कोरोनाको डरले कतै रोक्न नपाएको पानीजहाजलाई बल्लतल्ल रोक्न अनुमति

एसियाका विभिन्न बन्दरगाहमा रोक्न नदिइएको एक पानी जहाजले अन्ततः कम्बोडियाको बन्दरगाहमा रोकिने अनुमति पाएको छ।

यात्रुमा नोवेल कोरोना भाइरसको संक्रमण हुन सक्ने र ती यात्रुका कारण आफ्नो देशमा संक्रमण फैलिन सक्ने भन्दै पछिल्ला केही दिनमा उक्त पानी जहाजलाई एसियाका पाँच बन्दरगाहमा रोक्ने अनुमति दिइएको थिएन।

द एमएस वेस्टरडाम नाम गरेको सो पानी जहाज अन्ततः कम्बोडियाको शिएनोकभिल बन्दरगाहमा रोकिएको हो। अर्को एक क्रुज पानी जहाजका यात्रुलाई जापानमा क्वारेन्टाइन गर्दा २०० जना भन्दा बढीमा कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो।

त्यसपछि चालकदलका सदस्या तथा यात्रु गरी दुई हजार जना सवार वेस्टरडामलाई बन्दरगाहमा रोक्ने अनुमति नदिइँदा सो पानी जहाज समुद्रमै फसेको थियो। गएको मंगलबार जहाज बैंकको बन्दरगाहमा रोकिन प्रयास गरेको थियो, तर त्यहाँका अधिकारीले अनुमति दिएका थिएनन्।

थाइल्याण्डको पानी जहाज रोकिने अनुमति नपाएर गल्फ अफ थाइल्याण्डमा अलपत्र परेको थियो। वेस्टरडाम पानी जहाज बिहीबार बिहान कम्बोडियाको शिएनोकभिल बन्दरगाहमा पुगेको हो।

सो क्रुज पानी जहाजकी अमेरिकी यात्रु एङ्गेला जोन्सले समाचार संस्था रोयटर्ससँग भनेकी छन्, ‘आज बिहान, जमिन मात्रै देख्न पाउँदा पनि ठूलो राहतको महसुस भयो, अलौकिक अनुभव लाग्यो। केही छिन त आँखामा विश्वास नै लागेन।’

अमेरिकाको होल्याण्ड अमेरिका लाइनबाट सञ्चालित सो पानीजहाज १३ दिनअघि (फेब्रुअरी १) हङकङबाट छुटेको थियो। सो पानी जहाजमा १४ सय ५५ जना यात्रु तथा चालक दलका ८०२ सदस्य थिए।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू