ओरियन्सको ठगी: प्रहरीमा पीडितको घुइँचो, धमाधम पक्राउ पर्दै एजेण्ट

तस्बिरः ओरियन्स कम्पनीका एजेन्टबाट बरामद गरिएका उक्त कम्पनीका सामान।

झापा– नेपालमा गैरकानुनी रुपमा गोप्य ढंगबाट सञ्चालन हुँदै आएको भारतीय नेटवर्किङ कम्पनी ओरियन्सबाट पीडित हुनेहरुको अहिले प्रहरी कार्यालयमा लाम लाग्न थालेको छ।

नेपालबाट अनेक प्रलोभनमा पारेर युवालाई भारतमा लगेर बन्धक बनाउने जस्ता क्रियाकलाप उक्त कम्पनीमा आवद्ध व्यक्तिहरुले गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन्।

आइतबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उक्त कम्पनीका एजेन्टविरुद्ध उजुरी दिन आएका निजगढ बाराका सन्तोष तिमल्सिनाले आफूलाई भारतमा पुर्‍याएर ६० हजार भारतीय रुपैयाँ उनका एजेन्टहरु मागेको बताए।

उनले भने, ‘सुरुमा राम्रै काम हुन्छ, मनग्गे आम्दानी हुन्छ भनेर भारत पुर्‍याए। तर त्यहाँ पुगेपछि उनीहरुले मोटो रकम मागे।’

उनले आफूसँग पैसा नभएको र काँकरभिट्टा पुगेर उपलब्ध गराउने भनेर सीधा प्रहरीमा आएको बताए। लगत्तै प्रहरीको टोली उक्त व्यक्तिको खोज तलासमा सीमा क्षेत्रमा खटियो।

आइतबार नै पर्साबाट आफ्नो भतिजलाई भेट्न भनेर राजु कुसवाह इलाका प्रहरी कार्यालय काँकरभिट्टा आइपुगेका थिए। उनका भतिज सोही नेटवर्किङ कम्पनीमा एजेन्ट रोहित कुसवाह पनि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको थुनामा रहेका छन्।

राजु कुसवाहले भने, ‘म लगायत मेरो दाजुलाई पनि थाह थिएन यो विषयमा।’

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले उनी उपर मुद्दा चलिसकेकाले छोड्न नमिल्ने बताए। उनले भने, ‘तपाईंको भतिज मानव बेचबिखनमा पनि संलग्न भएको देखिन्छ। अहिले छोड्न मिल्दैन।’

यसरी कैयौं नेपालीहरु ओरियन्समा काम दिलाउने बहानामा भारतमा लगेर विभिन्न काममा बेचिने गरिएको प्रहरीले जनाएको छ। पीडितहरु नेपाली हुने नै भए ठग्नेहरु पनि अधिकांश नेपाली नागरिक नै छन्।

विभिन्न सामाजिक सञ्जालको प्रयोगमार्फत उच्च शिक्षा हासिल गर्ने उमेरका युवा उक्त नेटवर्किङ कम्पनीका एजेन्टहरुबाट ठगिने क्रम बढिरहेको प्रहरी अनुसन्धानले देखाएको छ।

आइतबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाको थुनुवा कोठामा ६ जना पक्राउ परेका ओरियन्स कम्पनीका एजेन्टहरु थिए। उनीहरुविरुद्ध मानव बेचबिखन तथा अभद्र व्यवहार मुद्दा चलाउन लागिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

एजेन्टहरुले ओरियन्स कम्पनीका सामान बिक्री गर्छन्। तर यो खुल्ला रुपमा बिक्री गर्न प्रतिबन्ध छ। त्यसैले उनीहरु त्यस्ता सामान नेपालमा बिक्री गर्न अवैध तरिकाले बिक्री गर्न एजेन्ट तयार गर्छन्।

एजेन्टहरु ओरियन्स कम्पनीका सामान औषधि तथा पौष्टिक आहारका लागि उत्तम मान्छन्। तर प्रयोगकर्ताहरु उक्त सामान महँगो र काम नदिने प्रकारका भएको बताउँछन्।

केही दिन अघि सिन्धुपाल्चोकका दुईजना युवतीसहित तामाकोशी नगरपालिका ४ का २१ वर्षीय सुदिपबाबु पोखरेल पक्राउ परे। ती दुई युवतीको बयान र जाहेरीका आधारमा पोखरेललाई मानव बेचबिखनको मुद्दा प्रहरीले लगाएको छ। युवतीलाई अभिभावकको जिम्मा लगाए पठाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

विगत एक महिनाको अवधिमा ओरियन्स कम्पनीका जम्मा १० जना एजेन्ट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरकी मिना बस्नेत, महोत्तरीका कमलेस शाह, उदयपुरकै अनिता मगर, मोरङका आलम मिया, पाँचथरकी अस्मी चेम्जोङ, मोरङकै बिक्रम सहनी, कैलालीका नरेश बुढा र सुनसरीका विपिन बस्नेत रहेका छन्।

पक्राउ पर्नेमा नेपालका विभिन्न स्थानका रहेकाले नेपालभर यो कम्पनीले एजेन्ट खडा गरेकाले नेपालीहरुको पैसा ठगिने क्रम बढेको प्रहरीको भनाइ छ।

माघ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू