कोरोना संक्रमणका कारण मकाउका क्यासिनाे बन्द

विराटनगर – चीनको विभिन्न प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै मकाउमा त्यसको प्रभाव परेको छ।

कोरोना भाइरस संक्रमणसँगै हाल मकाउ सरकारले फेब्रुअरी ५ देखि १९ सम्म सञ्चालनमा रहेका सबै ठूला–साना क्यासिनो बन्द गरेको छ।

मकाउ सरकारले अत्यावश्यक काम बाहेक पार्क, होटल, सिनेमाहल लगायतमा भीडभाड नर्गन सूचना जारी गरिरहेको छ। मकाउमा ८ वर्षदेखि कार्यरत झापाका ३७ वर्षीय राजेश प्रसाई अप्रिय घटना नभए पनि कामकाज र दैनिकी रोकिएको बताउँछन्।

मकाउ विश्वभरको उत्कृष्ट जुवाघर (क्यासिनो) का लागि चर्चित छ। हाल त्यहाँ अवस्थित मुख्य स्याण्डस् चीन लिमिटेड, वाइने रिर्सोट, एमजीएम, मेल्को क्राउन, एसजीएम र जीइसी ब्राण्डको ६ वटा ठूलो क्यासिनो रहेको छ।

स्याण्डस चीन लिमिटेडमा कार्यरत प्रसाईका अनुसार सुरक्षाका लागि क्यासिनो पूर्णरुपमा बन्द भएको छ। कामको सन्र्दभमा क्यासिनोको महंगो चिप्स र अन्य आन्तरिक कार्यमा आफूहरु क्यासिनो पुग्ने गरेको उनको भनाई छ। दैनिक अर्बौँ डलरको कारोबार हुने क्यासिनो बन्द हुँदा मकाउकै अर्थतन्त्रलाई असर पुग्ने बताएका प्रसाईले भने, ‘ठूला ६ वटा ब्राण्ड कम्पनीका ४० भन्दा बढी अन्य स–साना गेमजोन रहेका छन्। जुन ठप्प रहेको छ।’

विगत ८ वर्षमा हालसम्म एकैपटक पनि क्यासिनो बन्दको अवस्था आफूले नभेटेको प्रसाईको भनाई छ। तथापि, हाल बन्द क्यासिनोमा कार्यरत कर्मचारीलाई बन्दका समयको समेत तलब उपलब्ध गराउन कार्यरत सबै कर्मचारीहरुले मकाउ सरकारलाई अनुरोध गरेको उनले बताए।

हाल चीनबाट मकाउका लागि हवाईसेवा र सडक सीमा समेत ठप्प पारिएको छ। अति आवश्यक व्यक्तिलाई समेत विभिन्न चरणको औषधि उपचारपछि मात्र मकाउ प्रवेश गर्न दिइएको नेपालीहरुको भनाई छ।

कोरोना भाइरसको इपिसेन्टर वुहानबाट मकाउ पुगेका ७ जना चीनका नागरिकमा संक्रमण देखिएको प्रसाईले बताए। जनजीवन सामान्य नै रहेको बताएका प्रसाईले भने, ‘भाइरसकै कारण मानवीय क्षति भएको जानकारीमा आएको छैन। यहाँ कार्यरत सबै नेपाली हालसम्म सुरक्षित नै रहेका छन्।’

चीनबाट मकाउ घुम्न पुगेका सातजना चीनका नागरिक र तीनजना मकाउकै स्थानीयमा संक्रमण देखिएको हो। उनीहरुलाई सुरक्षितस्थलमा चिकित्सकको कडा रेखदेखमा उपचार भइरहेको प्रसाई बताउँछन्। जसमध्ये स्थानीय ग्यालेक्सी क्यासिनोमा कार्यरत कर्मचारी रहेकाछन्।

त्यसैगरि, चीनकै डालियान शहरस्थित कोनराड एण्ड हिल्टन होटलमा कार्यरत गजेन्द्र शर्मा पनि त्यहाँकार्यरत सबै नेपाली सुरक्षित रहेको बताउँछन्। शर्माका अनुसार, होटलमा विदेशीहरु आउने हुँदा उनीहरुको स्वास्थ्य जाँच गरेर मात्र राख्ने व्यवस्था गरिएको छ। त्यसैले पनि अहिलेसम्म होटलमा कार्यरत नेपालीहरु सुरक्षित नै रहेकाछन्।

होटल बाहिर शहरमा समेत हालसम्म सामान्य रुपमा असर देखिएको बताएका शर्माले भाइरस प्रभावित क्षेत्रबाट आएका आगन्तुक तथा ज्वरो आएका अतिथिहरुलाई समेत होटलमा नराखेको बताए।

उनले भने, ‘यस स्थितीलाई बुझेरै हामीले उपचारदेखि सुरक्षित रहन सचेतनाका कुरालाई अवलम्बन गर्दै आएकाछौँ।’

माघ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू