सानेपा हत्याकाण्डः दुई छोरी नेपाल फर्किएपछि मात्रै मुनाको अन्त्यष्टि हुने

अर्जुन कार्कीको सानेपास्थित घर। तस्बिर: बर्षा शाह

काठमाडौँ – ललितपुरको सानेपामा रहेको घरमै सोमबार हत्या भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अन्त्यष्टि छोरीहरु फर्किएपछि मात्रै हुने पारिवारिक स्रोतले जनाएको छ ।

पूर्वसचिव कार्कीकी पत्नी मुनाको सोमबार बिहान घरमै हत्या भएको थियो।

कार्कीको घरमा विसं २०६६ देखि कामदारका रुपमा बस्दै आएका २२ वर्षका विजय चौधरीले मुनाको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । मुना र विजयको शव हाल पाटन अस्पतालमा राखिएको छ ।

मुनाका दुई छोरी बेलायत र अमेरिकामा रहेका छन् । उनीहरु मंगलबार नेपाल आइपुग्ने र बुधबार मात्रै मुनाको अन्तिम संस्कार गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अहिले अर्जुन र मुनाका छोरा मात्रै नेपालमा छन् । पाँच कक्षामा अध्ययनरत छोराको आउँदो फागुनमा वर्तबन्ध गर्ने तयारी थियो । हिन्दू संस्कार अनुसार वर्तबन्ध नभएकाका छोराले बुवा वा आमाको मृत्यु भएमा काजकिरिया गर्न मिल्दैन ।

माघ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू