर्ण कुरा भनेको अरुको लागि आफू हुनु हो। सामाजिक सेवा गर्नु र सामाजिक अभियन्ता बन्नु भएको सामाजिक व्यक्ति बन्नु हो। म अर्को क्षेत्रबाट केही सहयोग गर्न चाहन्छु। म जे कुरामा पक्का छैन, त्यो कसरी गर्न सक्छु! म अभिनेत्री बन्न चाहन्थेँ र त्यही गर्छु।

आफू खुशी भएर अरुलाई मद्दत गर्नु भन्दा उत्तम अरु के हुन सक्ला र!

अधिकारकर्मी हुनु र परोपकारी हुनु फरक विषय छन्, म परोपकारी हुन चाहन्छु।

मोरङमा म हुर्कँदै गर्दा मैले चलचित्र, कलाकार देखेको थिएँ। मलाई लाग्थ्यो, कलाकार टिभी भित्र हुन्छन्। खिचेर टेलिकास्ट गर्छन् भन्ने थाहा थिएन तर मलाई त्यो टेलिभिजन भित्र पस्ने मन भने थियो।

पहिलोपल्ट चलचित्र हेरेको चाहिँ याद छैन तर मेरो दिदी करिना कपूरको फ्यान हुन्। ‘कभी खुसी कभी गम’ चलचित्रमा करिनाको ‘पू’ पात्र धेरै याद छ। उनले पनि मलाई केही सिकाएकी होलिन्।

अहिले म सबै कलाकारसँग केही सिकिरहेकी छु। तर प्रस्तुतिको आधारमा भन्ने हो भने मलाई भारतीय अभिनेत्री ‘आलिया भट्ट ’ मन पर्छ। जसरी मेहनतका साथ आलियाले गर्छिन्, म उनीबाट प्रेरणा लिन चाहन्छु।

साङ्लोमा काम गर्ने अवसर मसँग आइपुग्दा मेरा दिमाग खाली थियो। अनि मैले अपेक्षा राख्ने केही पनि ठाउँ थिएन। किनभने यो भन्दा अगाडि मैले साइन गरेको चलचित्र ‘रानीमहल’ अगाडि बढ्न सकेन। मलाई यो चलचित्र नबन्ने भएपछि अब के हुन्छ जस्तो लाग्यो। मन टुक्रिएको थियो। मलाई अहिले जे भयो राम्रै भयो जस्तो पनि लाग्छ।

त्यसैले ‘साङ्लो’ म गर्छु तर धेरै आशा गर्दिन भनेर लागेको छु। मलाई आशा छ दर्शकले मलाई मन पराउनुहुन्छ।

मिस नेपाल भएपछि सामाजिक मुद्दाको विषयमा किन चलचित्र नगरेको भनेर धेरै प्रश्नहरु आउछन्। मैले उहाँहरुलाई बुझाउने कुरा हैन। किनभने, मेरो बाबा निर्माता, निर्देशक, लेखक हैन, मेरो परिवारको कुनै चलचित्र क्षेत्रको इतिहास छैन। अपेक्षा हुन्छ तर सधैँ हामीले चाहेको चिज हुँदैन। किनभने तपाईलाई कामको प्रस्ताव राख्ने, लेख्ने अरु कोही नै हुन्छ। अहिले मलाई अवसर चाहिएको छ। सामाजिक अभियन्ताको भूमिकाको लागि धेरै कुराको अनुभव हुन जरुरी छ। अनि म डेब्यु गर्दै गरेको कलाकारलाई कसले सुरुमै विश्वास गर्छ त?

आशा गरौँ, पछि भविष्यमा मलाई यो अवसर मिल्ला। त्यसैले अहिले कलाकारको रुपमा मैले अनि दर्शकले पनि सामाजिक अभियन्ताको भूमिकामा मलाई देख्न सपना पाल्न चाँडै छ।

हो, अहिले मेरो सपना पूरा हुन लागेको छ। मैले अगाडि पनि भनिसकेको छु, मैले योजना बनाएको जसरी जीवन चलेको छैन। मेरा योजना सिधा बाटो हिँडेका हुन्छन् म यो गर्छु, त्यो गर्छु। तर हिँड्दा हिँड्दै गोलो भएर कहिँ न कहिँ गोलो बाटोमा पुगिन्छ। सिक्दै गरिन्छ र आफूबाट भएका गल्तीबाट पनि सिकेको छु। यसले मलाई आज पनि ‘म’ हुनलाई सहयोग गरिरहेको छ, यसमा म गर्व गर्छु। मैले गरेको गल्तीलाई अपनाउँछु, र सिक्दै अगाडि बढ्छु। सपना भनेको पछि नेपालको राम्रो कलाकारको रुपमा चिनिन चाहन्छु।

यो क्षेत्रमा विभिन्न कुराहरु छन्। कहिलेकाहिँ बेअर्थका कुराकानी पनि हुने गरेका छन्। जस्तो म कस्तो देखिन्छु, मेरो रुप कस्तो छ, रंग कस्तो छ। म कस्तो हुनुपर्थ्यो। बोल्नु अगाडि त्यसले के प्रभाव पार्छ त भन्ने कुरा बिर्सिएको जस्तो लाग्छ। तपाईँले बोल्दा कसैलाई नराम्रो लाग्छ भन्ने सोचिन्न। यहाँ मात्र बोलिन्छ, सुन्निछ अनि जवाफ फर्काइन्छ।

यसबाट मलाई कहिलेकाहिँ कमजोर महशुस हुन्छ। मलाई राम्ररी थाहा छ, ठूलो हुँदै आएपछि हातमा गन्न मिल्ने साथी र आफन्त हुन्छन्, जसलाई आफूलाई परेको समस्या भन्न सकिन्छ। मेरो परिवारले मलाई सधैँ मलाई सहयोग गरेको छ। उहाँहरुले मलाई कहिले पनि यो काम अब नगर भन्नु भन्दा पनि त्यसको सामना गर्न सिकाउनुहुन्छ। त्यसैले म हच्किन्न।

भोलि जे हुन्छ, म त्यसको लागि तयार छु, यो बाटोमा जे जे आइपर्छ म सामना गर्न तयार छु। हुन त संघर्ष अझ धेरै बाँकी छन्, र मैले गर्नु पनि धेरै बाँकी छ। मन अत्तालिएला, सुकसुकाउन मन लाग्ला तर मनैबाट यही गर्छु भनेपछि जसरी पनि गर्छु। किनकी कसैले मलाई ‘कलाकार भइनस् भनी के बन्छेस् ?’ भनेर सोध्नुभयो भने मसँग जवाफ छैन।

 

पूरा अन्तर्वार्ता हेर्नुहोस्:

प्रस्तुतिः सुजाता खत्री

माघ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्