शरीर र मन दुवै शुद्ध पार्ने एकमात्र उपाय

हामी ब्रम्हाण्डमा छौँ र यही ब्रम्हाण्डबाटै उत्पत्ति भएका हौँ। यो सृष्टि अनादिकालदेखि चलिआएको छ र अनन्तसम्म चलिरहनेछ। पृथ्वी यो व्यापक ब्रम्हाण्डको एउटा उपग्रह हो र यहाँ मानव जातिको विशिष्ट अस्तित्व छ। मानव जातिको विकासक्रमबारे एकै मत छैन र भिन्न मत छन्। विज्ञानको विकासवादी मतले तल्लो जीवजन्तुबाट विकसित हुँदै आएको मान्छ भने हाम्रा धार्मिक मतले ईश्वर तथा परमात्माद्वारा सर्वश्रेष्ठ जीवका रुपमा मानव जातिको सृष्टि भएको मान्छ।

ईश्वर र परमात्माबारे पनि बिभिन्न बुझाइ छन्। कसैले निराकारलाई त, कसैले साकार स्वरुपलाई त, कसैले दुवैलाई ईश्वर मानेका छन्। सत्य, शुद्धता, पवित्रता र प्रज्ञा नै ईश्वर हो। ईश्वर चेतना हो र चेतनाबाटै ऊर्जा र पदार्थको सिर्जना हुन्छ, अर्थात अदृश्यबाट दृश्यको उत्पत्ति भएको मत छ। बुझाइ पनि छ। वास्तवमा मानवको अस्तित्वको निर्माणमा चेतना, ऊर्जा र पदार्थ छ र यसको स्तरअनुसारको रुप, वृत्ति र प्रवृत्ति देखिन्छ। त्यसैले, प्रकृतिको गुणधर्मबारेका कुरा पनि आउँछन्। मानिस समाजमा बस्छ र समाजबाट पनि ऊ प्रभावित हुन्छ। उसको चरित्र र व्यवहार अनि भविष्यका उन्नति पनि उसले बुझ्दै सिक्दै र गर्दै जाँदा हुने परिणाम हुन्। अघिल्ला जन्महरुबाट खराब र असल गुण, धर्म तथा आचरण र व्यवहार आउने कुरा पनि पूर्वीय अध्यात्म दर्शनले भन्छ। वैदिक र बुद्धको बुझाइ यसमा मिल्छ।

अर्थात अनेक जन्मका श्रृंखला पार गर्दै मानिस देखा परिरहेको छ र उसको गन्तव्य भनेको शुद्ध र विकाररहित स्वरुप प्राप्त गरी सृष्टिकर्ता अर्थात चेतना तत्व जस्‌लाई परमात्मा भनिन्छ, त्यसमा एकाकार हुने अवस्थाबारे बताइएको छ। यसको अनुभव चाहिँ त्यो मार्गमा हिँडेर सिद्ध हुनेले नै गर्छन् भन्ने दृढ बुझाइ छ। बुद्धले पनि आफ्ना अनन्त जन्महरु भएका र ती जन्महरु दुखपूर्ण रहेका र दुखको कारण खोज्दै विभिन्न जन्महरु लिनुपरेको बताएका छन्। बुद्धत्व प्राप्त गरेको यो जन्म चाहिँ तृष्णाबाट पूर्ण रुपमा मुक्त हुन गएकाले अब निर्वाण तथा मोक्ष प्राप्त भएको र अब जन्मनु नपर्ने अवस्थालाई उनले बताएका छन्।

यही सेरोफेरोमा एउटा गम्भीर प्रश्नले मानिसलाई आक्रान्त बनाएको छ- मानिस जन्मँदा सबै उस्तै हुन्छन्। बालक अवस्थाबाट उक्लँदै जाँदा कसैमा राम्रो र कसैमा नराम्रो चरित्र, स्वभाव र व्यवहार बढ्दै जान्छ। मानिसमा विकार र व्यसन थपिँदै जान्छ। नकारात्मकता बढ्दै जान्छ। हामीले यो विकार हटाएर शुद्ध हुन के कस्तो अवस्थाबाट गुज्रनुपर्छ। अर्थात विभिन्न जन्मका अशुद्ध अवस्थाबाट शुद्धतातर्फ जाने चक्र कसरी पूरा हुन्छ? किन कोही-कोही सिद्ध पुरुषहरु मात्र   विकारको अवस्थाबाट निस्कन सक्षम हुन्छन्? के यो प्रक्रिया दुर्लभ छ त? यो प्रश्न वास्तविक रुपमा गम्भीर छ र प्रायःसबैको चासो र सरोकारको विषय पनि छ।

पृथ्वीमा रहेका सबै प्राणीहरुमा मानिस नै असीमित सम्भावना भएको जीव हो। त्यसैले ऊ सबैभन्दा दुःखी, सबैभन्दा सुखी र सबैभन्दा आनन्दित पनि हुन सक्छ। ऊसँग सुन्दर शरीर, भोग गर्न इन्द्रीयहरु र संकल्प-विकल्प तथा द्वन्दको अनवरत यात्रा गर्ने मन पनि छ। मन भएको कारण ऊ मनुष्य वा मानिस कहलाइन्छ। गहिरो मनलाई चित्त भनिन्छ र यसलाई मानस पनि भनिन्छ। मनुका सन्तान भएकाले मानिस हुन गएको भन्ने पनि छ। तर समग्रमा मानिस शब्द मनसँगै जोडिएको छ। मनकै कारण मानिसले दुःख र उत्कृष्ट आनन्दको अनुभव गर्छ। यसको कारणमा शरीरमा रहेका इन्द्रीय र मनको संगठनलाई कसरी तादात्म्य मिलाउने, कसरी सहने भन्नेमा छ। शरीर, मन, आवेग तथा भावना र उर्जाको व्यवस्थापन गर्न जान्दा नै मानिसले विचार तथा जडतालाई पार गरेर आनन्दको लहरमा पौडन सक्छ। यो शुद्धताको अवस्था पनि हो। यसमा प्रारब्ध तथा विगतका जन्महरुका संचित कर्मको फल र वर्तमान जन्मको जीवनको गति दुवैको संयुक्त आवेग र गति छ।

यसैका कारण धेरै कर्मशील मानिस पनि भौतिक दुनियाँमा पछाडि परेको र अलिअलि मेहनत गर्नेहरु पनि अघि बढेको देखिन्छ। यो भेद विचित्र पनि छ। यो विषयमा बुझ्न अध्यात्मिक साधनातर्फ अग्रसर हुनुपर्छ। यसका लागि बुद्धले भनेको शील, समाधि र प्रज्ञा, पतञ्जलीको अष्टाङ्ग योग र महान सन्त शिवपुरी बाबाले भनेको शारिरीक, मानसिक र अध्यात्मिक अनुशासनलाई बुझ्नु र साधना मार्गमा अनुशरण गर्दै जानु महत्वपूर्ण छ।

पदार्थ तथा स्थुल विषय र उर्जालाई विज्ञानले प्रशस्त अन्वेषणसहित धेरै पत्ता लगाएको छ र तोडमोड पनि गरेको छ। तर यसको कारणबारे भन्न सक्दैन र कारण जगतबारेको ज्ञानका लागि अध्यात्म तथा धर्मको महत्व छ। यहाँ पनि विरोधाभाष र असामान्य जस्तो स्थिति छ। यसको कारण हो अध्यात्म असाध्य गहन विषय र सुक्ष्म विद्या हो र यसको सत्यको रहस्य तथा तत्व ज्ञान सच्चा ज्ञानी र सिद्ध पुरुषले मात्र थाहा पाउँछ, अनुभव गर्छ। त्यो अनुभव गरेको ज्ञान अरुमा आइपुग्दा बासी भइसकेको हुन्छ र यो वृत्ति चलाउन सिकिने विद्या जस्तो होइन। त्यसैले धर्मबारे धेरै वादविवाद, सम्प्रदाय र मत बनेका छन्।

परम र दिव्य शक्तिको ज्ञान स्वच्छता, पवित्रता, स्थिरता र शान्त अवस्थामा नै सम्भव छ। क्लेश र विकारले युक्त मन र शरीरको अवस्थामा त्यो सम्भव छैन। बाल अवस्थाबाट मानिस बढ्दै जाँदा खानपान, बोली–व्यवहारमा संगत र गराइ भोगाइमा अपवित्र कुराहरु प्रवेश हुँदै जान्छन् र मानिसको मन विकृत हुन्छ र त्यसको प्रभाव शरीरमा पर्छ। शरीरमा ग्रन्थी र गाँठाहरु बढ्दै जान्छन्। ऊर्जा केन्द्र तथा चक्रहरु ढाकिन्छन् जडताहरुको संग्रहबाट। शरीर र मन बोझिल हुन्छ र मानिसले पीडा महसुस गर्छ। त्यसलाई हटाउन मानिसले साधना मार्गमा जानुपर्छ। साधना मार्गमा जानका लागि सर्वप्रथम शरीर र मनको जगमा सात्विकता बढाउँदै जानुपर्छ। यो भनेको खानपान, बोली–व्यवहार, उठबस जीवनयापनका तरिका हुन्। मनलाई स्पृहामा जान उद्विग्नतामा जान दिनु हुँदैन। त्यसबाट रोग र दोष तथा द्वन्द्वात्मक स्थिति बन्न मद्दत पुग्छ र मानिस वर्तमानमा जिउनेभन्दा भूत र भविष्यका कल्पनामा डुब्छ। दुःखको कारण यहाँ छ।

सत्यमा पुग्न पनि मौन र सत्यमा पुगेपछि पनि मौन- मौनता नै कारण जगतको रहस्य हो। त्यसैले निर्वाण र शून्यको अवस्था र समाधिको अवस्था पूर्ण मौनको अवस्था हो। त्यहाँ सबै सत्यको बासस्थान छ, त्यहीँबाट उर्जा र पदार्थको उद्गम छ र विसर्जन पनि।

मानिसको मन जति ज्यादा यात्रामा रहन्छ, त्यति नै उसले तृष्णाको जन्म दिन्छ। तृष्णा नै दुःखको कारण हो। तृष्णाकै कारण मानिस भयमा बाँच्छ। घृणा र दोषको जन्म दिने पनि तृष्णा नै हो। मानिसले मोक्षको कुरा गर्दैन, निर्वाणको कुरा गर्दैन। आखिर त्यो के हो त? कस्तो अवस्था हो त्यो? वास्तवमा मोक्ष भनेको आन्तरिक स्वतन्त्रता र भयबाट मुक्ति नै हो। यसका लागि आध्यात्मिक उन्नतिको महत्व छ। तर अध्यात्म तथा धर्मका नाममा कतिपय तथाकथित धर्म-सम्प्रदाय र तिनका गुरुहरुले भय, त्रास र परनिर्भरता मात्र सिर्जना गरिरहेछन्। यो गर, त्यो गर, यो बनाऊ। त्यो बनाऊ अनि यो देऊ भनेर ईश्वर र देवताहरुलाई देखाउँदै आफूले संग्रह गर्न त्रास सृजना गर्छन्। बाहिरी खोजमा मानिस भड्किन्छ र भित्रको यात्रा गर्ने भेउ र साधना नै पाउँदैन। बाहिरी खोजबाट तृष्णा र भय समाप्त हुँदैन। भय र तृष्णाको समाप्ति नभई आन्तरिक शान्ति तथा मोक्षको प्राप्ति सम्भव छैन। मानिस आफैँले उत्पादन र संग्रह गरेका विचार तथा नकारात्मक उर्जाबाट ग्रस्त छन्।

आन्तरिक शान्तिको प्रत्यक्ष अनुभूति नभई मानिस भयबाट मुक्त हुँदैन। बुद्ध, कृष्ण, जिसस, मोहम्मद, महावीर, जैन तिर्थंकर, नानक, कवीर आदि सिद्ध पुरुषहरुले त्यो आन्तरिक स्वतन्त्रता प्राप्त गरेर नै भयबाट मुक्त भए। आफू भित्रैबाट वलवान र भयरहित हुन सक्ने सामर्थ्यलाई पहिचान गरी साधना गर्न असमर्थ भएर सबै धर्महरुले बाहिर–बाहिर खोज्नेलाई मन्दिर, गुम्बा, मस्जिद आदि निर्माण गर्दै गए। त्यहीभित्र उनीहरु भगवान तथा प्रभु, अल्लाह खोज्छन्। यसको पनि प्रयोजन त छ तर यो धारणा बनाउनेसम्मका लागि उपयोगी छ। यो सामान्य निरन्तर चलन र परम्परा बनेर रह्यो धर्मको। यो एउटा मान्यता हो, विश्वास हो तर जान्यता होइन। जान्यता अनुभूति हो, प्रत्यक्ष ज्ञान हो।

मानिसमा छटपटी छ, भित्र ज्वाला छ खोजीको तर त्यो ज्वाला धुवाँले ढाकेको छ, त्यसैले बेहोसीमा नै समय बितेको छ। यी विश्वास र मान्यताहरुमा नै जन्म लिएर ईश्वर तथा सत्य खोज्दा प्रज्ञा प्राप्तिको अवस्थाबाट मानिस बञ्चित हुन्छ। प्रज्ञाको जागरण नभई ज्ञान अनुभूतिमा आउँदैन। वास्तवमा कृष्ण, वुद्ध, जिसस आदि महापुरुषले मानव जीवनको अधिकतम सम्भावनालाई प्रतिनिधित्व गरेका छन्। तर मानिस तिनीहरुका नाममा हौसिएका छन्। तिनमा तथा तिनका नाममा टाँसिने होइन, तिनीहरुले त मानिसहरुलाई तिमीहरु पनि हामी जस्तै अनुभव–अनुभूति गर्न सक्छौँ र यो मार्ग अपनाएर हेर भनेका हुन्, ज्ञान र सन्देश दिएका हुन्। त्यसैले मानिस ती महापुरुषजस्तै बन्न सक्छ, तर अर्कै पक्ष र चक्रमा फसेको हुन्छ।

