सुदूरपश्चिम प्रदेशकाे समाजिक विकास मन्त्रालयमा स्तनपान कक्ष

धनगढी– सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरेको छ।

मन्त्रालयले कार्यालयको मूल भवनको माथिल्लो तल्लाको एक कोठामा स्तनपान कक्ष निर्माण गरेको हो। कार्यालयमा स्तनपान गर्ने उमेरका बच्चा भएका महिला कर्मचारी र बच्चासहित विभिन्न कामका लागि मन्त्रालयमा पुग्ने महिला सेवाग्राहीका लागि स्तनपान कक्ष निर्माण गरिएको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख कमला शाहीले बताइन्।

मन्त्रालयले निर्माण गरेको स्तनपान कक्षमा एकैपटक दुई जनासम्मले स्तनपान गराउन सक्ने व्यवस्था गरिएको छ। निश्चित अवधिको सुत्केरी विदापछि महिला कर्मचारीहरुले काममा फर्किनु पर्दा कार्यालयमा सेवाग्राही र पुरुष कर्मचारीका बीच बसेर स्तनपान गराउन समस्या हुन थालेपछि हरेक कार्यालयमा छुट्टै स्तनपान कक्ष आवश्यक रहेको भन्दै यसको निर्माणका लागि अधिकारकर्मीहरुले पहल गरिरहेका थिए।

सामाजिक विकास महाशाखा प्रमुख शाहीले कर्मचारी र सेवाग्राही दुबैलाई लक्षित गरेर स्तनपान कक्ष निर्माण गरिएको बताइन्। कार्यालयमा कर्मचारीले पनि स्तनपानमा समस्या भोग्ने गरेको र सेवाग्राहीले झन् समस्या भोग्ने गरेका कारण समस्यालाई बुझेर स्तनपान कक्ष निर्माण गरिएको उनकाे भनाइ छ। स्तनपान कक्षमा दुई वटा बेडसँगै बालबालिकाका लागि खेल्न विभिन्न सामाग्रीहरु राखिएको छ।

मन्त्रालयले झण्डै दुई लाख लगानीमा सो स्तनपान कक्ष स्थापना गरेको जनाएको छ। सामाजिक विकास महाशाखा प्रमुख शाहीले मन्त्रालय मातहात रहेका हरेक कार्यालयमा स्तनपान कक्षको स्थापना गर्न पनि आग्रह गरिएको बताइन्।

माघ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्