दाङमा स्वास्थ्य शिविर, आठ सयभन्दा बढीकाे स्वास्थ्य परीक्षण

दाङ– लमही नगरपालिका वडा नं. २ वनकट्टा निवासी चतुरी चौधरीलाई खोकीले निदाउन दिँदैन। उनकाे छाती दुख्छ। दम बढेर हिँड्नसमेत गाह्रो हुन्छ। बिहीबार उनी निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगिन्।

‘उपचारका लागि घोराहीसम्म पुगेँ। दम बढछ’, उनले भनिन्, ‘यहाँ जचाएर औषधी दिनुभएको छ। अब सञ्चो हुन्छ की?’

ओमप्रसाद सुवेदीले हप्तामा एक पटक ब्लड प्रेसर जाँच गराउँछन्। उनलाई आफ्नो मुटुको बारेमा थाहा पाउन मन थियो। नजिकमा भरपर्दाे अस्पताल छैन। बुटवल या नेपालगञ्ज गएर जचाउँन पाएका छैनन्।

सुवेदीले निःशुल्क स्वास्थ्य शिविरमा मुटुको ईसीजी गरे। ‘प्रेसर देखायो । ईसीजी गर्दा नर्मल देखायो। ढुक्क भएँ’, उनले भने, ‘अस्पतालमा ईसीजि सेवा पाउन मुस्किल छ। यहाँ शिविरमै अस्पतालको भन्दा बढी सेवा पाइयो।’

प्रदेश ५ स्थापना दिवसको अवसर पारेर देउखुरी बहुमुखी क्याम्पसमा राखिएको निःशुल्क स्वास्थ्य शिविरबाट अस्पताल सरहको सेवा सुविधा पाउँदा स्थानीयहरु खुसी भएका छन्। शिविरमा मुटु, मृगौला, दम लगायत अन्य रोगकाे परीक्षण गर्ने व्यवस्था छ। जुन सेवा स्थानीय अस्पतालबाट पाउन सकिएको छैन।

शिविरमा प्रदान गरिएका सेवा लिन बिरामी बुटवल र नेपालगञ्ज जानुपर्ने बाध्यता छ। ‘यहाँका अस्पतालमा विशेषज्ञ डाक्टर छैनन्। उपचार गर्ने उपकरण छैन। शिविरमा विशेषज्ञ डाक्टरबाट सेवा पाउँदा हर्षित छौँ’, घनश्याम सुवेदीले भने, ‘नियमित रुपमा यस्तै प्रकारको शिविर आयोजना भइरहे धेरैलाई सहज हुने थियो।’

रोटरी क्लव अफ लमहीको आयोजना, देउखुरी बहुमुखी क्याम्पस, रोट र्‍याक क्लब अफ जिविसी बुटवलको सह–आयोजनामा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र लमही सामुदायीक डायलाइसिस सेन्टरको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो।

शिविरमा आठ सय ३० जनाको निःशुल्क उपचार गरिएको छ। जसमध्ये मुटुको ईसीजी चार सय ५०, मुटुको इको एक सय ४८, ल्याव सेवा दुई सय ४६ जनाले लिएका छन्। पिएफटी जाँच ३३ जनाको गरिएको रोटरी क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्यले जानकारी दिए।

फाल्गुन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू