सानेपा हत्याकाण्ड

हत्याआरोपी विजय चौधरीकी आमालाई थाहा छैन छोराको ‘आत्महत्या’

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यापछि आत्महत्या गरेको अभियोग लागेका विजय चौधरीको दाङको लमहीस्थित घर, विजयका आफन्त तथा छिमेकीहरु घटनापछि शोक र आश्चर्यमा छन्। तस्बिरहरु : दशरथ घिमिरे/देश सञ्चार

दाङ – एक हप्ताअघि छोरा विजयसँग बुवा जानकीले फोनमा गरेको कुरा नै बुवा–छोराको अन्तिम संवाद बन्यो।

विजयले फोनमा मालिक्नी (मुना) लाई तोरीको तेल र मसुरोको दाल चाहिएकाले खोजीदिन भनेका थिए।

यहाँ जानकीले तोरीको तेल र मसुरोको दाल खोज्दै थिए । उता मुना र विजय दुवैको जीवनलिला समाप्त भयो।

गएको सोमबार ललितपुर महानगरपालिका–२ सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की र घरमा काम गर्ने विजय चौधरीको शव भेटियो ।

प्रारम्भीक अनुसन्धानमा विजयले मुनाको हत्या गरी आफूले पनि आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृतक विजय चौधरीको शव प्रहरीले निकालेर लैजाँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार

हत्यापछि आत्महत्या गरेको आरोपी विजय चौधरीको घर दाङको लमही नगरपालिका–२ रनियापुर गाउँमा हो । घरमा उनका दुइ भाइ छन् । बिजय जेठो छोरा हुन् ।

मंगलबार विजयको घरमा केही आफन्त र छिमेकी जम्मा भएका थिए । खुलेर बोल्न सक्ने अवस्था थिएन । घर भित्र विजयकी आमा पार्वती थिइन् । उनी बिरामी भएकाले घटना बारे केही जानकारी गराइएको छैन ।

वडा अध्यक्ष नेपालु चौधरी र वडा सचिव रामभजन चौधरी मार्फत घटना बारे बुवा जानकीलाइ खबर पुग्यो । उनले श्रीमतीलाई काठमाडौँ विजयलाई भेट्न जान थालेका बताएर घरबाट मंगलबार बिहान हिँडे । तर, छोराको मृत्यु बारे आमालाई जानकारी गराइको छैन ।

कसरी पुगे विजय काठमाडौँ

अर्जुन कार्कीको सानेपास्थित घर। तस्बिर: बर्षा शाह

२०६०–०६१ तिर पूर्वसचिव अर्जुन कार्की प्रगन्ना कुलो सिंचाइ आयोजनाको प्रमुख भएर लमही बसेका थिए । त्यो बेला उनको अशिवन चौधरीसँग चिनजान भयो । दुई वर्षसम्म यहाँ कार्यालय प्रमुख भएर बस्दा उनको चिनजान बाक्लिएको थियो ।

अशिवन चौधरीले प्रगन्नामा सुपरभाइजर समेत भएर काम गरे । त्यसपछि अर्जुन कार्कीको सरुवा भयो । कार्कीले घरमा काम गर्नका लागि एकजना खोजिदिन अशिवनलाई भने । त्यसपछि अशिवनले लमही नगरपालिका वडा नम्बर २ रनियापुर निवासी जानकी चौधरीका जेठो छोरा विजयलाई काठमाडौँ काम गर्न पठाए ।

घर सल्लाहमा उनी काठमाडौँ काम गर्न गए । कक्षा ६ मा पढ्ने विजयले पढाइ छाडेका थिए । घरको आर्थिक अवस्था कमजोर भएकाले उनले काम खोजिरहेका थिए । राम्रो काम लगाइदिने र घरायसी काममा सहयोग गर्ने शर्तमा उनी काठमाडौँ गए ।

शोकमा डुबेको रनियापुर गाउँ

विजयकी ठूलिआमा अनारकली चौधरी

उनी लमहीबाट काम गर्नका लागि अर्जुन कार्कीको घर आएका हुन् । सोही घरमा उनले सोमबार मुनाको हत्यापछि आत्महत्या गरेको प्रहरीले बताएको छ ।

यो घटनाले उनको घर र गाउँ शोकमा डुबेको छ । बुवा जानकी खबर पाए लगत्तै काठमाडौं हिँडे । आमा पार्वती ओच्छ्यानमा छिन् । पाठेघरको अप्रेसन गरेकी पार्वतीलाई छोराको मृत्यु बारे जानकारी गराइएको छैन ।

‘देउरानी (विजयकी आमा) बिरामी छिन् । उनलाई यो कुरा थाहा छैन।’ विजयकी ठूलिआमा अनारकली चौधरीले भनिन्, ‘विजय सोझो थियो । कम बोल्थ्यो । कहिले पनि लडाइँ झगडा गरेन ।’

पोहर सालको तिहारमा विजय घर आएका थिए । काठमाडौँको काम बारे उनले राम्रो बताएको ठूलिआमाले सम्झना गरिन् । ‘घर भित्रको काम गर्छु भन्थ्यो । फूलमा पानी हाल्ने, कुकुरलाई खाना खुवाउने काम गर्छु भन्थ्यो।’ उनले भनिन्–‘तिहार मानेर फर्कियो ।’

बेतलबी थिए विजय

विजयलाई काममा लगाउँदा बाहिरको काम खोजिदिने मात्रै शर्त थियो । घरमा काम गरे बापत उनले तलब नपाउने गरेको बुवा जानकीले फोनमा बताए ।

‘छोरालाई बाहिरको काम खोजिदिने भनेर लगेका हुन् । गाडी चलाउने लाइसेन्स निकाल्ने तयारीमा छु भन्थ्यो।’ बुवा जानकीले भने, ‘तलब थिएन ।’

विजयसँग अशिवन (विजयलाई काम खोजिदिने व्यक्ति) ६ महिना अजुर्न कार्कीको घरमासँगै बसेका थिए । त्यसपछि अशिवन त्यहाँ बस्न छाडेँ । ‘६ महिना बसेँ । त्यसपछि त्यहाँ बस्न मन लागेन ।’ उनले भने ‘म त्यहाँ बस्न छाडेपछि कुनै सम्पर्क थिएन ।’

माघ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू