घटनालगत्तै पुग्दा पूर्वसचिव कार्कीको घरमा जे देखियो

अर्जुन कार्कीको सानेपास्थित घर। तस्बिर: बर्षा शाह

ह्वाङ्ग पारिएको कालो रंगको गेट भित्र छिर्नेबित्तिकै सेतो र सुन्तला रंगको घरअगाडि छरपष्ट मानिसहरु उभिरहेका थिए। सोमबार बिहान घरमा मानिसको हुल भएपनि वातावरण भने बिल्कुलै सुन्सान। घरमा कुनै शोक छाएजस्तो। घरको आँगनमा छरिएका मानिसहरुलाई छिचोलेर जाँदा घरको ढोकैमा पुगिन्छ।

ढोकाबाट भित्र पस्न खोजिरहेका मानिसलाई प्रहरीहरुले भनिरहेका थिए,‘एकछिन रोक्नुस्, भित्र जान मिल्दैन, प्रहरीले मुचुल्का उठाउँदै छ।’

ढोकामा उभिरहेका प्रहरीले यति भने पछि घरभित्र पस्न तम्सेका सबै जना ढोकामै हच्किए। सबै जनाको मनमा एउटै कुरा खेलिरहेको थियो। के भएको होला? कसरी भएको होला? पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती र उनकै घरमा काम गर्ने केटाको आकस्मिक मृत्यु कसरी भएको हुन सक्छ? के हत्या हो? के आत्महत्या हो?

उत्तर कसैसँग थिएन। सबै प्रतीक्षा गरिरहेका थिए।

गेटमा लोग्ने मानिस ठूलो आवाजमा कराए, ‘हामीलाई विपत परिरहेको तिमीहरुलाई फोटो खिच्नु पर्ने।’

कसैले उनलाई समातेर घरको ढोकाअघि आँगनमा कुर्सीमा बसाले। कुर्सीमा बसेका पूर्व सचिव अर्जुन कार्की विलौना गर्न थाले।

‘भिनाजु सी इज नो मोर, सी इज नो मोर’, बारम्बार उनी यही कुरा भनिरहेका थिए। अस्पतालबाट फर्किएका कार्कीले यसो भनिरहँदा वरिपरिका मानिसहरु कानेखुसी गर्न थाले। अब कार्कीकी श्रीमती रहिनन्।

आफन्तका आँखा रसाइरहेका थिए। श्रीमतीको वियोगमा रोइरहेका कार्कीलाई सम्झाउन उनका आफन्त र साथीले हर कोशिस गरिरहेका थिए। तर, उनी कसैको कुरा सुन्नेवाला थिएनन्। उनी एक सुरमा भनिरहेका थिए, ‘अब म मेरो छोरालाई कसरी सम्झाउँ, स्कुलबाट आउने बित्तिकै मामुलाई मात्र खोज्छ।’

पूर्वसचिव अर्जुन कार्की (बिचमा) उनी श्रीमती मुनाको मृत्युपछि भावविह्वल अवस्थामा । तस्बिर : बर्षा शाह/देश सञ्चार

कार्कीका तीन जना छोराछोरी छन्। दुई छोरी विदेश छन् भने छोरा कक्षा पाँचमा पढ्छन्।

उनी बिलौना गर्दै थिए, ‘मेरा छोरीहरु अब यो घरभित्र कसरी पस्छन्? मुना नभएपछि म यो घर भित्रै पस्दिन।’

कार्की आफ्नो छेउमा उभिएकी एक महिलालाई अँगाले हालेर भनिरहेका थिए, ‘दिज्जु हामीले त्यसलाई (कार्कीकै घरमा काम गर्न बसेका विजय चौधरी) छोरा जसरी पालेका थियौँ। किन उसैले मेरी मुनालाई मार्‍यो? मुना किन भान्साबाट बाहिर आएर कराउन सकिन? किन भित्रै बसी होला ऊ?’

बिहान करिब ८ बजे कार्की पशुपति गएका थिए। १०ः३० सम्म आफू पशुपतिमै रहेको उनले बताए। उनले भने, ‘म बिहान ७ः४५ देखि १०ः३० सम्म चिसोमा पशुपतिमा थिएँ।’

उनी घर पुग्दा ११ः२० भइसकेको थियो। गेट ढङ्ढङ् गरे। तर कसैले खोलेन। उनले सोचे-  केही काममा व्यस्त भए कि? वा काम गर्ने केटो नुहाउँदै छ कि? मुना तल झर्न अल्छी मानी होला।

उनी आफैँले गेट खोले र भित्र पसे। घरको ढोका अगाडि उभिएर श्रीमतीलाई बोलाए, ‘मुना… मुना…’

घर सुनसान थियो। उनको मन आत्तियो। उनको वरिपरि कुकुर नाचिरहेको थियो। उनले कुकुरलाई भगाउन खोजे। तर कुकुर कार्कीको कुरा नमानी उनीसँग झुण्डिरह्यो।

धेरैबेर बोलाउँदासम्म पनि श्रीमती बहिर नआएपछि उनको मनमा अनेक कुरा खेल्न थाले, मुना बेहोस पो भइ कि?’

उनी हतारिँदै भान्सा भित्र पसेका मात्र के थिए- उनको होसहवास नै उड्यो।

श्रीमती अचेत अवस्थामा भुईँमा रक्ताम्मे लडिरहेकी थिइन् भने उनकै घरमा काम गर्ने २२ वर्षीया विजय चौधरी झुण्डिएको अवस्थामा देखे। प्रहरीलाई फोन गरे। मुनालाई अस्पताल लगियो। तर अस्पतालले उनलाई मृत घोषणा गर्‍यो।

कार्कीले श्रीमतीको मृत्युलाई स्वीकार्न सकेका छैनन्। उनले भने, ‘बिहानदेखि म पशुपतिमा थिएँ। त्यस्तो पनि भगवान हुन्छ, त्यो त ढुंगा हो रहेछ। म अब कहिल्यै पशुपति जान्न दिज्जु, कहिल्यै पनि जान्नँ।’

उनी बोतलबाट घुटुक्क पानी पिउँदै भनिरहेका थिए, ‘मेरो बिजोग भयो। म छोरालाई के भनेर सम्झाउँ? घरमा मामु भएन भने फोन नउठुन्जेलसम्म फोन गरेको गर्‍यै गर्छ छोराले।’

कार्कीका अनुसार विजय चौधरी कार्की परिवारमा बस्न थालेको १८ वर्ष भइसकेको थियो। ‘छोरा जस्तो थियो। अब लाइसेन्स लिएर गाडी चलाउने वाला थियो। किन यस्तो गर्‍यो यसले?’ उनले भने, ‘म बर्वाद भएँ। म कहाँ जाने? के गर्ने? यो घरमा कसरी रात बिताउने?’

उनी बर्बराइरहँदा एक जना बिचमा प्याच्च बोले, ‘११ बजेतिर म्याडम बेस्सरी कराउनु भएको थियो रे।’

प्रहरीले कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेज चेक गरेको थियो। उनकै घरमा काम गर्दै आएका विजयले कार्कीकी श्रीमती मुनालाई पछाडिबाट डोरीले न्याँकेको र सातपटकसम्म टाउकोमा प्रहार गरेर हत्या गरेको पाइएको घटनाको अनुसन्धानमा संलग्न रहेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्