नियमित रुपमा क्रमवद्ध र अनुशासित रुपमा अष्टाङ्ग योग वा बुद्धले दिएको शील, समाधि र प्रज्ञाको पद्धतीलाई अवलम्बन गर्ने हो भने एउटा रुपान्तरणको अवस्था अवश्य आउँछ। तर कुनै कर्मकाण्डी, अपत्यारिलो र जादुगरी प्रकारको सम्मोहनमा फसेर कुनै मत र सम्प्रदायका अस्पष्ट कुराकानीलाई अनुशरण गर्दा र मान्दा मात्र वास्तविक अन्तरयात्रा हुन सक्दैन।

अब प्रश्न छ– के गर्ने त ? कति समय दिने अध्यात्म साधनाका लागि? वास्तवमा संसारिक जीवनमा आफूलाई फँसाएर फुर्सद हुँदा वा औपचारिकताका लागि मात्र ईश्वर चिन्तन, सत्यको पक्ष सम्झने हो भने, सानातिना अभ्यास र साधना गर्ने हो भने जन्म–जन्म पनि अपर्याप्त हुन्छ। उमेर ढल्किएर साधना गर्छु भन्ने हो भने ऊर्जा पर्याप्त नहुँदा त्यो सम्भव छैन। किनकि साधनाबाट उन्नति भनेको शरीर, मन, भावना र उर्जाको शुद्धता नै हो। यो अति महत्वपूर्ण कुरा छ। पूर्णरुपमा अभिप्सा र समर्पणसहित संसारमा पाउन लायक यही तत्व हो भनेर लागिपर्दा यस जन्ममा नै सत्य साक्षात्कार हुने तथा पूर्णरुपमा आन्तरिक स्वतन्त्रताको प्राप्ति नै भय र तृष्णाको अवस्थाबाट मुक्त हुन सकिन्छ भन्ने कुरा प्रमाणिक शास्त्र र सिद्ध पुरुषहरुले बताएका छन्।

नियमित रुपमा क्रमवद्ध र अनुशासित रुपमा अष्टाङ्ग योग वा बुद्धले दिएको शील, समाधि र प्रज्ञाको पद्धतिलाई अवलम्बन गर्ने हो भने एउटा रुपान्तरणको अवस्था अवश्य आउँछ। तर कुनै कर्मकाण्डी, अपत्यारिलो र जादुगरी प्रकारको सम्मोहनमा फसेर कुनै मत र सम्प्रदायका अस्पष्ट कुराकानीलाई अनुशरण गर्दा र मान्दा मात्र वास्तविक अन्तरयात्रा हुन सक्दैन। भित्रको चक्षु खुल्न सक्दैन, प्रत्यक्ष अनुभूति हुँदैन। ती अस्पष्ट नियम र पूजा पद्धति मात्रले जीवनरुपी नाउलाई कहीँ पुर्‍याउँदैन र किलो ठोकेर बाँधेजस्तै जहीँको त्यहीँ हुन्छ। जीवन बित्छ, जन्म बित्छ, तर जहीँको त्यहीँ। यिनीहरुको महत्व चाहिँ धारणा बनाउन र सान्त्वना दिनका लागि मात्र छ।

एकछिनका लागि सम्मोहन पैदा गर्न, सान्त्वना दिनका लागि, मन बुझाउनका लागि उपयोगी छ। तर सत्यका लागि र दिव्यताको खोजीका लागि हिँडेका जिज्ञासुहरुका तिर्खा, भोक र प्यास यी कर्मकाण्ड र परम्परा पद्धतिले मेटाउन सक्दैन। रामकृष्ण परमहंसले कालीको मूर्तिमा काली साक्षात्कार गरेको भनेको उनकै स्वच्छ हृदयको भाव र निर्मल मानसको अवस्था हो, काली प्रतिकात्मक हुन् तर सत्य चाहिँ रामकृष्णभित्रै थियो। उनी मनमा राग–द्वेष, सुख–दुःखबाट टाढा हटेर इन्द्रियातीत, गुणातीत र कालातीत अवस्थामा थिए। अर्जुनको विश्वरुप दर्शन पनि उच्च अवस्था हो शुद्धताको। मैले यहाँ एउटा के कुरामा जोड दिएको छु भने मानव चेतना तथा आत्मोपलब्धिको सच्चा अनुभवभन्दा कर्मकाण्डहरुको रीति र पद्धतीमा अल्मलिँदा एउटा साधनका लागि उसले मानेको भनेको धर्म र गरिरहेका अभ्यास व्यर्थ मात्र जाने होइन, सही मार्गका लागि बाधक र रोकावटसमेत हुन जान्छन्।

