वुहानबाट फर्किने नेपाली विद्यार्थीलाई राख्‍ने ठाउँ अझै अन्‍योल, सरकार भन्छ, ‘तयारी तीव्र छ’

काठमाडौँ- सरकारले लामो समयदेखि चीनको वुहान सहरमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउनका लागि विमान तयारी अवस्थामा राखिएको बताए पनि लामो समय पार गरिसकेको छ। तर पनि वुहानमा रहेका नेपालीको उद्धारको प्रक्रियाको कुनै टुङ्गो लाग्‍न सकेको छैन। यस विषयमा सम्बन्धित निकाय भने नाजवाफ छन्।

चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावक यहाँ छट्पटाइरहेका छन्। उनीहरु आफ्ना छोराछोरीको चाँडो उद्धार गरिदिन भन्दै विभिन्न मन्त्रालय नधाएका पनि होइनन्। तर उनीहरुको मर्म सुनिदिने कसलाई पो फुर्सद छ र? सरकार यो सबै देखेर पनि अन्देखा गरिरहेको छ।

यता, सरकार कानमा तेल हालेर बसिरहेको छ भने उता चीनमा रहेका नेपाली विद्यार्थी जीवन जोगाउनका  लागि गुहार मागिरहेका छन्। सरकारले चीनबाट उद्धार गरिएका विद्यार्थीलाई कहाँ राख्‍ने भन्‍नेमै अन्योलको स्थिति छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षाका लागि निगरानीमा राख्न सम्भावित ठाउँहरु (नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रिय अस्पतालका हलहरु, इचङ्गुनारायणमा )अवलोकन गरिरहेको बताए पनि उक्त ठाउहँरु सम्भव हुन सकेन।

पहिल्लो केही दिन यता सरकारले  चीनबाट फर्काइएका विद्यार्थीका लागि भन्दै भक्तपुरको खरिपाटीमा तयारी गरिरहेको बताउदै आएको छ। उक्त ठाउँमा काम सम्पन्न हुने वित्तिकै चीनबाट विद्यार्थीलाई नेपाल फर्काइने सरकारले दावी गर्दै आइरहेको छ। तर त्यो ठाउँमा पनि डब्लूएचओको मापदण्ड अनुसार काम सम्पन्न हुन अझै कति दिन लाग्छ, यसको भने टुङ्गो लाग्न बाँकी नै छ।

धेरै जसो सम्भावित ठाउँहरुमा उक्त ठाउँका स्थानीय बासिन्दाले विरोध गर्दै आइरहेका छन्। भक्तपुरको चाङ्गुनारायणका स्थानीय बासिन्दाले विरोध गर्दा सम्भावित उक्त ठाउँ सरकारको हातबाट फुत्कियो। चीनबाट फर्काइने  विद्यार्थीलाई राख्नका लागि उपयुक्त ठाउँ सरकारले पाउन सकेन भनौँ वा सम्भावित ठाउँका स्थानीय बासिन्दालाई सरकाले भरोसा दिनाउन सकेन।

उसो त चीनबाट नेपाल आउने विद्यार्थी कोरोना भाइसरबाट संक्रमित भने होइनन्। उनीहरु पूर्ण स्वस्थ छन्। उनीहरु नेपाल फर्किएपछि क्वारेण्टाइनमा बस्ने छन्।

उसो त विद्यार्थीलाई नेपाल फर्काउनु अघि चीनमै उनीहरुको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणका क्रममा भाइरसको लक्षण देखिएका विद्यार्थीलाई चीनमै आइसोलेसनमा राखेर उपचार गरिने छ भने नेपाल फर्केकालाई त्रिभुवन विमानस्थलमा फेरि परिक्षण हुनेछ।

विमानस्थलमा परीक्षण गर्दा लक्षण नदेखिएकालाई विमानस्थलबाट सिधै क्वारेण्टाइनमा राखिनेछ। लक्षण देखिएकालाई अस्पतालमा पुर्‍याई आइसोलसन वार्डमा राखिनेछ।

चिकित्सकका अनुसार नेपाल फर्किने उनीहरुमा कुनै प्रकारको संक्रमण नभएपनि नेपाल पुग्ने बित्तिकै उनीहरुलाई क्वारेण्टाइनमा राखिन्छ। उनीहरुलाई क्वारेण्टाइनमा राखिरहँदा कुनै पनि समुदाय वा मानिसलाई संक्रमण हुने जोखिम हुँदैन। यदि उनीहरुका कोरोनाको लक्षण देखिएको खण्डमा उनीहरुलाई तुरुन्त आइशोलेसन वार्ड भएका अस्पतालमा पुर्‍याइने छ।

तर पनि चीनबाट फर्काइने विद्यार्थी राख्न नदिनका लागि अनेक थरिका आन्दोलन भइरहेका छन्।

के हो क्वारेण्टाइन?


कुनै पनि लक्षण नभएका व्यक्तिलाई राखिने वा रोग देखिन्छ कि भनेर कुनै पनि व्यक्तिलाई ‘अब्जर्वेसन’का लागि राखिने ठाउँ क्वारेण्टाइन हो। क्वारेण्टाइनमा राखिने व्यक्तिमा कुनै पनि संक्रमण भने हुँदैन। उनीहरु स्वस्थ्य हुन्छन्।

के हो आइसोलेसन?


शंंकास्पद वा संक्रमित व्यक्तिबाट अन्य व्यक्ति वा स्वास्थ्यकर्मीहरुमा संक्रमण नफैलियोस् भनेर उक्त व्यक्तिको संक्रमण सर्नसक्ने समयसम्म राख्ने ठाउँलाई आइसोलेसन भन्ने गरिन्छ।

आइसोलेसनमा रोग अनुसारको कुनै खोकीबाट सर्ने हुन सक्छ, कुनै हावाबाट सर्न सक्ने हुन सक्छ, त्यही अनुसारको उपचार पद्धती आइसोलेसनमा अपनाउने गरिन्छ।

चीनमा बन्द कोठामा बसिरहेका उनीहरु र छोराछोरीको चिन्ताले सरकार गुहारिहरेका अभिभावक बाहेक अन्य व्यक्तिसँग उनीहरुको वेदन महसुस गर्न सक्ने क्षमता छैन भन्दा पनि खासै फक नपर्ला। आफ्नो छोराछोरी दुःख कुन चाहि अभिभावकले टुलुटुलु हेर्न सक्ला र?

नेपाल बाहेक अन्य देशहरुले आफ्ना नागरिकको उद्धार गरिसकेको छ। आफूसँगै बसेका अन्य देशका विद्यार्थी घर फर्किदा नेपालीहरु भने आज संक्रकित भइन्छ की भोली संक्रमित भइन्छ भन्दै बस्नु पर्ने वातावरण सकारले सृजना गरिदिएको छ।

के भन्छ सरकार?


यता, सोमबार भने सरकारले चीनबाट १ सय ८० जना विद्यार्थीलाई फागुन ३ गते ल्याउने तयारी गरेको बताएको छ। उनीहरुको व्यवस्थापनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिब्रता गतिमा काम गरिहेको दावी गर्दै आइरहेको छ।

चीनबाट नेपाल फर्काइएको विद्यार्थीहरुको स्वास्थ्य जाँच तथा हेरचाहका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई सोमबारबाट प्रशिक्षण गरिएको छ।

प्रशिक्षणमा करिव ६० जना मेडिकल अफिसर, डाक्टर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, प्यारामेडिक्स, एम्बुलेन्स चालकलगायतको सहभागिता हुनेछ।

सरकारले केन्द्रीय पाँच अस्पताल र ३६ वटा सेटेलाइट अस्पतालहरुका १ सय ४७ वटा आइसोलेसन वेडहरु तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ।

यस्तै संक्रमित व्यक्तिहरुका लागि विभिन्न पाँच वटा केन्द्रिय अस्पताल वीर, पाटन, शिक्षण अस्पताल, आर्मी, शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको मन्त्रालयले बताएको छ।

तर उता नेपाली दूतावासले भने नेपाली विद्यार्थीहरुको उद्धारका लागि दूतावास तयारी अवस्थामा रहे पनि परराष्ट्रबाट कुनै निर्देशन नआएका कारण आफूहरु अन्यौमै रहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले चीनबाट अन्य देशमा नागरिक पठाउन आधारभूत मापदण्ड तोकेको छ। जुन मापदण्ड नेपालले अहिलेसम्म पनि पूरा गर्न सकेको छैन।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्