पोखरामा १६ वर्षमुनिको प्रदेशस्तरीय क्रिकेट लिग हुँदै

कास्की – तल्लोस्तरदेखि नै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पोखरामा यही माघ २९ गतेदेखि गण्डकी प्रदेशस्तरीय १६ वर्ष मुनिको अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता हुने भएको छ ।

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पहिलोपटक पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा कास्कीका दुईसहित नवलपुर, बाग्लुङ र स्याङ्जाबाट एक–एक गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष बमबहादुर कुँवरले बताए ।

क्रिकेट खेलको विकास तथा उमेर समूहदेखि नै देशका लागि आवश्यक राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको उनको भनाई छ ।

प्रतियोगिता संयोजक चन्द्र गुरुङले ‘राउण्ड रोविन’ लिगको आधारमा खेलाइने प्रतियोगितामा १० दिनसम्म १० लिग खेल खेलाइने र शीर्ष स्थानमा रहने टोली विजेता बन्ने बताए ।

विजेताले २० हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्ने तथा सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याटस्म्यान, बलर तथा हरेक खेलमा ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले प्रतियोगिताबाट नयाँ खेलाडीको विकास गरी व्यावसायिक खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले क्रिकेट विकास गर्न आयोजना गरिएको प्रतियोगितालाई सञ्चारक्षेत्रबाट सहयोग गरिने बताए ।

माघ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्