किन यति अलोकप्रिय भए सर्वेन्द्र खनाल?

काठमाडौँ – मंगलबार अपरान्ह प्रहरी प्रधान कार्यालयमा सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक-आइजिपीबाट  ‘अफिसियल विदाइ’ हुँदै थिए, उनीसँगै विदाइ भइरहेका डीआइजी पिताम्बर अधिकारी त्यहाँ उपस्थित थिएनन्।

बरु उनी सामाजिक सञ्जालमा खनाललाई संकेत गर्दै प्रहरीको पछिल्लो नेतृत्वप्रति व्यंग्य गर्न व्यस्त देखिन्थे। उनले लेखे, ‘अब नेपाल प्रहरी ब्यवसायिक बनोस्, दलालहरुको ब्यूहमा नफसोस्। दलाल साम्राज्य मुर्दावाद।’

खनालको विदाइमा उनीसँगै विदा हुन लागेका धेरै प्रहरी अधिकृत उपस्थित थिएनन्।  तीनै जना अतिरिक्त महानिरिक्षक-एआइजीहरु ठूले राई, पुष्कर कार्की र धिरु बस्नेत आएनन्। आफू पनि विदा हुन लागेकाले उनीहरु तीनै जनाको अनुपस्थितीलाई अस्वभाविक नमान्न सकिएला तर ‘चेन अफ कमाण्ड’ मा चल्ने संस्था भएकाले यसलाई   सामान्य लिन नसकिने बरु ‘बहिस्कार’का रुपमा बुझ्न सकिने सुरक्षा अधिकारीहरु बताउँछन्।

खनालको बिदाइ भइरहेकै समयमा पूर्व प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी पनि सामाजिक सञ्जालमा व्यस्त देखिन्थे। ठाकुर ज्ञवालीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई समेट्दै उनले लेखे, ‘अब संगठनले सकारात्मक गति लिने कुरामा शतप्रतिशत विश्वास छ। पक्कै पनि गुटउपगुट बनाउने प्रवृत्तिकाे अन्त्य हुनेछ। इमानदार प्रहरीकाे सधै शिर ठाडाे हुनेछ। कार्यकालकाे शुभकामनासहित नवनियुक्त आइजिपी ठाकुर ज्ञवाली सरलाई बधाई।’

लामो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबी र अपराध महाशाखामा बिताएका र काबिल अनुसन्धान अधिकृतको पहिचान बनाएका अधिकारीले अप्रत्यासितरुपमा जागिर छाडेका थिए, खनालकै पालामा। खनालका पालामा जागिर छाड्ने अर्का अधिकृत हुन प्रहरी उपरीक्षक- एसपी नरेन्द्र उप्रेती पनि। एसएसपी बढुवामा आफूलाई छुटाएको र कनिष्ठलाई बढुवा गरेको आक्रोशमा उनले जागिर नै छाडिदिए।

‘हार्दिक बधाई सरको कार्यकाल सफल रहोस्। सरको नेतृत्वमा सुरक्षा सवल बनोस्, न्याय नमरोस्, सेवाग्राही खुशी रहून्, संगठनमा इमान नमरोस् (बाँचोस् र हँसोस्)! मेरो तर्फबाट धेरै धेरै शुभकामना !!’ खनालको विदाइ र ज्ञवालीको नियुक्तिसँगै उप्रेतीले पनि सामाजिक सञ्जालमा लेखे।

त्यसो त खनालको आइजिपी नियुक्ति नै विवादमुक्त रहन सकेको थिएन। खनाललाई सरकारले प्रहरी नेतृत्व सुम्पने निर्णय गरेलगत्तै तत्कालीन डीआइजी तथा आइजिपीका प्रत्यासी रमेश खरेलले राजीनामा दिएका थिए।

प्रहरी निरीक्षकबाट एसएसपीसम्म बढुवा हुँदा हरेकपटक पहिलो नम्बरमा रहेका खरेल डिआइजी हुँदा भने दोस्रो नम्बरमा झरेका थिए। खरेललाई उछिनेका खनाल त्यसको एक वर्ष पनि बित्न नपाउँदै  प्रहरी नेतृत्व हात पार्न सफल भएका थिए।

त्यतिबेला अर्का डीआइजी पुष्कर कार्की पनि आइजिपी प्रत्यासीका रुपमा बढी चर्चित थिए। आइजिपीका लागि खरेलभन्दा बढी खनाल र कार्कीबीच लडाइँ देखिएको थियो। खनालले अवकाश नपाउँदासम्म खनाल गुट र कार्की गुटका रुपमा संगठनमा विभाजन देखिएको र त्यसको असर जुनियर अधिकृत र तल्लो तहका सिनियर अधिकृतमा परेको प्रहरी अधिकारीहरु बताउँछन्।

‘खनाल आइजिपी भएपछि उनको गुट हावी मात्र भएन, कार्कीको पछि लागेकालाई विद्रोही जसरी व्यवहार भयो’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्। कार्कीसँग नजिकको सम्बन्ध रहेकै कारण डीएसपी कुमुद ढुंगेललाई ‘डाकासँग फोन सम्पर्क’ रहेको भन्दै फसाउन खोजिएको चर्चा पनि प्रहरी वृतमा चल्ने गरेको छ। कुमुद हाल निलम्बित छन्। उनलाई यसबीचमा पक्राउ गर्ने पटकपटक प्रयास भएपनि सफल देखिएन।

