हार्वर्ड र येल विश्वविद्यालयलाई अमेरिकाले सोध्यो स्पष्टीकरण- पैसाको हिसाब किन देखाएनौ?

विदेशबाट अपारदर्शी रुपमा आर्थिक सहयोग लिएको अभियोगमा प्रतिष्ठित हार्वर्ड तथा येल विश्वविद्यालयमाथि अमेरिकाले छानविन सुरु गरेको छ ।

साउदी अरेबिया तथा चीनसहितका देशबाट स्पष्ट नखुलाई आर्थिक सहायता लिएको आशंकामा दुई विश्वविद्यालयमाथि अनुसन्धान थालिएको अमेरिकाको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठित विश्वविद्यालयले उपहार तथा विभिन्न सम्झौता मार्फत विदेशबाट प्राप्त भएको अर्बौँ डरल रकमबारे पूर्ण रुपमा जानकारी नगराएको अमेरिकी शिक्षा मन्त्रालयले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हार्वर्ड र येल विश्वविद्यालयले सरकारलाई आफ्नो स्पष्टिकरण या जवाफ दिने तयारी गरिरहेको बताएको बिबिसीले उल्लेख गरेको छ। अमेरिकी कानून अनुसार विश्वविद्यालयहरुले दुई लाख ५० हजार अमेरिकी डलर भन्दा माथिको कुनै पनि उपहार वा सम्झौता सम्बन्धी पूर्ण जानकारी सरकारलाई गराउनु पर्छ ।

गएको जुलाई यता भएको अनुसन्धानमा दुई विश्वविद्यालयले कतार, चीन, साउदी अरेबिया तथा संयुक्त अरब इमिरेट्ससहितका देशबाट लिएको ६.६ बिलियन अमेरिकी डलर बराबरको उपहार रकमको जानकारी सरकारलाई नगराएको खुलेको शिक्षा मन्त्रालयको भनाई छ ।

सरकारी अधिकारीले यसअघि विदेशीबाट अमेरिकी विश्वविद्यालयमा हुने खर्चलाई ‘ब्ल्याक होल’ का रुपमा परिभाषित गर्दै त्यस्तो सहयोग निहीत स्वार्थ हुन सक्ने चेतावनी दिएका थिए ।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्