हल्लैहल्लाबीच ४ महिना २५ दिनका लागि नयाँ आईजिपी

काठमाडौँ – सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले एकैपटक प्रहरी निरिक्षक-इन्सपेक्टर पदका लागि प्रतिस्पर्धा गरेका थिए। तर ज्ञवालीको नाम निस्कियो-वैकल्पिकमा। खनाल २०४६ साल माघ २९ गतेदेखि लागु हुने गरि नेपाल प्रहरीमा प्रहरी निरिक्षक पदमा नियुक्त भए। एक वर्षभित्र दरबन्दी रिक्त भए वैकल्पिकले अवसर पाउँथे।

यही कारण ज्ञवालीले पनि अवसर पाए तर खनालले जागिर सुरु गरेको करिब पाँच महिनापछि। ज्ञवालीसहित वैकल्पिक सूचीका केही उमेद्धवारले २०४७ साल असार २५ गते बाट लागु हुने गरि प्रहरी निरिक्षकको नियुक्ती पाएका थिए।

मंगलबार खनालले ३० वर्षे सेवा अवधीका कारण सेवाबाट अवकाश पाउँदैछन्, प्रहरी प्रमुख-आईजिपी भएर। मंगलबार नै सरकारले नेपाल प्रहरीको नयाँ प्रमुखमा ज्ञवालीलाई नियुक्त गरेको छ।

ज्ञवालीले अब २०७७ साल असार २४ गते अर्थात चार महिना २५ दिनका लागि नेपाल प्रहरीको नेतृत्व गर्नेछन्। वर्तमान प्रहरी नियमावली यथावत् रहे त्यसपछि उनले ३० वर्षे सेवा अवधिका कारण सेवाबाट अवकाश पाउने छन्।

मंगलबार खनालको ब्याचका १८ नायब महानिरिक्षक-डीआईजी र तीन अतिरिक्त महानिरिक्षक-एआईजीले सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदै गर्दा त्यसपछिका सबैभन्दा सिनियर डीआईजी थिए ज्ञवाली।

प्रहरी नेतृत्व चयनमा विगत केही समययता भइरहेको हस्तक्षेपलाई बिर्सँदै सरकारले ज्येष्ठता र वरिष्ठताका आधारमा ज्ञवालीलाई नियुक्त गरेको हो। यसअघि पछिल्ला दुई आईजिपी नियुक्तीमा सरकार विवादमा परेको थियो।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ज्येष्ठता र वरिष्ठतालाई मिचेर जयबहादुर चन्दलाई आईजिपी नियुक्त गरेपछि सरकारको निर्णय विवादमा तानिएको थियो। तत्कालिन पहिलो नम्बरमा डीआईजी नवराज सिलवाल सरकारको नियुक्तीविरुद्ध सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले सरकारको निर्णय उल्टाए पनि सिलवाल आईजिपी बन्न सकेनन्। सरकारले कार्य सम्पादन मुल्यांकनमा तत्कालिन दोस्रो नम्बरमा डीआईजी प्रकाश अर्याल पहिलो नम्बरमा आएको भन्दै उनलाई नियुक्त गरेको थियो। त्यसपछि सिलवालले राजिनामा दिएका थिए। मंगलबार अवकाश पाउन लागेका आईजिपी खनालको नियुक्ती पनि विवादरहित बन्न सकेन।

एसएसपीसम्म बढुवा हुँदा कहिल्यै पहिलो नम्बरमा नरहेका खनाल डीआईजीमा पुग्दा पहिलो नम्बरमा रहे। पछि सरकारले खनाललाई आईजिपी नियुक्त गर्‍यो। एसएसपीबाट बढुवा भएको एक वर्ष पनि वित्न नपाउँदै खनाल आईजिपी नियुक्त भएका थिए।

सरकारको दावी थियो- खनाल ज्येष्ठता र वरिष्ठताका आधारमा पहिलो नम्बरमा छन्। तर प्रहरी निरिक्षकबाट एसएसपीसम्म बढुवा हुँदा हरेकमा वरियतामा पहिलो नम्बरमा रहेका रमेश खरेलले सरकारले विभेद् गरेको भन्दै खनाललाई आईजिपी नियुक्त गरेलगत्तै राजिनामा दिएका थिए। खनाललाई एसएसपीबाट डीआईजीमा बढुवा गरिँदा नै धाँधली भएको उनको आरोप थियो।

३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने प्रहरी नियमावलीका कारण पुन एकपटक नेपाल प्रहरीले डीआईजीबाट सोझै आईजिपी पाएको छ। नीतिगत अभ्यास गर्ने दर्जा मानिएको एआईजीको अनुभव बिनै प्रहरी अधिकृतले संगठनको नेतृत्व गरिरहेका छन्। यसअघि पछिल्ला दुई आईजिपीको पालामा पनि यस्तै भएको थियो।

ज्ञवालीलाई नयाँ आईजिपी नियुक्त गर्नुभन्दा केही समय अघि नै प्रहरीको नयाँ नेतृत्वलाई लिएर अनेक हल्ला चलेको थियो।

सरकारले ६ महिना थपेर खनाललाई नै आईजिपीमा निरन्तरता दिनेदेखि खनाललाई राजिनामा दिन लगाएर एआईजी पुस्कर कार्कीलाई निमित्त आईजिपीको जिम्मेवारी दिने र नियमावली संसोधन गरि ३० वर्षे सेवा अवधीलाई ३२ मा पुर्‍याई कार्कीलाई दुई वर्षका लागि प्रहरी नेतृत्व सुम्पनेसम्मको सरकारी तयारी रहेको भनि चर्चा चलेको थियो।

तर प्रहरीको सेवा अवधीलगायत विषय प्रहरी एेनमा समावेश गर्नुपर्ने सर्वोच्च अदालतको यसअघिको आदेश रहेका कारण सरकारले त्यस्तो निर्णय लिन सक्नेमा आशंका पनि गरिएको थियो।

२०५८ साल बैशाख १८ गते प्रहरी नायब उपरिक्षक-डीएसपीमा बढुवा भएका ज्ञवाली २०६६ मंसिर ३ गते प्रहरी उपरिक्षक-एसपी र २०७३ साल असार २८ गते प्रहरी वरिष्ठ उपरिक्षक-एसएसपीमा बढुवा भएका थिए। उनी २०७५ साल असोज २८ गते डीआईजीमा बढुवा भएका हुन्।ज्ञवालीका एक छोरी र एक छोरा छन्। उनले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।

 

 

 

माघ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्