‘बाहिर हिँड्दा पनि खुल्ला रुपले सास फेरेकाे अनुभुति भैरहेकाे छ, बिनागल्ती पनि फसिन्छ कि भन्ने त्रास हटेकाे छ भनी एक इमानदार प्रहरी अधिकृतले फाेनवार्तामा सुनाउँदै थिए हिजाे साँझ। यसैबाट बुझाैँ सर्वेन्द्र कस्ता थिए’, खनालको अवकाशपछि पूर्व प्रहरी निरीक्षक अधिकारी सामाजिक सञ्जालमा लगातार आक्रामक देखिन्छन्।

संगठनभित्र खनालप्रति आक्रोश देखिनुका कारण यत्तिमा सीमित छैन। करिब दुई वर्षको आफ्नो आइजिपी कार्यकालमा भएका केही घटनाका कारण खनाल सँधैभरि विवादको घेरामा रहे।

निर्मला काण्ड, प्रहरी निलम्बन र बर्खास्ती 

कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण दुई वर्ष हुन लागेपनि हत्या आरोपी पक्राउ पर्न सकेका छैनन्।

बरु कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित दुई प्रहरी अधिकृत बर्खास्त भए। अनुसन्धानमा सीआइबीबाट खटिएका डीएसपी अंगुर जिसीसहित थुप्रै प्रहरी अधिकारी निलम्बनमा छन्।

सीआइबी नेतृत्वको अनुसन्धान टोलीले दिलिपसिंह विष्टलाई हत्या आरोपीका रुपमा सार्वजनिक गरेपनि स्थानीयले विरोध गरेपछि प्रहरी ‘ब्याक’ भएको थियो। डीएनए नमिलेपछि आरोपी विष्ट हिरासत मुक्त भए।

त्यतिबेलाका अनुसन्धान अधिकारीहरु अहिले पनि दिलिपसिंह विष्ट नै हत्यारा भएको दावी गर्दै संगठनले अन्याय गरिरहेको बताइरहेका छन्। तत्कालिन आइजिपी खनालले अवकाश पाउनुभन्दा केही दिनअघि आफ्ना अनुसन्धान अधिकृतको त्यो अनुसन्धान सही भएको घुमाउरो पारामा स्वीकार त गरे तर उनीहरुमाथि संगठनले लगाएको घाउ उस्तै छाडेर विदा भए।

साढे ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरण 

साढे ३३ केजी सुन बेपत्ता र भरिया भनिएका सनम शाक्य हत्या प्रकरणमा अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, प्रहरी नायब उपरीक्षक-डीएसपी प्रजित केसी र नायब निरीक्षक-सई बालकृष्ण सन्जेल पनि तानिए।

सुन तस्करी, कर्तव्य ज्यान, संगठित अपराधको आरोप लागेका लोहनी, केसी र सन्जेल महिनौँ जेल बसेर पछि साधारण तारेखमा छुटेका थिए। लोहनीले माथिल्लो निकायको आदेश लिएर सुनसरीमा अप्रेसनका लागि गएको बताएपनि तत्कालिन संगठन नेतृत्वले उनीहरुलाई साथ दिएन।

सरकारद्वारा गठित छानबिन समितिले लोहनीले दाबी गरेको ‘गुडफेथ डिलिङ’लाई बार्गेनिङ देखाएर तीनै जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। यस प्रकरणमा नेतृत्वको जवाफदेहीहीनता लगायत कारण अनुसन्धानमा काबिल मानिएका जुनियर प्रहरी अधिकृत र तल्लो तहका सिनियर अधिकृतहरु निराश देखिएका थिए। एसएसपी लोहनी व्यावसायिक प्रहरी अधिकृत मानिन्छन्। उनकै ब्याचका अन्य अधिकारीहरु दिवेशलाई ‘आफ्नो ब्याचकै सबैभन्दा बढी व्यावसायिक’ मान्छन्। साधारण तारेखमा छुटेपछि लोहनीको निलम्बन फुकुवा त भयो तर अहिले उनी आफ्नै सहकर्मीमाझसमेत गुमनामजस्तै छन्।

  चिनियाँको अनलाइन ठगी र हतारको अप्रेसन 

चिनियाँहरु नेपाल बसेर चीनमा अनलाइन ठगी गरिरहेको सूचना पाएपछि महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीलगायतको टोलीले राजधानीका विभिन्न ठाउँमा एकसाथ अप्रेसन गर्‍यो।

एक सय २२ जना चिनियाँ नागरिक पक्राउ परे। आइजिपी खनाल यस्तो गतिविधिको सूचना आफूले पाएको र आफ्नै निर्देशनमा उक्त अप्रेसन भएको भन्दै घुमाउरो पारामा मिडियामा आए।

तर एआइजी कार्कीले आफूले टोली बनाएरै छुट्टै तयारी गरिरहेको बताउँदै हतारमा  अप्रेसन हुँदा लापरबाही भएको दाबी गरे। कार्कीका अनुसार उनको टोलीले अप्रेसनको तयारी गरिरहेका बेला उनलाई थाहै नदिई चिनियाँ बसेका ठाउँमा छापा मारिएको थियो।

यसपछि नेपाल बसेर चीनमा अनलाइन ठगी गरिरहेका चिनियाँ गिरोहका नाइकेसँग आइजिपी खनाल सँगै देखिएका तस्विरहरु सार्वजनिक भएपछि उनी थप विवादित बनेका थिए। नेपालमा तीन हजारको संख्यामा चिनियाहरु अनलाइन ठगी धन्धा गरेर बसेको प्रहरीको गोप्य तथ्यांक थियो। तर एक सय २२ जना मात्र पक्राउ परेपछि नेपालस्थित चिनियाँ दूतावाससमेत रुष्ट बनेको थियो नेपाल प्रहरीप्रति।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू