सुर्खेतबाट ट्याब्लेट लिन रुपैडिहा

नेपालगञ्ज – सुर्खेतका तीन जना किशोरले नेपालगञ्ज हुँदै रुपैडिहा पुगेर लागु औषधी नाइट्रोभेट ट्याब्लेट खरिद गरे । दुई हजार एक सय रुपैयाँमा एक सय पाँच ट्याब्लेट नाइट्रोभेट खरिद गरेर उनीहरु नाकाबाट भित्रिए ।

१८ वर्षका अर्जुनबहादुर शाही, १९ वर्षका टेकराज भण्डारी र २१ वर्षका सुरजबहादुर नेपालीले पेटको तल्लो भागमा बेल्टले च्यापेर नाइट्रोभेट ल्याउदै थिए । जमुनाहा नाकामा रहेको सशस्त्र प्रहरीको विशेष टोली र लागु औषध ब्यूरोको टोलीले उनीहरुलाई चेकजाँच ग¥यो । प्रहरीले जाँच गर्दा नै उनीहरु आत्तिए । बेल्ट खोल्दा ट्याब्लेट निस्कियो ।

नेपालगञ्जमा रुपैडिहाबाट लागु औषधी बोकेर आएका किशोर/युवालाई नियन्त्रणमा लिनु नौलो कुरा होइन । एकैपटक दुई सय ग्रामसम्म ब्राउनसुगर यो नाकाबाट बरामद भइसकेको छ । थोरै–थोरै त दैनिकजसो नै बरामद हुन्छ । भारतीय बजारमा सजिलै लागु औषधी पाइने भएपछि नेपाली किशोर÷युवाहरु उता पुगेर लागु औषधी बोकेर आउने गर्दछन् ।

बिहीबार नियन्त्रणमा लिइएका तीन जना भने सुर्खेतबाट लागु औषधी लिन नेपालगञ्ज हुँदै सीमावर्ती भारतीय बजार रुपैडिया पुगेका थिए । सुर्खेतबाट रुपैडिहा पुगेर लागु औषधी खरिद गरेर सुर्खेतमा लगेर बेच्ने उनीहरुको योजना थियो । उनीहरुले रुपैडियामा प्रतिट्याब्लेट २० रुपैयाँमा खरिद गरेका थिए ।

पछिल्ला दिनमा नेपालगञ्ज नाकामा ट्याब्लेट बोकेर आउदै गरेका सुर्खेत, दैलेख, दाङका किशोर÷युवाहरु प्रहरी फन्दामा पर्ने गरेका छन् । युवाहरु उतैबाट आउने र लागु औषधी खरिद गरेर फर्किने हिसावले आएको पाइन्छ ।

पहाडी जिल्लाबाट प्रायः चरेश, अफिम बोकेर महिलाहरु नेपालगञ्ज झर्ने गर्दछन् । सीमावर्ती भारतीय बजारमा लागु औषधी लिन पुग्नेमा भने किशोर÷युवा छन् । जमुनाहा नाकामा चौविसै घण्टा चेकिङमा रहने लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गर्ने किशोर÷युवामा सुर्खेतका बढी हुने गरेका छन् ।

सवारी साधनमा तीन/साढे तीन घण्टाको दुरीमा रहेको सुर्खेतबाट नेपालगञ्ज आएर रुपैडिहा पुगेर साँझ घर फर्किन सकिने भएकाले कुलतमा लागेका युवाहरु बिहान आएर आफ्नो काम गरी बेलुका फर्किने गर्दछन् । तर, नाकामा रहेको प्रहरीलाई छक्याएर लागु औषधी बोकेर फर्किने सहज भने छैन । प्रहरीले शंकास्पद सबैलाई जाँच गर्ने गर्दछ ।

कतिपयको हकमा सुराक आउँछ । लागु औषधी बोकेर फर्किदा पक्राउ परेका किशोर÷युवाको तथ्यांक हेर्दा सुर्खेतका बढी रहेको लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्जका प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्