चट्याङमा परेर दाङमा तीन जनाको मृत्यु

दाङ– दाङमा चट्याङमा परेर तीन जनाको मृत्यु भएको छ। तुलसीपुर र घोराहीमा परेको चट्याङमा परेर तीन जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका ७ नवलपुर निवासी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टी चौधरी र वर्ष ५४ की लक्ष्मी आचार्यको मृत्यु भएको हो। चट्याङ लागेर घाइते चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा मृत्यु भएको हो।

यता घोराही उपमहानगरपालिका ११ मा लागेको चट्याङले एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार घोराही ११ हापुर निवासी सूर्यबहादुर पुरीका छोरा वर्ष ८ का ताराबहादुर देवपुरीको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएका देवपुरीलाई उपचारका लागि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

माघ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्