सानेपा हत्याकाण्डः सिसिटिभि फुटेज हेर्दै प्रहरी

मृतक विजय चौधरीको शव प्रहरीले निकालेर लैजाँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको हत्याकाण्डबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। सोमबार बिहान ११ बजेतिर कार्कीकी श्रीमती मुना र उनको घरमा कामदारका रुपमा कार्यरत विजय चौधरीको मृत्यु भएको हो।

गम्भीर अवस्थामा फेला परेकी मुनाको उपचारका क्रममा मृत्यु भएको हो भने कामदार चौधरीको भान्साकोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो।

प्रहरीले कार्कीको घरमा जडान भएको सिसिटिभि फुटेजमार्फत घटनाको अनुसन्धान गरिरहेको छ । कार्कीको घरमा तीनवटा सिसिटिभि जडान छन्। प्रहरीले अहिले उक्त फुटेज हेरिरहेको छ ।

मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो ।

पूर्वसचिव अर्जुन कार्की (बिचमा) उनी श्रीमती मुनाको मृत्युपछि भावविह्वल अवस्थामा । तस्बिर : बर्षा शाह/देश सञ्चार

दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।

आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् । उनी अब कहिल्यै पशुपति नजाने भन्दै बिलौना गरिरहेका छन् ।

कार्कीका दुई छोरी विदेशमा छन् भने एक छोरा काठमाडौँमै कक्षा पाँचमा अध्ययनरत छन् । मृतक चौधरीको शव परीक्षणका लागि प्रहरीले अस्पताल लगेको छ ।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्