भिडियाे स्टाेरी

विदेशबाट फर्केर नेपालमै फापरको म:म

विदेशबाट फर्केर नेपालमै फापरको म:म

पछिल्लाे समय मानिसहरुकाे खानपान र जीवनशैलीमा व्यापक परिवर्तन आएकाे छ। सहरमा ‘रेष्टुरेन्ट कल्चर’ बढ्दाे छ। मानिसहरुकाे रुचीलाई मध्यनजर गर्दै नयाँ–नयाँ रेष्टुरेन्ट खुलिरहेका छन्।

सहरमा केवल नयाँ रेष्टुरेन्ट मात्रै थपिएका छैनन्, मेनुमा नयाँ परिकार पनि थपिँदै गएका छन्। यही क्रममा पछिल्लाे समय थपिएकाे परिकारकाे नाम हाे ‘फापरकाे म:म’।

बर्गर एक्सप्रेसका सञ्चालक गाेपाल आचार्य।

कुपनडोलस्थित बर्गर एक्सप्रेले करिब एक वर्षदेखि फापरका परिकार ल्याएर प्रतिस्पर्धात्मक बजारमा आफ्नाे अलग्गै पहिचान बनाएकाे छ।

फापर भन्ने वित्तिकै सबैको मनमा रोटी, ढिँडो लगायतका परिकार आउँछन्। तर बर्गर एक्सप्रेले नयाँ प्रयाेग गर्दै सेवाग्राहीका लागि फापरकाे म:म बजारमा ल्याएकाे हाे, जुन यहाँको मुख्य आकर्षण हो। बर्गर एक्सप्रेसमा यस बाहेक पिज्जा, बर्गर, बिर्‍यानी, फ्राईड राईस, लस्सी लगायतका विभिन्न परिकार पाइन्छन्।

नेपालकाे अर्थतन्त्रमा वैदेशिक राेजगारीकाे ठूलाे याेगदान छ। वैदेशिक राेजगारीबाट फर्किएका केही कर्मशील हातहरुले नेपालमा आफ्नै व्यवसायकाे सुरु गरेका छन्। तिनै मध्यका एक हुन्, बर्गर एक्सप्रेसका सञ्चालक काठमाडाैँ नयाँ बानेश्वरका गाेपाल आचार्य। मेनुमा थपिएकाे फापरकाे म:मकाे साेच गाेपालकै हाे।

१८ वर्षको उमेरमा २०५६ सालमा पहिलो पटक उनी विदेश हानिए। अष्ट्रेलिया, कतार, साउदी अरब गरी १६ वर्षसम्म विदेशमा बसेर उनले होटलमै काम गरे।

उनी भन्छन्, ‘बाबाले त विदेश जाने अघिल्लो दिनसम्म पनि नजाउ भन्नुभएको थियो तर मलाई भने सबै गइराखेका छन्। एकचोटी जान्छु भन्ने भयो।’

कर्मथलाे विदेशमा भएपनि उनकाे मन भने नेपालमै थियाे। सोच्न थाले– ‘आफूसँग भएको अनुभव तथा सीपलाई मैले आफ्नो देशमा गएर अरुलाई पनि सिकाउनु पर्छ।’

‘एकपटक घुम्न र केही फरक अनुभव लिन त ठिकै होला तर सधैं विदेश बस्न चाहीँ उपयुक्त नहुने रैछ। जतिसुकै विदेशमा बसे पनि अन्तिममा आफ्नै देशको माया लाग्ने रहेछ’, उनी थप्छन्।

उनलाई लाग्थ्याे– आफूले सिकेको सीपबाट व्यवसाय सञ्चालन गरे अरुले पनि रोजगारी पाउने थिए। आफूले यही क्षेत्रमै काम गरेकाले यसै क्षेत्रलाई विस्तार गर्ने उनकाे साेच थियाे।

अन्तत: उनी करिब एक वर्ष अघि (२०७५ फागुनमा) नेपाल फर्किए। र सुरु गरे ‘बर्गर एक्सप्रेस’।

सुरुवाती दिनमा उनको रेष्टुरेन्टमा फापरको मःम थिएन। तर पछि–पछि अस्पतालबाट फर्किँदा खाजा खान चाहने विरामीले फापरको बारेमा सोध्न थालेपछि भने उनलाई केही नयाँ गर्न मन लाग्यो।

नेपालकाे उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने फापरकाे प्रवेश विस्तारै सहरका रेष्टुरेन्टमा पनि हुन थालेकाे छ। राजधानीका रेष्टुरेन्टमा फापरकाे ढिँडाे त धेरै ठाउँमा पाइन्थ्याे। तर आर्चायलाई अझै केही नयाँ गर्न मन थियाे।

उनकाे त्यही नयाँ साेचले जन्मिएकाे हाे ‘फापरकाे म:म’। बजारकाे अध्ययनपछि उनी म:म बनाउने निष्कर्षमा पुगेका हुन्।

यसलाई प्रयोगमा ल्याउन सके किसानकाे जीवनस्तर पनि बढ्ने अनि स्वास्थ्यका हिसाबले पनि राम्राे हुने हुँदा आफूले यसलाई विस्तार गरेको सञ्चालक आर्चाय बताउँछन्।

मःम बनाउने क्रममा पहिलो पटक उनले घरमै बनाए। परिवारका सदस्यबाट राम्रो प्रतिक्रिया पाएपछि भने उनले दोस्रो दिन रेष्टुरेन्टमा बनाएर केही ग्राहकलाई खुवाए। ग्राहकबाट पनि राम्रो प्रतिक्रिया पाए। त्यसपछि सुरु भयाे फापरकाे म:मकाे व्यावसायीक यात्रा।

गरिखानेलाई राजनीतिले केही फरक नपार्ने आचार्यको भनाइ छ। ‘मेरो रेष्टुरेन्टमा काम गर्ने कामदारलाई उर्जा दिनका लागि म उनीहरुसँगै काम गर्छु। खानेकुरा सर्भ गर्छु। भाँडा माझ्छु’, उनी थप्छन्, ‘कामलाई पूजा मान्नुपर्छ।’

प्राकृतिक हिसाबले पनि नेपाल राम्रो रहेकाे उनी बताउँछन्। उनी भन्छन्,‘हाम्रो देशमा सबै कुरा छ तर हामीले कुन ठाउँमा के प्रयोग गर्नुपर्छ भनेर राम्रोसँग बुझेका छैनौँ।’

स्वदेशी उत्पादनलाई प्रोत्साहन गनुपर्ने उनकाे भनाइ छ। भन्छन्,‘विदेश बसौँ तर त्यहाँ सिकेको सीप र अनुभवले आफ्नै देशमा व्यवसाय गरेर रोजगारीको सिर्जना गरौँ।’

वर्गर एक्सप्रेसमा  दिनहुँ आउने ग्राहक पनि यहाँको सुविधा तथा खानाले दंग छन्।

नियमित रेष्टुरेन्टमा आइराख्ने नवराज तिवारी यहाँ पाइने खाजा मीठो तथा हाइजेनिक भएको बताउँछन्।

अरुको स्वास्थ्यमा खेलबाड गर्न नहुने भन्दै उनी भन्छन्, ‘यस लाइनमा काम गर्ने मान्छेले अलिक बढी सजग हुनुपर्छ। हामी सरकारले केही गरेन भनेर दाेष दिन्छौँ। तर आफ्नो लागि हामी आफैँले गर्नुपर्छ।’

भिडियो हेर्नुहोस्:

तस्बिर तथा भिडियाे: मन्दिरा राउत/देश सञ्चार। 

 

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्