हुम्लाबासीकाे बाध्यता: हिउँ छिचाेल्दै सदरमुकाम

सिमकोट– लामो समयसम्म भएको हिमपातका कारण बाटोमा बाक्लो हिउँ जमेपछि हुम्लाको उत्तरी क्षेत्रका बासिन्दालाई सदरमुकाम पुग्न गर्न कठिन भएको छ।

काम विशेषले सदरमुकाम आवतजावत गर्नुपर्ने स्थानीयलाई बाटोमा बाक्लो हिउँ छिचोलेर सदरमुकाम सिमकोट आउनुपर्ने बाध्यता रहेको छ। अझ बिरामीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउन झनै समस्या भएको छ।

केही दिनअघि नाम्खा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आएका गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाले दिनभरी हिउँमाथि हिड्नुपर्दा गाह्रो भएको बताए।

कम्तिमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको र यस्तो बाटोमा एक्लै हिड्न सक्ने अवस्था नरहेको उनकाे भनाई छ।

यस्तो बाटोमा बालबालिका र वृद्धवृद्धा हिँड्न सक्ने अवस्था नरहेको काम विशेषले नाम्खा गाउँपालिका–५ मुचुबाट सदरमुकाम आइपुगेका छिरिङ लामाले बताए।

एकपटक मानिसहरु हिँडिसकेको बाटोमा केही सहज भएपनि हिउँ पन्छाएर बाटो पहिल्याउँदै हिड्न गाह्रो भएको उनको भनाइ छ।

हुम्लामा मंसिर १२ गतेपछि पटक–पटक गरी आठ पटक हिमपात हुँदा जिल्लाको नाम्खाको जनजिवन सबैभन्दा बढी प्रभावित भएको छ।

माघ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्