सेल्फी किङ विपीन कार्कीसँग जीवन संवाद

‘मलाई बुवाले गन्न थाल्नुभएको बल्ल दुई वर्ष भयो’

गुन्द्रुके कपाल घाँटीसम्म आइपुगेको थियो। कालो क्याप अनि फिक्का रंगको हरियो ज्याकेट लगाएका थिए। चश्माबाट उनका ठूला ठूला आँखा टड्कारै देखिन्थे। चोरऔँला र माझीऔँलाको बिचमा च्यापिएको चुरोट उनले मुखमा जोडे, स्वाट्ट पारे। मुखभरि धुँवा भरे अनि आकाशतिर फर्केर फु.. पारे। धुँवा बिस्तारै बिलायो।

‘किङ वे’ को बार्दलीमा भेट्दा विपीन कार्की नाटकका पात्र जस्तै देखिन्थे। दारी फालेका थिएनन्, अनुहार चिल्लो देखाउन कुनै सौन्दर्य सामग्री लगाइएको थिएन। उनी अति ‘सिम्पल’ थिए।

कपाल किन नकाटेको?

‘म अर्को चलचित्रको लागि सोचिरहेको छु। पात्र मनमनै बुन्दै छु। त्यसको लागि मैले कतै प्रयोग गर्न सक्छु कि।’

‘कपाल पालेर पहिला कहिले पनि अभिनय गरेको थिइन। कपाल झरिपनि सकेको छ। काटिहाल्नुपर्ने आवश्यकता छैन।’

उनी कुर्दैछन्, त्यस्तै पात्र आयो भने काम लाग्छ ।

‘कपाल छोटो भएको पात्र पाए भने ठीकै छ काटौँला, लामो कपाल भएको पात्र चाहिए फाल्नु भन्दा रहिरहोस्।’

हुन त प्राय छोटा कपालमा देखिने केटाहरुलाई एकपल्ट लामो कपाल पाल्ने रहर त हुन्छ नै। विपीनलाई पनि कलेज पढ्ने बेलामा यो रहरले छोएको थियो। तर त्यो बेलामा कुनै पात्र विशेषको लागि तयारी थिएन।

कपाल जस्तो भएपनि लामो बनाउने झोँक चलेकै हो, ‘मेरो आमाको कपाल यस्तो घुमाउरो छ, मलाई उहाँको गुण सरेको होला।’

माघ २४ देखि देशभर प्रदर्शनमा आउँदैछ, चलचित्र ‘सेल्फी किङ’। यसमा कलाकारलाई हेरिने बाहिरी दृष्टिकोण र कलाकारको भित्री मर्मलाई देखाउन खोजिएको छ। चलचित्रका मुख्य पात्र विपीनले यो चलचित्र केही हदसम्म आफ्नो जीवनसँग सम्बन्धित भएको बताए।

‘मेरो आमालाई केही स्वास्थ्य समस्या छ, उहाँ बिराटनगरबाट उपचारको लागि काठमाडौँ आउनु भएको छ। उपचार चल्दै छ, बल्खुमा अर्जून कार्की दाईको घरमा बस्नु भएको छ,’ विपीनले भने, ‘दशैँपछि बाबा आमा यतै हुनुहुन्छ, तर पछि उहाँहरु विराटनगर नै जानुहुन्छ।’

‘सेल्फी किङ’ चलचित्रको ट्रेलरमा कलाकार बन्न हिँडेको छोराले परिवारमा समय दिन भ्याएको छैन। यता विपीन आफूले घर छोडेको समय सम्झन्छन्, ‘म एसएलसीपछि नै घरबाट पढ्न भनेर काठमाडौँ आएको हुँ, कलेजमा बिदाको समयमा परिवारसँग हुन्थे नत्र यहीँ। २०५६ सालदेखि म परिवारसँग बसेको छैन।’

रत्नराज्य क्याम्पसमा स्नातक पढ्दै गर्दा ‘ड्रामा’ पढ्नु पर्थ्यो। नाटक पढेको भन्दा नाटक हेर्दा बुझिन्थ्यो। कमलमणि नेपाल बिराटनगरमा उनको छिमेकी दाइ हुन्, उनले गुरुकुलमा नयाँ नाटक हेर्न निम्त्याउँथे। ‘अ डल्स हाउस’ नाटक पढेको केही बुझिएन तर हेर्दा छर्लङ्ग’, विपीन भन्छन्, ‘हेर्दाहेर्दै काम गर्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो, सबै चिनेकै थिएँ, म काम पनि सघाइदिन्थेँ। सानातिना रोल हुँदा मलाई सम्झन थाल्नुभयो। मलाई गुरुकुलमा चाहिँ शुशिल पोख्रेल सरले चान्स दिनुभएको हो।’

विपीनले सडक नाटकबाट व्यावसायिक अभिनय यात्रा सुरु गरेका हुन्। २०६५ सालमा चुनावको जनचेतनासम्बन्धि नाटक थियो, ५५ ठाउँमा प्रस्तुति दिनुपर्थ्यो। दुई टोली गरेर काम गर्दा कलाकारको सङ्ख्या पुगेन, अनि उनलाई अफर आयो। सामान्य अडिसन भयो, उनी छानिए।

पाँच सात दिन नियमित प्रदर्शन भयो, विपीनले काम गरेबापत पैसा पनि पाए। यसले उनलाई अझै काम गर्न हौसायो। उनले रहरलाई काम बनाउन थाले।

त्योभन्दा अगाडि विपीनले रक्सीको मार्केटिङको काम गर्थे, रेडियो अडियोमा मार्केटिङ गरे।

‘टिक्नु त पर्‍यो, मैले कलाकार नै हुनुपर्छ म भनेर थाहा पाएपछि यी काम गरेको हुँ,’ विपीनले भने, ‘गुरुकुलमा नियमित काम हुन थालेपछि सबै छोडेँ र यतै केन्द्रित भएँ।’

नाटक क्षेत्रमा काम गर्दा यो क्षेत्रमा भएका उतार चढाव देखेका थिए, एक्लो हुँदा ठीक छ तर सधैँ यसरी चल्दैन भन्ने उनलाई राम्ररी थाहा थियो। चलचित्र सेल्फी किङमा पात्र बुवाले भन्छन्, ‘सधैँ रमाइलो गरेर मात्रै हिँड्ने हो? जिम्मेवार कहिले हुने ?’

यही डाइलग वास्तविक जीवनमा विपीनले आफ्नै बुबाबाट पाइसकेका छन्। नाँच्ने, स्टेजमा प्रस्तुति दिनेलाई घरमा रमाइलो भनेर बुझिन्थ्यो।

गुरुकुलमा फुर्क्याउन थालेका थिए, राम्रो काम गर्छस् भनेर। त्यतिबेला कार्की ‘यही काम गर्छु’ भन्नेमा निश्चिन्त थिए, धेरै मेहनत गर्नुपर्छ भन्नेमा पक्का। बरु चलचित्रमा काम गर्ने सोच उनको थिएन।

तर प्रशान्त रसाइलीले निर्माण गरेको चलचित्र ‘आचार्य’बाट उनको नेपाली चलचित्रमा डेब्यू भयो, अनि निश्चल बस्नेतको ‘लूट’ हुँदै ‘छड्के’सम्म आइपुगे। ‘छड्के’ को ‘बिन्दु’ पात्रले उनलाई रंगमञ्चमा मात्र हैन, नेपाली रजटपटमा पनि चिनायो। उनलाई कामको अफर आउन थाल्यो,

‘पशुपति प्रसाद’ को ‘भष्मे डन’ बनिसकेपछि भने उनलाई धेरै भन्दा धेरै दर्शकले चिने।

अनि विपीनले कामदेखि नामको लागि संघर्ष गर्नुपरेन। चलचित्र निर्माण टोलीदेखि दर्शक सबैमाझ परिचित भइसकेपछि उनले झनै मेहनत गरे,

उनको मेहनत ‘जात्रा, प्रसाद, गोपी, हरि’ लगायतका चलचित्र प्रदर्शनपछि आउने प्रतिक्रियाले प्रमाणित गर्दै जान्छ।

हरेक चलचित्रमा फरक भूमिका निर्वाह गरेर फरक पहिचान बनाएका विपीन जति पात्रमा खरो देखिन्छन्, वास्तविक जीवनमा त्यति सरल र शान्त। कम बोल्ने, कम हाँस्ने उनको बानी छ। तर भन्छन्, मान्छे अनुसार, ठाउँ अनुसार व्यवहार हुन्छ। ‘म मिडियामा कम बोल्छु चिनेको साथी सर्कलमा धेरै। म मेरो हँसाउने क्यारेक्टर फ्याट्टै देखाइहाल्दिन।’

चलचित्रको ट्रेलरकै कुरा गरौँ, ‘आमाको भूमिकामा भुवन चन्दले आफ्नो छोरालई समर्थन गरेकी छन्, ‘आफ्नो छोरालाई टिभीमा हेर्न पाउँछु भने म जत्ति नि हेर्छु।’ आमालाई बाबुभन्दा दयालु देखाइएको छ।

विपीन भन्छन्, ‘सायद आमाहरु यस्तै नै हुन्छन् होला। बच्चाको चिन्ता हुन्छ धेरै, तर छोराछोरीको खुसीको लागि जिद्दीपनलाई स्थान दिइदिन्छन्। बुबालाई पनि चिन्ता धेरै थियो। आमाको ‘आमा मन’ ले नराम्रो देखेन। बुवाहरुले कराउँदा छेकिदिने गर्नुहुन्थ्यो, ‘यत्रो समय यसमै खर्च गरिसक्यो, अब गरोस् न त !’ भनेर बुझिदिनुहुन्थ्यो। बाबाले बुझ्नुहुन्थेन।’

विपीनका अनुसार उनको काम बाबाको बुझाइमा ‘अरु काम गर्न अल्छी लाग्छ, अहिले घुम्न, नाँच्न पाइरहेको छ। अगाडि केही हुने हैन’ थियो।

‘बाबाले भेट्ने बित्तिकै ‘के हो ताल ? सधैँ यत्तिकै हिड्ने हो ? भनेर सोध्ने गर्नुहुन्थ्यो म कुरै सुन्ने थिइन, कतिपल्ट म बाबाको अगाडि पर्न नै मन लाग्थेन।’ विपीन भन्छन्, ‘मलाई बाबाले पत्याउन थाल्नुभएको २ वर्षजतिमात्रै भयो।’

जब जात्रा प्रदर्शन भयो, तब विपीनको बाबाले अभिनयलाई नै पेशा बनाएर लैजान सकिने रहेछ भनेर विश्वास गरे। अहिले ‘राम्रो काम गर’ भनेर भन्न थालेका छन्, यसलाई धेरै फुर्सद हुँदैन भनेर बुझ्न थालेका छन्।

विपीन आफूलाई परिवारबाट यस्तो अविश्वास हुनुमा ‘दाइ’ कारण मान्छन्। ‘म थाहै नपाई दाइसँग प्रेरित भएको हो। एक समय एक्सन मुभिमा काम गरेर नाम कमाएका दाइले परिवारमा यो पेशालाई दिर्घकालीन रुपमा लैजान सकिँदैन भन्ने छाप पारेका छन्। बाले मेरो पनि त्यही हालत होला भनेर सोच्नुभयो क्या रे,’ उनी भन्छन्, ‘नत्र एउटा दुईओटा नाटक पछि म बाहिर देश जान थालेपछि उहाँहरु खुसी हुन पर्ने हो। मैले घरमा नयाँ काम गरेको थिइन। दाइको कारणले जति गरेपनि यस्तै त हो भन्ने भान भयो।’

तर, विपिनले यस्सै छोडेनन् र अटेरी गर्न थाले, अगाडि आमाहरुलाई भुलाउन थाले, तर भित्रभित्रै यही नै गर्ने हो भनेर अठोट गरे।

विपीनलाई दाइले गर्दा पनि घरमा विश्वास भएन, विपीनको कामलाई सिरियसली लिने थिएनन्। ‘बुवाहरु आफ्नो खुसी देखाइहाल्नु हुन्थेन। बुबाहरुलाई छोराले अझै धेरै गरोस्, जिम्मेवार भइदियोस् भन्ने हुन्छ,’ विपीन भन्छन्, ‘अहिले म आफैँ बाबु भएपछि थाहा पाएको छु।’

विपीनले छोरी ब्राह्मी अंगालोमा आइसकेपछि बाबुका केही गहिरा भावना अनुभूत गरेका छन्। ‘उनको बारेमा सोचिदिने को छ र ? भन्ने लाग्दो रहेछ,’ विपीन भन्छन्, ‘नजन्मदासम्म स्वस्थ हुन्छ हुन्न होला, कस्तो जन्मन्छ होला भन्ने लाग्दो रहेछ। मैले बार बार भगवानलाई पुकारेँ, ‘हे भगवान उसलाई ठीक जन्माइदिनु, जे पर्छ मलाई होस्।’

स्वस्थ बच्चा देखेपछि विपीनलाई लाग्यो, ‘अब मलाई पुग्यो।’ सन्तान जन्मेपछि बाबा आमाको मायाको मूल्य पनि बुझे।

उनले सेल्फी किङका केही अवस्थामा आफू पनि सेलिब्रेटी कलाकार भएको नाताले तुलना गरे। ‘जसरी गोपाल दाहालसँग मान्छे सेल्फी खिच्न आउँछन्, सेल्फी पछाडि देखाउनको लागि खुसी भएको जस्तो गर्नुपर्छ। कहिलेकाहिँ हामीलाई मानिसले नचिनुन् जस्तो पनि लाग्छ।’

के सुरमा हिँडिरहेको हुन्छु, फ्यान भेटेँ भने ‘हजूर भन्दै खिस्स हाँस्नु’ पर्छ। फर्मल भएर बोल्नुपर्छ। कतै केही कुरा चित्त बुझेन भने हामीले भनेको मान्नु पर्ने हुन्छ, सवाल जवाफ गर्न मिल्दैन।’

केही अवस्था अलि व्याख्या गर्न सकिँदैन। जस्तो बाटोमा हिड्दा विपीनले धेरैले चिनेको प्रतिक्रिया पाउँछन्, चाहे आँखाको हेराइबाट होस् चाहे अनुहारको हाउभाउबाट। ‘ट्वाँ परेर हेर्दा अफ्ठेरो हुन्छ, कि बोलिदिउन् कि चाहिँ नबोलाइदिने, या याद नै नगरिदिउन्।’

विपिन भन्छन्, ‘उहाँहरुले मेरो काम हेर्नु भएको हो भने मलाई बाहिर हैन, पर्दामा मात्र चिन्नुहोस् जस्तो लाग्छ। रियल भेट्दा चिन्नुभएन भने राम्रो काम गरेँ कि जस्तो लाग्छ, सफल भए जस्तो लाग्छ।’

कसैलाई भेट्दा कलाकारको परिचित भएनन् भने गरिने व्यवहार र चिनेपछि गरिने व्यवहार फरक हुने विपीन बताउछन्। ‘मलाई विपीन भनेर चिन्नुभएपछि उहाँहरुले स्वाङ् पार्नुहुन्छ, त्यो मलाई मन पर्दैन। बाँधिएर बोल्छन्, मैले उहाँको फुल चरित्र देख्न पाउँदिन। सन्तुलन कायम गर्नुहुन्छ। तर कसैले चिनेनन् भने मैले उहाँहरुको मौलिकता देख्न पाउँछु।’

चलचित्रको एक दृश्यमा विपीनलाई श्रीमतीले पर्याप्त समय नदिएको भन्दै झगडा गर्छिन्, ‘मेरो पनि यस्तै हुन्छ, सबैले के के न गर्न लाग्यो भन्ने हुन्छ। आमा बिरामी हुँदा साथ बस्नुपर्ने म चलचित्र प्रमोसनमा छु, चलचित्र छायंकन गर्न १५ दिनको लागि सोलु जाँदा फोनमा श्रीमतीले ‘अब आउने बेला भएन ?’ भनेर सोधेकी थिइन्।

परिवारलाई अगाडि होस् भन्ने लाग्छ। कलाकारले परिवार छोड्नै पर्छ । घरमा सबै भेट भएर खाना खाउँ भन्दा म छुट्छु।’

विपिनले धेरै पल्ट सोच्छन्, ‘म पनि त्यहाँ हुनुपर्ने।’

तर सत्य के हो भने, ‘सबै ठाउँमा हुन सकिदैन।’

‘एउटा राम्रो मान्छे मात्र राम्रो कलाकार हुन सक्छ, जसले परिवार, करियरलाई एकैसाथ व्यवस्थापन गर्छ। म त्यही प्रयासमा छु। सकेसम्म कसैको मन दुखाउदिन।’ विपिन भन्छन्, ‘मेरो मन भारी हुँदा चाँही ‘मै त हो’ भनेर सम्झाउँछु।’

श्रीमतीको गर्भावस्थामा नै विपीनलाई ‘सेल्फी किङ’ को अफर आएको थियो। उनले नगर्ने भनेर बसेका थिए। ‘सात महिना भएको थियो, एक वर्षदेखि चलचित्रमा काम गरेको थिइन,’ विपिन भन्छन्, ‘उसैले जानुस्, धेरै छायांकन काठमाडौँमा नै छ’ भनेपछि म गएँ,’ विपीन भन्छन्, ‘नत्र मैले पूरै समय उनीसँगै बस्ने निर्णय गरेको थिएँ। डेलिभरी हुने समय साथ हुने भन्ने सल्लाह भयो।’

चलचित्रको पात्र गोपाल दाहालसँग विपीनले आफूलाई तुलना गर्दा आफूलाई सिरियस पाए। उनी पात्र गोपालभन्दा आफूलाई राम्रो कलाकार मान्छन्। गुरुकुलले उनलाई अभिनयप्रतिको बुझाइ उत्कृष्ट भयो। के के हुन सक्छ भन्ने कुरा बुझायो, उनलाई ‘अझै गर्नुपर्छ अझै गर्नुपर्छ’ भन्ने सिकायो। उनी भन्छन्, ‘यो चलचित्र धेरै तहको कथासँग गाँसिएको छ। तर मुख्यतया यसले ‘बाबु र छोरा’ को इमोशनलाई देखाउन खोजेको छ। म पनि मेरो बाबालाई यो चलचित्र देखाउन लैजान्छु।’

माघ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्