इरफान खानको चलचित्र ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक

एजेन्सी– अभिनेता इरफान खानको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘अंग्रेजी मिडियम’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ।

बाबुछोरीको भावनात्मक सम्बन्धको कथा समेटिएको चलचित्रको निर्देशन होमी अदजानियाले गरेका हुन्। राधिका मदान इरफानकी छोरीको भूमिकामा देखिएकी छन्।

उच्च शिक्षाको लागि लण्डन जान चाहने छोरीको सपना पूरा गर्न बाबुले गरेको संघर्ष समेटिएको चलचित्र ‘अंग्रेजी मिडियम’ आगामी मार्च २० मा रिलिज हुनेछ।

दीपक डोबरियालले इरफानको साथीको भूमिका निभाएको चलचित्रमा करीना कपूर लण्डनकी एक पुलिस अफिसरको भूमिकामा देखिएकी छन्।

‘अंग्रेजी मिडियम’ सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र ‘हिन्दी मिडियम’को सिक्वेल हो। इरफान यस चलचित्रमार्फत करिब डेढ वर्षपछि पर्दामा देखिन लागेका हुन्।

चलचित्रमा इरफान, करीना, दीपक र राधिकाका साथै रणवीर शौरी, पंकज त्रिपाठी, डिम्पल कपाडिया, किकू शारदा लगायतका कलाकारको अभिनय रहेको छ।

झण्डै एक वर्षदेखि इन्डोक्राइन ट्यूमरबाट पीडित इरफान उपचारका लागि लण्डनमा छन्। उनले बुधबार एक भिडियो सन्देशमार्फत ‘अंग्रेजी मिडियम’ चलचित्र आफ्ना लागि खास भएको बताएका थिए।

उनले भिडियोमा आफू चलचित्रको प्रमोशनमा सहभागी हुन मन हुँदाहुँदै पनि स्वास्थ्यका कारण सहभागी हुन नसकेको जानकारी समेत दिएका छन्।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्