उद्योगीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण

विराटनगर – निर्यातजन्य बस्तुको उत्पादन गर्ने उद्योगीको क्षमता अभिवृद्धिका लागि नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले उद्योगीहरुलाई दुई दिवसीय प्रशिक्षण दिएको छ ।

विराटनगरमा बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले निर्यात आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्न तत्पर रहेको बताए। मन्त्री कुसियैतले निजी क्षेत्रकै सरसल्लाह अनुसार नै प्रदेश सरकारले उद्योग व्यवसाय सम्बन्धि नीति तथा कानुन तयार गर्ने बताए।

उनले भने, ‘आयात घटाउन र निर्यात बढाउन प्रदेश सरकारले ल्याउनु पर्ने आवश्यक नीतिका विषयमा निजी क्षेत्रको सुझाव आवश्यक छ। यससँगै वैदेशिक व्यापार सहजीकरणका लागि प्रदेश सरकारले बनाउन लागेको नीति तथा कानूनका सन्र्दभमा छलफल हुनेछ।’

प्रशिक्षण कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश एकका कार्यबाहक अध्यक्ष लिलम बस्नेतले स्वदेशमै उत्पादित बस्तुले आयात प्रतिस्थापन गर्नु आवश्यक रहेको प्रष्ट पारे। उनले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशमा उद्योगी, व्यवसायीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

त्यसैगरि, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश आचार्यले संसारमा निर्यात गर्न सक्ने राष्ट्रले मात्र आर्थिक विकास गर्नसक्ने बताए। आर्थिक विकास तथा आर्थिक समृद्धिका लागि निर्यात आवश्यक रहेको सहसचिव आचार्यको बुझाई छ।

अर्थविज्ञ रवि भट्टराईद्धारा दिइने प्रशिक्षणमा उद्योग वाणिज्य संघका अध्यक्ष एंव प्रतिनिधिहरु गरी ४० जनाको सहभागिता रहेको छ।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्