गिरिजाले फौजी आक्रमण बढाउन आग्रह गरेको प्रचण्डको भनाईप्रति कांग्रेसको असहमति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार एक कार्यक्रममा नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गरेका नेता कोइराला दिवङ्गत भएको यतिका वर्षपछि उनका सम्बन्धमा नेता दाहालबाट व्यक्त विचारप्रति असन्तोष व्यक्त गरेका छन् ।

प्रचण्डले १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्‍यो भन्ने गरेको दाबी गरेका थिए ।

२५ औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग आफ्नो दिनदिनै फोनमा कुरा हुने गरेको स्मरण गरे । यही विचित्रको परिस्थितिका कारण राजतन्त्र ढाल्न सफल भइएको उनले बताए ।

‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ’, प्रचण्डले भनेका थिए ।


यस्तो छ कांग्रेसको प्रेस वक्तव्य

नेकपाका अध्यक्ष पुस्पकमल दहालले आज एक कार्यक्रममा दिनुभएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ ।

१) माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।

२) फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि सांचै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुखद छ ।

३) ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो । हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ ।

४) जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराउँदछु ।

विश्वप्रकाश शर्मा 

प्रवक्ता

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्