लागू औषधको ट्रान्जिट बन्दै सीमावर्ती जिल्ला बाँके

नेपालगञ्‍ज-बाँके प्रहरीले आइतबार २ सय ९५ एम्पुल लागु औषधीसहित नगेन्द्र रानालाई पक्राउ गर्‍यो। लु १० प ७३९९ नम्बरको मोटरसाइकलको दाहिने तर्फको लेगार्डमा प्लाष्टिकमा झुण्ड्याएर लोरी ९५ एम्पुल, बी–नोरफाइन सय एम्पुल, इमिगन सय एम्पुल ल्याउदै गर्दा जमुनाहा नाकामा नेपालगञ्ज घरबारीटोलका राना पक्राउ परेका थिए।

शनिबार राती ७.४० बजे भारत बहराइचका २५ वर्षका अब्दुल रसिद दुई सय ग्राम खैरो हिरोइनजस्तो देखिने धुलोसहित पक्राउ परे। अनटेष्ट मोटरसाइकल चलाएर नेपाल प्रवेश गरेका रसिदले हेल्मेटभित्र चार वटा प्लाष्टिकका पोकामा हिरोइन ल्याउदै थिए।

शनिबार नै राती ७ बजे जमुनाहाबाट कैलाली टीकापुरका विष्णु पुरी र उनका भाइ शिवराज पुरी १८ ग्राम ब्राउनसुगरसहित पक्राउ परे। भे ९ प ६५२९ नम्बरको स्कुटीको पछाडीको मेडगाडभित्र लुकाएर ब्राउनसुगर पास गरिदै थियो। यी दिदीभाइ पनि जमुनाहामा जाँच गर्ने क्रममा पक्राउ परेका थिए।

पछिल्लो दुई दिन प्रहरीले नाकाबाट ठूलो मात्रामा लागु औषध बरामद गर्न सफल भयो। जमुनाहा नाका लागु औषध नियन्त्रण ब्यूरोको टोली र जमुनाहा प्रहरीले सधैं जाँच गर्ने गर्दछ।

यी सबै जनालाई बाँके प्रहरीले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीका अनुसार, चालु आर्थिक वर्षको हालसम्ममा लागु औषधमा एक सय ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने १ सय ५९ जना पक्राउ परेका छन्। त्यसमा ५ महिला र ६ जना भारतीय छन्।

एसपी ओलीले ६ सय ८ ग्राम ७ सय ४५ मिलिग्राम ब्राउनसुगर, ९ सय ९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७ सय ७५ ग्राम गाँजा, तीन सय एमएल कोरेक्स, दुई हजार ६ सय १२ ट्याब्लेट नाइट्राजेपाम, २ सय ९५ एम्पुल लागु औषधी बरामद भएको जानकारी दिए।

सीमावर्ती जिल्ला भएकाले बाँकेलाई लागू औषधीको ट्रान्जिट प्वाइन्टको रुपमा लिने गरिन्छ।सीमावर्ती भारतीय बजारमा सहजै पाइने लागु औषधी नेपालगञ्ज हुँदै देशका अन्य शहरमा जाने गर्दछ।

बाँके प्रहरीका अनुसार, गतवर्ष लागू औषधमा २ सय ४९ वटा मुद्दा चल्दा ३ सय ७६ जना पक्राउ परेका थिए। त्यसअघि १ सय ४५ मुद्दा चल्दा ३ सय १० जना पक्राउ परेका थिए।

आर्थिक वर्ष २०७३-०७४ मा १ सय ३७ मुद्दा चल्दा १ सय ८० जना पक्राउ परेका थिए। प्रहरीको त्रिवर्षीय तथ्यांकलाई हेर्दा लागु औषधीमा मुद्दा चल्ने र पक्राउ पर्ने संख्या बढ्दै गएको देखिन्छ।

सीमावर्ती भारतीय बजारमा सहज पहुँच हुने गरेको र त्यहाँ सजिलै लागु औषधी पाइने भएकाले बाँकेलगायत आसपासका जिल्लाका लागु औषधीप्रेमी युवाहरु रुपैडिहा गएर लागु औषधी बोक्ने गरेको पाइन्छ।

नाकामा चौविसै घण्टा खटिने गरेको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले दैनिक लागु औषधी कारोबारी या प्रयोगकर्तालाई पक्राउ गर्ने गरेको छ।लागु औषधी ओसारपसारको केन्द्रविन्दु मान्ने गरिएकाले नेपाल प्रहरीले नेपालगञ्जमा लागू औषधिबारे नि:शुल्क परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ।

केन्द्रले लागु औषधीको लतमा परेका र सुध्रिन चाहनेलाई निशुल्क परामर्श दिने बताइएको छ।

माघ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्