'सेन्चुरी म्यान' अकिबको टार्गेटमा नम्बर-१ सन्दीप

चौका हान्दै शतक पूरा गरे, चौका थप्दै विदा गरे

खेलपछि निराश नेपाली खेलाडी। तस्विर-ट्वीटरबाट

काठमाडौँ– नेपाली बलर लगातार निराश भइरहेका थिए। ओमानका कप्तान जीशन मकसुद र अकिब इल्यासको ब्याटबाट रन बनिरहेको थियो मैदानको चारैतिर। अवस्था यस्तो थियो कि अब नेपाली बलरबाट हार टार्न केही हुन सक्नेवाला थिएन।

ओमानलाई जितका लागि केवल २१ रन आवश्यक भएको बेला सन्दीप लामिछाने फेरि एकपटक बलिङमा आए, पालीको ४६ औँ ओभरमा। यो सन्दीपको अन्तिम ओभर थियो। उनको बलबाट ओमानी टोलीको स्कोर बोर्डमा ५० रन आइसकेको थियो।

नेपालका यी नम्बर एक बलरबाट एउटै आशा थियो- शतक नजिक रहेका अकिब आउट हाेऊन्।

दोस्रो बलमा सन्दीपलाई उनले चौका प्रहार गरे। इल्यासलाई शतक पूरा गर्न चार रन चाहिएको थियो। चौथो बलमा दुई रन जोड्दा व्यक्तिगत ९८ रनमा पुगे।  पाँचौँ बलमा चौका प्रहार गर्दै ‘स्टाइल’मा शतक पूरा गरे। बलले ‘बाउन्ड्री क्रस’ गरे लगत्तै अकिबले हेलमेट खोलेर घामतर्फ फर्किएर जमिनलाई ढोगे।

सन्दीप नजिकै आइसकेका थिए। अकिबलाई धाप मारे अनि अंकमाल गरे। पालीमा सन्दीपको अन्तिम बल बाँकी थियो, ब्याटिङमा थिए इल्यास। तर नेपाली बलरको दोहनलाई अन्तिमसम्म पनि कायम राखे अकिबले, सन्दीपलाई पुन: चौका प्रहार गर्दै। सन्दीप अझ निराश भए।

त्यसपछि ओमानले कुनै चौका छक्का प्रहार गरेन तर खेल १६ बल बाँकी छँदै जित्यो, त्यो पनि आठ विकेटले। अकिब एक सय ९ रनमा अविजित रहे। कप्तान मकसुदले‍ पनि नटआउट ६८ रन जोडे। यी दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि एक सय ६७ रनको अविजित साझेदारी गरे।

 २४९ रन पनि अपुग !


२ सयभन्दा कम रन जोडेर पनि बलरले नेपाललाई जिताएका धेरै खेल छन् विगतमा। विश्वकप लिग -२ अन्तर्गत आफ्नो पहिलो त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपालले आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २४९ रन जोड्दा बलरलाई सजिलो हुने अनुमान गरिएको थियो।

तर ओमानले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गर्‍यो, ८३ रन जोड्दा दोस्रो विकेट गुमायो। तर त्यसपछि इल्यास र मक्शुद नेपाली बलरसामु पर्खाल झैँ उभिरहे। उनीहरु ढल्न सकेनन्।

एक सय ६७ रनको साझेदारीमा ७८ रन बाउन्ड्रीबाट आएको थियो भने बाँकी ८९ रन ‘रनिङ बिटविन द विकेट्स’बाट बनेको थियो। अघिल्ला दुई खेलमा कुल ६ विकेट लिएका सुसान भारीले यसपटक ७.२ ओभरमा ४१ रन खर्चिएर एक विकेट हात पारे।

कुशल मल्लले ९ ओभरमा एक मेडन राखेर २९ रन खर्चँदै एक विकेट लिए। तर सबैभन्दा बढी आशा गरिएका सन्दीपले १० ओभरमा ६५ रन खर्चिए, एक विकेट लिन पनि सकेनन्। करन केसीले ९ ओभरमा एक मेडन राखेर ४४ रन दिए।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले हारका दुई कारण औँल्याए। पहिलो, ओमानका ब्याट्सम्यानले गतिलो ब्याटिङ गरे। दोस्रो,नेपाली बलरको प्रदर्शन अनुशासित रहन सकेन। ‘२ सय ४९ रन राम्रो योगफल थियो’, ज्ञानेन्द्र खेलपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा भन्दै थिए। शृंखलाअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो।

पहिला ब्याटिङ गरेको ओमानलाई एक सय ९७ रनमा रोकेपनि नेपालले एक सय ७९ रनमात्र जोड्न सकेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई एक सय ९१ रनको लक्ष्य दिएर पनि ३५ रनले विजयी भएको थियो। शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अमेरिकासँग खेल्ने छ।

 दर्शकलाई ओमानको धन्यवाद, अकिबलाई सन्दीपको फेरि बधाई


टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २ सय ४९ रन जोड्यो। कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन जोडे। पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेखले २८, कुशल मल्लले २८ र सुबास खकुरेलले २२ रन बनाएका थिए। अर्थात नेपालले विगतभन्दा घरेलु मैदानमा सुधारिएको ब्याटिङ गरेको थियो। तर नेपाली बलरले साथ दिन सकेनन् या ओमानका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे।

नेपाली दर्शक खेलपछि पोष्ट म्याचमा कन्फेरेन्समा उपस्थित ओमानका खेलाडीलाई टाढैबाट बधाई दिँदै थिए,’वेल प्लेड ओमान, कन्ग्राचुलेसन’। ओमानका खेलाडीले हात हल्लाउँदै उनिहरुलाई धन्यवाद भने।

उत्साही ओमानका प्रशिक्षक क्यामेरा तेर्साउँदै नेपाली दर्शकको हुटिङ कैद गर्न अघि सरे। उता पोस्ट म्याच कन्फेरेन्सका लागि फ्रेस भएर अघि सरिरहेका अकिबलाई नेपाली बलर सन्दीप लामिछाने फेरि पनि बधाई दिँदै थिए। यस त्रिकोणात्मक शृंखलामा ओमानले खेलेका तीनवटै खेल जितेको छ।

उसले अन्तिम खेलमा मंगलबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप लिग-२ को अंक तालिकामा ओमानले अग्रता पनि लिएको छ। उसले ९ खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको अमेरिकाको १० खेलबाट १२ अंक छ। ८ खेलबाट ९ अंक भएको स्कटल्यान्ड तेस्रोमा छ।

नेपालको तीन खेलबाट केवल दुई अंक छ। विश्वकप लिग-२ मा सात टोली छन्। हरेक टोलीले ९ वटा त्रिकोणात्मक शृंखलामा कुल ३६ खेल खेल्नेछन्। त्यसपछि अंक तालिकामा शीर्ष तीन स्थानमा रहने टोली एकदिवशीय विश्वकप २०२३ को विश्वस्तरको छनोटमा पुग्नेछन्। अन्तिम चार टोलीले विश्वकपको विश्वस्तरको छनोटमा पुग्न प्ले अफ खेल्नु पर्नेछ।

माघ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्