आत्मघाती गोलले रोक्यो रेलिगेशन जोनबाट बाहिर जाने बाटो

महत्वपूर्ण र अत्यावश्यक जितबाट वाट्फोर्ड चुकेको छ । रेलिगेशन जोनबाट बाहिर निश्कन प्रयासरत वाट्फोर्ड आत्मघाती गोलका कारण जितबाट चुकेको हो ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्ड र ब्राइटनले १–१ को बराबरी गरेका हुन् । १९ औँ मिनेटमा अब्दुलायी डूकुरले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाएका थिए ।

तर वाट्फोर्डका डिफेन्डर एड्रिएन मारिएप्पाले ७८ औँ मिनेटमा बल नियन्त्रणमा लिने क्रममा आत्मघाती गोल गरे र ब्राइटनको खातामा गोल गयो । लगभग जितेको खेलमा आफ्नै गोलले वाट्फोर्ड महत्वपूर्ण तीन अंक जोडेर रेलिगेशन जोनबाट बाहिर निश्कने मौकाबाट चुक्यो ।

बराबरीपछि पुछारबाट दोस्रो स्थानको वाट्फोर्डको २६ खेलबाट २४ अंक भएको छ । रेलिगेशन जोनबाट माथि रहेको १७ औँ स्थानको एस्टन भिल्लाको २५ खेलबाट २५ अंक छ । ब्राइटन २६ खेलबाट २७ अंकसहित १५ औँ स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा एभर्टनले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेको छ।

माघ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्