नेपाली चलचित्र ‘धुलो’ फागुन १६ बाट हलहरुमा

काठमाडौँ– नेपाली चलचित्र ‘धुलो’को प्रदर्शन मिति तय भएको छ। प्रद्य‌ुम्न मिश्रको निर्देशनमा बनेको चलचित्र आगामी फागुन १६ गतेबाट देशभर प्रदर्शन हुनेछ।

चलचित्रमा काठमाडौँको सुकुम्बासी बस्तीका गरिब रिक्सा चालकको संघर्षको कथा समेटिएको छ।

‘धुलो’ मिश्रद्वारा निर्देशित पहिलो चलचित्र हो। उनी लामो समयदेखि  सञ्चार क्षेत्रमा संलग्न छन्। उनले ओस्कार कलेज अफ फिल्म स्टडिजबाट निर्देशन विधामा स्नातक गरेका छन्।

बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, दामोदर गजुरेल, अमृता पाण्डे, सुदीप कार्की लगायतका कलाकारको अभिनय रहको ‘धुलो’को छायांकन रविन आचार्यले गरेका हुन्।

आचार्य लामो समयसम्म चलचित्र निर्माण तथा छायांकनमा संलग्न छन्। उनले निर्माण तथा छायांकन गरेको पछिल्लो चलचित्र ‘चक्कर’ अमेरिकाको ‘क्वीनस् वल्र्ड फिल्म फेस्टिवल’का लागि छानिएको छ।

‘धुलो’मा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवालाई समेत विशेष भूमिकामा देख्न सकिनेछ।

लक्ष्मी गौतम, नानीराम फुँयालले निर्माण गरेको चलचित्रमा दीपा धरेलकाे प्रस्तुति रहेकाे छ।

सुवास सिंह बस्न्यातको कथा रहेको चलचित्र अर्जुन जिसीले सम्पादन गरेका हुन्। चलचित्रमा रहेका गीतको कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्।

माघ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्