फाेटाे फिचर

लुम्बिनीमा बन्दैछ ५ हजार जना अट्ने सभाहल

तस्बिर: सी.पी. खनाल/देश सञ्चार।

बुटवल– छानामा बुद्धका आँखा। गोलाकार भवन। वरिपरि फलफूलका बिरुवासहितको हरियाली। बुद्धकालीन रुखको छहारी। लुम्बिनीमा निर्माण भइरहेको सभाहल तथा ध्यानकेन्द्र बनेर सकिँदा यस्तो देखिनेछ।

२०७४ को बुद्धपूर्णिमाको कार्यक्रम प्रभावित भएपछि लुम्बिनीमा सभाहल बनाउने घोषणा प्रधानमन्त्री केपी ओलीले गरेका थिए। २०७५ वैशाख १७ गते बुद्धपूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेकी थिइन्।

सो सभाहल नमूना बौद्ध ध्यान केन्द्रको रुपमासमेत स्थापित गर्ने योजना लुम्बिनी विकास कोषको छ।

आगामी बुद्धपूर्णिमामा सञ्चालन गर्ने गरी सभाहल निर्माण भइरहेको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए।

३२ करोड लगानीमा निर्माण भइरहेको उक्त सभाहल आगामी चैतसम्म सम्पन्न गर्ने गरी झण्डै डेढ वर्षअघि निर्माण कम्पनी बाबुल निर्माण सेवाले सम्झौता गरेको थियो।

सम्झौता गरेको मितिमै निर्माण सक्नेगरी अहिले काम भइरहेको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सफिक अहमद खानले जानकारी दिए। उनका अनुसार अहिले करिब ७० प्रतिशत काम पूरा भएको छ। उनले आउँदो बुद्ध पूर्णिमाको कार्यक्रम यही स्थानमा गर्न मिल्नेगरी निर्माण भइरहेको बताए।

संरचना निर्माण भएको स्थानमै बुद्ध पूर्णिमाको कार्यक्रम गर्न मिल्ने गरी निर्माण हुने योजना प्रमुख भट्टराईले बताए। लगातारको हिउँदे झरी र अत्यधिक चिसोका कारण झण्डै एक महिनाजति ढिलाई भएको निर्माण कम्पनीका प्राविधिक निर्देशन इन्जिनियर सन्तोष अधिकारीले जानकारी दिए।

अहिले सभाहल, कन्ट्रोल रुम र दुईवटा शौचालय निर्माणका काम चलिरहेका छन्। सभाहलको भवन मात्रै करिब डेढ विघा क्षेत्रफलमा निर्माण भइरहेको छ। इन्जिनियर भट्टराईका अनुसार यहाँ ५ हजार भनिए पनि आठ हजार भन्दा धेरैजना मानिस अट्न सक्छन्।

तर, ध्यानकेन्द्र बनाउने भनिएकाले खुला क्षेत्र धेरै छाडेर मात्र पाँच हजार जना बस्नेगरी संरचना बनाइएको छ। भवनको पूरै ११ हजार स्क्वायर मिटरको क्षेत्र ध्यानकेन्द्र तथा सभा गर्न मिल्छ।

सबै तस्बिर: सी.पी. खनाल/देश सञ्चार 

माघ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्