यो कुनै धार्मिक उद्दण्डता र क्रान्तिकारी कुरा होइन, यो त धर्मको गहिराइमा पुग्ने र सत्यको दर्शन गर्ने सामर्थ्य जुटाउन गरिने प्रयत्नको विषय हो, रोशनी देखाउने कुरा हो। अध्यात्म कुनै तर्कपूर्ण अभिव्यक्तिको विषय होइन, यो अनुभवगत प्रज्ञाबाट प्रकाशित हुने विषय हो। किनकि यसको प्रयोगशाला स्वयं अभ्यासीको देह हो, मानस हो। स्वयंले गर्ने निरन्तरको अभ्यासद्वारा अनुभूति हुँदै जाने विषयले सत्यलाई उजागर गर्ने र त्यो सत्यको अनूभूति स्वयंमा मात्र अनुभव सिद्ध हुने विषय हो। त्यसैले निर्वाणको अवस्थाको प्राप्तिपछि बुद्ध बोल्नु भएन। त्यो अवस्था प्राप्त गर्न पनि मौनमा रहनुपर्ने, प्राप्ति गरिसकेपछि पनि गहिरो मौनमा नै जाने हुँदा मौनतामा नै ईश्वर छ भन्ने कुरा महत्वपूर्ण छ। मौनतामा नै प्रणव तथा ॐकारको ध्वनिको गुञ्जायमान हुने र यही नै सृष्टिको आधार हो भन्ने वेदमा उल्लेख भएको र उपनिषद्हरुले सूत्रबद्ध पनि गरेका छन्। यहाँ ऋषिहरुका अनुभूति छन्।

सत्यमा पुग्न पनि मौन र सत्यमा पुगेपछि पनि मौन- मौनता नै कारण जगतको रहस्य हो। त्यसैले निर्वाण र शून्यको अवस्था र समाधिको अवस्था पूर्ण मौनको अवस्था हो। त्यहाँ सबै सत्यको बासस्थान छ, त्यहीँबाट उर्जा र पदार्थको उद्गम छ र विसर्जन पनि। त्यसैले ब्रह्मा, विष्णु र महेश्वरका स्वरुप पनि त्यही चेतना तथा मौनका एकै रुप हुन्। एउटै चेतना तत्वले विभिन्न सिर्जनाका अवस्थालाई जनाउँछ र ऊर्जामार्फत सत्ता स्फूर्ति दिन्छ।

अध्यात्म तथा धर्मको ज्ञानले नैतिकता, आचरण र अनुशासन सिकाउँदैन भने त्यो शुद्ध भएन र त्यहाँ खोट भयो । धर्म साधनाबाट दया, करुणा, प्रेम र परोपकार जागृत भएन भने त्यो वास्तविक अभ्यास भएन र त्यो कर्मकाण्ड, विलास र सम्मोहनमात्र भयो। त्यसैले अध्यात्म तथा धर्मले दिशानिर्देश गर्न सक्नुपर्छ, मानव कल्याणका लागि, हितका लागि। धर्म गुरुहरु त्यसको संवाहक हुनुपर्छ नकि भोग र संग्रह गर्न उद्यत। प्रकृतिको दासताबाट मानिस पीडित छ। धर्मले त्यो दासताबाट मुक्ति दिलाउने मार्ग सिकाउँछ। मानिसले हरपल ऊर्जा बनाउँछ र आफैँ बिगार्छ पनि। यही खेलमा मानिसको जीवन बित्छ। ऊर्जाको सही उपयोग र व्यवस्थापनबाट चेतना बढ्दै जान्छ। ऊर्जामा चेतना बढाउने सामर्थ्य छ र चेतना बढ्दै जाँदा ऊर्जा झन्–झन् निर्मल हुँदै जान्छ। यही नै शिवशक्ति, उमामहेश्वर, गौरी शंकर र राधाकृष्ण रहस्य हो। बुद्धको प्रज्ञा रहस्य पनि यही हो।

माघ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्