‘मेस्सीले बार्सिलोना छोड्दै छन्’

इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले स्पेनिस क्लब बार्सिलोनालाई ठूलो धक्का लाग्ने संकेत गरेका छन् । गार्डिवलाका अनुसार बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छोड्ने मनसाय बनाएका छन् ।

मेस्सीले बार्सिलोनासँग खेल्ने सयम धेरै नरहेको दाबी गार्डिवलाले गरेका हुन् । उनी बार्सिलोनाबाट म्यानचेस्टर सिटी आउने संकेत गार्डिवलाले गरेका हुन् । ३२ वर्षका मेस्सीले हालसम्म आफ्नो व्यवसायिक खेल जीवनको सम्पूर्ण समय बार्सिलोनामा बिताएका छन् ।

तर पछिल्ला केही परिघटनाले उनी आउँदो सिजनमा बार्सिलोनाबाट बिदा हुन सक्ने देखिएको छ । गार्डिवलाको प्रशिक्षणमा मेस्सीले चार सिजन खेलेका छन् । सन् २००८ देखि २०१२ सम्म गार्डिवला बार्सिलोनाको प्रशिक्षक थिए ।

सो अवधीमा मेस्सीसहितको टिमबाट उनले तीनपटक ला लिगा तथा दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका थिए । आफ्नो कामना भने मेस्सी बार्सिलोनामै रहुन् भन्ने रहेको गार्डिवलाले बताएका छन् ।

गार्डिवलाले बार्सिलोनापछि बार्यन म्युनिकमा प्रशिक्षकको भूमिका निर्वाह गरे । त्यहाँ उनी अधिक सफल भए र चार सिजनमा १४ उपाधि दिलाए।

त्यसपछि प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आएका उनले गएका दुई सिजन क्लबलाई लिग उपाधि दिलाए । तर यो सिजन दोस्रो स्थानका लागि संघर्षरत छन् ।

मेस्सीका बारेमा उनले भनेका छन्, ‘मेरो कामना उनी बार्सिलोनामै रहनु भन्ने हो, हुन त अर्को क्लबको खेलाडीका बारेमा म बोल्दिन तर उनले बार्सिलोनासँग जोडिएको खेल जीवन अब अन्त्य गर्ने छन् ।’

माघ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्