सानेपा हत्या प्रकरण : हत्या आरोपी मृतक चौधरीका परिवारद्धारा निष्पक्ष छानबिन माग

पूर्वसचिव अर्जुन कार्कीको घरमा राखिएको सिसिटिभी। तस्बिर: बर्षा शाह

काठमाडौँ – पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या आरोप लागेका मृतक विजय चौधरीका आफन्तले निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन्। सोमबार भएको घटनामा विजयले मुनाको हत्या गरि आत्महत्या गरेको दावी प्रहरीको छ।

विजयका परिवारले बुधबार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्। यसअघि मृतक कार्कीका आफन्तले पनि जाहेरी दिइसकेका छन्। प्रहरीका अनुसार चौधरीका आफन्तले दिएको जाहेरीमा कसैविरुद्ध किटानी गरिएको छैन।

प्रहरीका अनुसार सोमबार बिहान १० देखी ११ बजेको बीचमा चौधरीले मुनाको हत्या गरेको जनाएको छ। सिसिटिभी फुटेजमा मुन किचनमा काम गरिरहेको समयमा चौधरीले पछाडिबाट डोरीले घाँटीमा कसेर लडाएको र पछि हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ। घटना भएका समयमा पूर्व सचिव कार्की पशुपतीमा पुजाका लागि गएका थिए।

मृतक कार्कीका दुई छोरी र एक छोरा छन्। ललितपुर प्रहरी प्रवक्ता एसपी सिंहले  पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म कारण यकिन गर्न नसकिने बताइन्।

माघ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्