पूर्वसचिव पत्नीको हत्या गरेको एक घन्टापछि चौधरीले आत्महत्या गरेका थिए

पूर्वसचिव अर्जुन कार्कीको घरमा राखिएको सिसिटिभी। तस्बिर: बर्षा शाह

काठमाडौँ– ललितपुरको सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनालाई घरमै काम गर्न बस्ने युवकले पछाडिबाट डोरीले घाँटीमा न्याँकेर हत्या गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेजबाट कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरीले श्रीमती मुनालाई बिहान १० बजेर १० मिनेटमा घाँटीमा डोरीले थिचेर मारेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन्।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएअनुसार १० बजेर १० मिनेटमा किचेनमा काम गरिरहेकी मुनाको घाँटीमा न्याँकेर हत्या गरेपछि ११ बजेर ८ मिनेटसम्म चौधरी उक्त घटनास्थलकै वरपर गरिररहेका थिए। त्यसपछि ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घटनास्थलमा आइपुगेका थिए। प्रहरी अधिकारीहरुका अनुसार ११ बजेर ८ मिनेट र ११ बजेर २० मिनेटबीचमा चौधरीले आत्महत्या गरेको बुझिएको छ।

अचेत अवस्थामा फेला परेकी मुनालाई उपचारका क्रममा स्टार अस्पतालमा पुर्‍याइए पनि तत्काल उनलाई मृत घोषणा गरिएको थियो।

उनी अर्को कोठामा झुण्डिएपछि डोरी चुडिएर भुईँमा लडेको अवस्थामा पाइएको प्रहरीले जनाएको छ। उनले आत्महत्या गरेको स्थल सिसिटिभी कभरेजमा देखिएको छैन।

पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो। उनका दुई छोरी र एक छोरा छन्।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्