अन्नपूर्ण आधार शिविरमा स्की खेलको प्रशिक्षण

काठमाडौँ – प्रसिद्ध अन्नपूर्ण आधार शिविरमा स्की खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महत्वपूर्ण पर्यटकीय क्षेत्र अन्नपूर्ण क्षेत्रमा स्की–स्नोबोर्डसम्बन्धी प्रशिक्षण कार्यक्रम हुन लागेको हो । नेपाल माउन्टेन एकेडेमी, नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा स्की तथा स्नो बोर्डिङ प्रतिष्ठानले स्की–स्नोबोर्डसम्बन्धी अभिमुखिकरण आयोजना गर्न लागेको हो ।

समुद्री सतहबाट चार हजरा २०० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा बिहीबारदेखि जनवरी २४ सम्म तालिम सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए । उक्त कार्यक्रममा लागि १६ सदस्यीय टोली बुधबार आधार शिविर प्रस्थान गर्नेछन् ।

चारजना स्की प्रशिक्षक पनि सँगै जानेछन् । एक नेपालीसहित दुई जर्मनी र एक इटालिका प्रशिक्षकले स्कीको तालिम दिने जनाइएको छ ।

कार्यक्रमलाई नेपाली स्की सङ्घ, नेपाल भ्रमण वर्ष सचिवालय र स्की गाइड नेपालको सहयोग रहेको छ । प्रतिष्ठानले यसअघि रोल्वालिङ, दोलखाको कालिञ्चोक, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र अन्नपूर्ण आधारशिविरमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ ।

स्कीलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रि«य प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थितिका लागि यस प्रकारको महोत्सव तथा तालीमले सहयोग पुग्ने आयोजकको दाबी छ ।

माघ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्