वुहानका नेपालीलाई फागुन ३ मा फर्काउने तयारी, त्यहाँका नेपाली भन्छन्, ‘नेपाल पुग्दा ढुक्क हुन्थ्यो’

वुहानमा रहेका नेपाली विद्यार्थी युवराज थापा देश सञ्‍चारसँग कुरा गर्दै। तस्बिर-देश सञ्‍चार

काठमाडौं- कोरोना भाइरसको उच्च संक्रमणदर रहेको चीनको हुवेई प्रान्तमा रहेका नेपालीहरुलाई सरकारले नेपाल फिर्ता ल्याउन आवश्यक तयारी गरिरहेको छ। सरकारले हुवेई प्रान्तमा रहेका नेपालीहरुलाई फिर्ता ल्याउन नेपाल एयरलाइन्सको एयरबस फागुन ३ गते त्यसतर्फ पठाउने तयारी गरेको छ। यसका लागि चालक दलका १६ सदस्यहरुलाई स्वास्थ्य मन्त्रालयको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझाको नेतृत्वको टोलीद्वारा कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनु पर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिइएको छ।

बेइजिङमा रहेको नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपालीका लागि ६ बुँदे सर्तनामा पनि गराएको छ। सर्तनामामा नेपाल फर्किएपछि क्वारेन्टाइनका क्रममा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ।

हुवेई प्रान्तमा रहेका १ सय ८० नेपाली विद्यार्थीलाई ल्याउने तयारी भइरहेको वुहानमा रहेका नेपाली विद्यार्थी युवराज थापाले देशसञ्‍चारसँग बताए।

उनले भने, ‘हामीलाई एयरपोर्टसम्म लैजान बस आउने सूचना दिइएको छ। तयार भएर बस्न भनिएको छ। तर समय कति बजे फिक्स छैन।’

उनका अनुसार हुवेई प्रान्तको वुहानलगायत स्थानमा रहेका नेपाली विद्यार्थीहरुले राम्रोसँग बजारमा तरकारी लगायतका खानेकुरा नपाइरहेकाले बस्‍न कठिनाइ भएको छ।

उनले भने, ‘म अध्ययन गर्ने चाइना यूनिभर्सिटी अफ जियो साइन्स नजिकै सानो मार्केट छ। त्यहाँ सीमित तरकारी पाउँछ। त्यो पनि थोरै। कहिले आलु मात्रै। हामीले राम्रोसँग खाना पनि खान पाएका छैनौँ।’

सरकारले हुवेई प्रान्तबाट ल्याएका नेपालीहरुलाई काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय ल्याएपछि क्वारेन्टाइन गरेर संक्रमण नभएकाहरुलाई आइसोलेसनमा पठाउने तयारी गरेको छ।

‘चीनबाट नेपाल फर्किने आशासहित हामी पर्खिरहेका छौँ,’ थापाले देश सञ्‍चारसँग भने, ‘नेपाल पुगेपछि सायद बल्ल ढुक्कसँग बस्न पाइन्छ होला।’

चीनमा रहेका विभिन्न देशका नागरिकहरु आआफ्नो देश फर्किसके पनि नेपाली फर्कन नपाउँदा थप तनाव भएको उनले बताए।

सरकारले चीनबाट ल्याउने १ सय ८० विद्यार्थीहरुलाई राख्‍न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए। मन्त्री ढकालका अनुसार १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको हो। भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार छन्।

मन्त्री ढकालले चीनमा विद्यार्थीहरुलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरुलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने गरी तयारी गरिएको बताएका छन्।

माघ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्