गुटको राजनीतिमा गोल्छा, उम्मेदवारी घोषणा फितलो

विराटनगर – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेद्वारी दिने घोषणा गरेका छन्। गृहनगर विराटनगरमा बिहीबार उम्मेद्वारी घोषणा गरेका प्रधानले उद्योग व्यवसाय क्षेत्रमा सेवा गर्ने मौकाको पखाईमा रहेको बताए ।

विगत २ दशकदेखि उद्योगी व्यवसायीको समस्या उठाउँदै आएका बताएका प्रधानले विगत १० वर्षमा नभएको काम ३ वर्षभित्रै गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले टिम स्प्रिट बढाउन पनि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई आफूले रोजेको स्पस्ट पारेका थिए। उद्योग संगठन मोरंग तथा मोरंग व्यापार संघद्वारा संयुक्त रुपमा आयोजित उम्मेद्वारी घोषणा कार्यक्रममा पूर्वअध्यक्ष पशुपति मुरारकाले समेत महासंघमा शुद्धीकरणको आवश्यक्ता रहेका औल्याएका थिए।

यद्धपी, गोल्छाको भनाइमा फरक मत राख्दै उपस्थित एक उद्योगीले भावी अध्यक्ष गोल्छा गुटको राजनीतिमा होमिएको र पदलाई तठस्थ भूमिकामा राख्नेमा अन्योल पैदा भएको बताँउछन्।

गुटगत राजनीतिले फाइदा भन्दा पनि महासंघलाई बेफाइदा हुने बताएका ती उद्योगीले यसै कारण महासंघ कमजोर हुनसक्ने प्रस्टाउछन्। अध्यक्ष पदका ब्यक्तित्वले गुटगत रुपमा वरिष्ठ उपाध्यक्षका लागि खुलारुपमा एकपक्षीय ढंगबाट लबिंगमा लाग्नुले समग्र औद्योगिक क्षेत्रमा फरक अर्थ रहन जाने उनको भनाइ छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा गोल्छासँगै पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, पशुपति मुराराका, काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। तर उपस्थित केही उद्योगी भने कार्यक्रम चलिरहँदा समेत अपेक्षाकृत रुपमा प्रदेश एकबाट मताधिकार प्राप्त अध्यक्षलाई भने अटाउन नसकेको बताँउछन्।

घोषणासभामा सात वटै प्रदेशका करिब १७ जना जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षसहित पदाधिकारीको उपस्थिति रहेको थियो। तर प्रदेश एकको २४ अध्यक्ष मध्ये ७ जनाको मात्र कार्यक्रममा उपस्थिति रहेको थियो। अपेक्षा अनुसार कार्यक्रममा अध्यक्षको उपस्थिति नहुँदा विभिन्न २९ वटा जिल्ला नगर उद्योग वाणिज्य संघद्वारा पठाइएका प्रतिवद्धताबाट काम चलाइएको थियो।

वरिष्ठ उपाध्यक्षका लागि एशोसिएटतर्फका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि नै गृहनगर बागलुंगबाट उम्मेद्वारी घोषणा गरिसकेकाछन्।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन्। आगामी चैत अन्तिम सातादेखि हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले महासंघको नेतृत्व सम्हाल्नेछन्। महांसघको निर्वाचन आगामी चैत २८ गते हुनेछ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्